इलाम : लिम्बू विद्यार्थी मंच इलामले २१ औं स्थापना दिवस शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ ।
मंचले आफ्नो स्थापना दिवसको अवसरमा बुधबार इलाम सदरमुकाममा शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा शुभकामना दिदैं वक्ताहरुले लिम्बू विद्यार्थी मंचले अहिलेसम्म संचालन गरेको विभिन्न अभियान र योगदानको चर्चा गर्दै परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले भाषा, लिपि र संस्कृतिको संरक्षणमा लिम्बू विद्यार्थी मंचले गरेको योगदानको प्रशंसा गरेका थिए ।
वक्ताहरुले लिम्बू विद्यार्थी मंचले विगतमा गरेको कामको समिक्षा गर्दै आगामी दिनमा अघि बढ्न सुझाव दिएका थिए । लिम्बू समुदायको पृथक पहिचानको अध्ययन र अनुसन्धानमा ध्यान दिन समेत सुझाव दिएका थिए । विद्यार्थी वर्ग सचेत समूह भएको भन्दै समुदायलाई एकीकृत गरी अगाडी बढ्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष यामप्रसाद लिम्बू, लिम्बू विद्यार्थी मंचका केन्द्रीय सदस्य गुल्सन आङ्बुहाङ, लिम्बू विद्यार्थी मंच इलामका सल्लाहकार मोहनसिंह थेवे, किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम, याक्थुङ फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङ्देम्बे, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का अध्यक्ष राम योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।
लिम्बू विद्यार्थी मंच इलामका अध्यक्ष अतीत योङहाङको अध्यक्षता र केन्द्रीय सदस्य रामकुमार लिङदमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न शाखा समिती रहित ५० बढी लिम्बू विद्यार्थी सहभागिता थियो । लिम्बू विद्यार्थी मंचका उपाध्यक्ष सन्तोष लिङ्दमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन अस्मी येक्तेनले गरेकी थिइन ।