पवित्रहाङमा गोल्डकपमा माङसेबुङ युथ सोसाईटी च्याम्पियन

राम योङहाङ

माङसेबुङ : साविक विजेता माङसेबुङ युथ सोसाइटी इलामको माङसेबुङ गाउँपालिकास्थित माङसेबुङमा आयोजित पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण फूटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्‍न भएको फाइनलमा प्रतिष्पर्धी टिम लेटाङ फुटबल क्लब मोरङलाई टाईब्रेकरमा २-० ले पराजित गर्दै माङसेबुङले उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै माङसेबुङले गतवर्षको संस्करणको जितलाई निरन्‍तरता दिन सफल भएको छ । गतवर्ष न्युस्टार क्लब किर्तीपुर मोरङलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै माङसेबुङले उपाधि जितेको थियो ।

फाइलनको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरका आधारमा विजेता निर्धारण गरिएको थियो । दुवै टिमले खेल अवधिभर आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलअवधिभर दुबै टीमले गोल गर्ने थुप्रै अवसरहरु पाएपनि गोलमा परिणत हुन नसकेपछि खेल टाइब्रेकरमा पुगको थियो ।

ट्राईब्रेकरमा लेटाङका कुनै पनि खेलाडिले गोल गर्न सकेन् । माङसेबुङका खेलाडि सुस्मिता लेप्चा र सिवानी शेर्माले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

जितसँगै माङसेबुङले नगद ६२ हजार एक सय ६२ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता लेटाङले भने नगद ३५ हजार एक सय ६२ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र मा चित्त बुझायो ।

प्रतियोगितको सर्वाधिक गोलकर्ता विजेता माङसेबुङकी सुम्मिता लेप्चा, उत्कृष्ट खेलाडि उपविजेता लेटाङकी मुना लावती, उत्कृष्ट डिफेन्डर विजेता माङसेबुङकी प्रिया तामाङ र उत्कृष्ट गोलकिपर माङसेबुङकै बिसिका राई घोषित भईन् । उनीहरुले जनही तीन हजार एक सय ६२ रुपैयाँ प्राप्त गरे ।

गत २४ माघदेखि सञ्‍चालित प्रतियोगितामा इलामझापा, मोरङ, सुनसरी र ताप्लेजुङका गरी ८ महिला टीमको सहभागिता थियो ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम माङसेबुङले गोल्डकप आयोजना गरेको थियो ।”खेलकुदमा नारी सहभागिता सिर्जनशिल निर्माणमा हाम्रो प्रतिबद्धता” नाराका साथ आयोजित गोल्डकपमा फूटबलका अतिरीक्त म्याराथुन दौड, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने र लठ्ठा तान्‍ने खेल समेत सञ्‍चालन भए ।

म्याराथुनमा ५५०० मिटर दूरी २५ मिनेटमा पूरा गर्दै रञ्जु नेम्बाङ (दमक झापा) प्रथम, २६ मिनेटमा पूरा गर्दै जमुना आले मगर द्वितीय, २७ मिनेटमा पूरा गर्दै अनुस्का थेवे तृतीय र २९ मिनेटमा पूरा गर्दैमुना आले मगर चौथो भईन् । उनीहरुले क्रमश: नगद पाँच हजार एक सय ६२, चार हजार एक सय ६२, तीन हजार एक सय ६२ र दुई हजार एक सय ६२ रुपैयाँ मेडल र प्रमाणपत्र पाएका छन् ।

छेलो (पक्लुङ) मा शिवानी शेर्मा (भारत) प्रथम भई नगद एक हजार पाँच सय ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र र सुसन शेर्पा (भारत) द्वितीय भई एक हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारिन् । म्युजिकल चियरमा मुना आले मगर (मोरङ) प्रथम भइन् । उनले नगद एक हजार पाँच सय ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाइन् हेमा सेलिङ (माङसेबुङ, इलाम) द्वितीय हुँदै एक हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाइन् ।

हाँडी फुटाउनेमा अन्जना राई (काठमाडौं) प्रथम भई नगद एक हजार ६२ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

लठ्ठा तान्‍नेमा माङसे्बुङ युथ सोसाइटीले विजयी भई नगद तीन हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पायो । उपविजेता आयोजक किरात साम्यो हक्चात यक्चुम माङसेबुङले नगद दुई हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पायो ।

माङसेबुङमा २०६७ देखि पवित्रहाङमा महिला गोल्डकप सञ्‍चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार