युवराज आधारभूत विद्यालयको ५९ औं वार्षिकोत्सव सम्पन्न, दुई लाख ५७ हजार पुग्यो अक्षयकोष

  युद्धबहादुर बोहोरा
868 Shares

 

पाँचथरः फिदिम नगरपालिका १४ नम्बर वडाको लुङ्रुप्पास्थित युवराज आधारभूत विद्यालय (१-८) ले ५९ औं वार्षिकोत्सव मनाएको छ । २०२१ सालमा स्थापना भएको नगरपालिकाकै सबैभन्दा टाढा रहेको विद्यालयले वार्षिक उत्सव मनाएसंगै यस अवसरमा अक्षयकोषमा दाताहरुले रकम थप गरेका छन् । यसैबीच, दाता र पूर्व शिक्षकलाई सम्मान पनि गरिएको विद्यालयका शिक्षक हिमाल भट्टराईले जानकारी दिए ।

लामो समय  विद्यालयमा अध्यापन गरी अवकाश भएका शिक्षक नन्दलाल रिमालले स्वर्गीय मातापिता हरिलाल र हरिमाया रिमाल तथा स्वर्गीय पत्नी सुष्मा गणपति फागो रिमालको स्मृतिमा एक लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । यस विद्यालयका प्रधानध्यापक इन्द्र प्रसाद ढकालबाट स्वर्गीय मातापिताको नाममा ४२ हजार १४  रुपैयाँ र पूर्वशिक्षक गीता ढकालबाट पाँच  हजार ५५५ रुपैयाँ, कुल प्रसाद राईबाट एक  लाख पाँच रूपैयाँ गरी जम्मा दुई लाख ५७ हजार ५७४ रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयको हरेक क्षेत्रमा उन्नती र प्रगतिको कामना गर्दै दाताहरुबाट स्थापित अक्षयकोषको ब्याजले विद्यालयको शैक्षिक उन्नतीमा लगानी गरिने प्रधानध्यापक ढकालले बताए ।

 

अक्षयकोष दाता र ६ जना पूर्वशिक्षकलाई सम्मान समेत गरिएको जनाइएको छ । शिक्षकहरु चिरन्जीवी वान्तवा राई,नन्दलाल रिमाल,किरण चापागाईं,गीता ढकाल,इन्द्र कुमार नेम्बाङ र सोम कुमारी नेम्बाङलाई सम्मान गरिएको हो । विद्यालयको मातहतमा १० रोपनी आठ आना क्षेत्रफल जमीन छ भने खानेपानी,शौचालय, भौतिक पूर्वाधार राम्रो भएको तर विद्यालय घेराबारा भने नभएको बताइएको छ । यस  विद्यालयका प्रधानाध्यापक ढकाल  फिदिम नगरपालिकाद्वारा नगरकै उत्कृष्ट शिक्षकको रूपमा सम्मानित भएका छन् । हाल विद्यालयमा १५३ जना विद्यार्थी र ११ जना शिक्षक रहेका छन् ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बहादुर सारू मगरको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रम शिक्षक पुन्य रिमालले कार्यक्रम संचालन गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार