विश्व सूचीमा छैनन् पूर्वका सम्पदा

खोजकर्ता भन्छन्, ‘नेपालकै पहिलो १ सय ५८ वर्ष पुरानो चिया बगान र मुलुककै पुरानो चिया उद्योग सम्पदा सूचीमा सूचीकरण गर्न योग्य छ’

इलाम : जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीन तहकै सरकारले पहल गरेको दाबी गरे पनि पर्यटन प्रवर्द्धनका लागि आवश्यक सांस्कृतिक र प्राकृतिक महत्त्वका सम्पदाहरू ओझेलमा छन् ।

जिल्लाभित्र रहेका कतिपय महत्त्वका सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकरण हुन सकेका छैनन् । इलाममा भएको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदाभित्रको मूर्त र अमूर्त सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकरणका लागि योग्य रहेको खोजकर्ता विदु कायस्थले बताए  ।

‘नेपालकै पहिलो १ सय ५८ वर्ष पुरानो चिया बगान र मुलुककै पुरानो चिया उद्योग सम्पदा सूचीमा सूचीकरण गर्नयोग्य छ,’ उनले भने, ‘सांस्कृतिक सम्पदाभित्र लोपोन्मुख लेप्चा र लिम्बू समुदायको संस्कृति पनि विश्व सम्पदामा सूचीकरण गर्न मापदण्ड पुग्छ ।’

अहिले नेपालको १० वटा सम्पदा मात्रै विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये सात वटा सम्पदा काठमाडौं उपत्यकाभित्र छन् । नेपालको पूर्वी क्षेत्रमा रहेको कुनै पनि सम्पदा विश्व सम्पदा सूचीमा सूचीकरण नभएको कायस्थले बताए ।

योसँगै विश्वमा नै दुर्लभ मानिएको माइजोगमाई गाउँपालिकास्थित मेघमा गुम्बालाई पनि विश्व सम्पदा सूचीमा राख्न सकिने सरोकारवालाहरूले सुझाएका छन् । ७ दशक पुरानो साङछेन ङग्युर होसाल देक्षेन छोलिङ गुम्बामा रहेको बुद्धको मूर्ति विश्वमै विरलै रहेको जानकारहरूको भनाइ छ ।

त्यहाँ रहेका १ सय ८ वटा मूर्तिमा मानव जीवनका भिन्नभिन्न क्रियाकलाप, यौन क्रीडा झल्कने दृश्यलगायतको कलात्मक प्रस्तुति गरिएको छ । यसैका कारण केटाकेटीले यो मूर्तिलाई सँगै हेर्न हुँदैन भनेर स्थानीयले बताउने गर्छन् । ‘यी मूर्तिहरू शान्ति र क्रान्तिका प्रतीक हुन् ।

मान्छेले गर्नु हुने/नहुने र यस्तो क्रियाकलाप गरे मृत्युपछि पाइने पापको विषयमा पनि यी मूर्तिहरूमा प्रस्ट संकेत गरिएको जनविश्वास छ,’ स्थानीय चन्द्र प्रधानले भने, ‘यो मूर्ति शान्ति र क्रान्तिको प्रतीक भएकाले सेवाठावा ‘सेठु’ पनि भनिन्छ ।’ यहाँको मूर्तिको दर्शन गरे स्वर्ग पुगिने विश्वासमा धेरै बौद्धमार्गीहरू पुग्ने गरेका छन् ।

विश्वमा दुर्लभ भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने स्थानीयको माग छ । अहिलेसम्म सरकार र सम्बन्धित निकायले केही सहयोग नगरेको स्थानीयको भनाइ छ । सम्पदा सूचीकरणको प्रक्रिया स्थानीय तहले सुरु गर्न सक्ने भएकाले उनले युनेस्कोले तोकेको मापदण्ड पूरा हुने गरी सम्पदा सूचीकरणमा लाग्नुपर्ने बताए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सूचीकरण हुन सक्ने सम्भावित सम्पदाहरूको सूचीकरणका लागि प्रक्रिया अघि बढाउने बताए । इलाम नगरपालिका पर्यटन प्रवर्द्धन सरोकार समितिका अध्यक्ष प्रकाश अधिकारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको सूचीकरण गर्न सकिए इलामको पर्यटनले फड्को मार्ने बताए ।

-विप्लव भट्टराई/कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार