शोभा सुनुवार जुलियटको ‘उरूर’ विमोचित

काठमाडौं : कवि शोभा सनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह उरूर मंगलबार सुनुवार सेवा समाजको कार्यालय कोटेश्वरमा विमोचन भएको छ ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा सो कृति विमोचन भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान निवर्तमान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका भाषाहरू लोप हुने क्रममा रहेकैले सुनवार भाषिक कवि शोभा सुनवारको यस कृतिलाई चुप्लु समाजले प्रकाशन गरिएको कुरा समिर मुखियाले बताएका थिए । चुप्लु समाजले ‘भाषाको लागि साहित्य’ अभियान चलाउँदै आएको छ ।

प्राज्ञ श्रवण मुकारुङले भाषा बलियो भएमा साहित्य बलियो हुने कुरा बताएका थिए । मातृभाषाको विकास भएमा मात्र समुन्नत मानवको विकास हुने र मानवको विकास भए देशविकास हुने कुरालाई मुकारुङले जोड दिएका थिए । मुकारुङले नेपाली भाषामा १० प्रतिशत भाषाभाषीबाट आएका शब्दहरू रहेका छन्, त्यसैले सम्बृद्ध नेपाली भाषा बनाउन मातृभाषाको संरक्षण अपरिहार्य रहेको पनि बताएका थिए ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले दुईभाषामा कलम चलाउन सक्नु महत्वपूर्ण कुरा भएको बताएका थिए । नेपालमा भाषाहरूलाई कामकाजको रूपमा लान नसकिएको समस्या डा. अवस्थीले बताएका थिए । परिवारमा मात्र बोलिने, परिवार पनि छुटफुट भइरहेकोले भाषा समस्यामा पर्दै जानु प्रमुख कुरा हो, उनको कथन थियो ।

कार्यक्रमको सभापतित्व सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारको सभापतित्व र उत्तम सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो ।

शोभा सुनुवारको परिचय

२०३६ साल असोज ३ गते हालको उमाकुण्ड ७ थिँकाःप, बुज रामेछापमा जन्मिएकी शोभा सुनुवार जुलियट हाल काठमाडौं महानगरपालिका ६ सिमलटार बौद्धमा बस्छिन् ।

सुनुवार सेवा समाज, काठमाडौंको कोषाध्यक्ष, सुसेस संघीय समितिको कोषाध्यक्ष, सुनुवार महिला समितिको सचिव, नेपाल आदिवासी जनजाति महासंघ ललितपुरको संघीय परिषद् सदस्य, कोइँच कुम्सो खिँ, नेपालको सांस्कृतिक सचिव, कोइँच किरात स्पोर्ट क्लब, ललितपुरको सल्लाहकार, गोकर्णेश्वर सनुवार महिला समाजको सल्लाहकार तथा सुनुवार समाज सहकारी संस्थाको शिक्षा समिति सदस्य रहेकी छिन् ।

उनले डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजारद्वारा आयोजित कविता प्रतियोगितामा द्वित्तिय, साहित्य संगालो डटकम, युकेले प्रदान गरेको श्रष्टा चौतारी पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

यसभन्दा अघि खुरिनदाँखिन (कविता सङ्ग्रह २०७२) प्रकाशन गरिसकेकी शोभाको यो दोश्रो कृति हो । साथै, विभिन्न साहित्यिक कार्यक्रममा उनले भाग लिँदै पनि आएकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार