काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ ।
उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको आवाजमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२ र ६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरुमा लेखिएका गीतहरु समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कलम चलाउनु पर्नेमा जोड दिए । खनालको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग १’ २०६५ सालमा सार्वजनिक भएको थियो ।
महासंघका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाउनु सकारात्मक रहेको बताए ।