मैले,
यो हावाको झोकसँगै बयेली खेल्दै जाँदा……
भञ्ज्याङ हुँदै देउरालीसम्म डुलें
पहाडको फेदी हुँदै टुप्पोसम्म डुलें
कुनाकन्दरा हुँदै खोलाको बगरसम्म डुलें ।
यसरी डुलें कि !
मेरो मन जस्तै
याक्सामा बसेका हजार मनहरुलाई डुलें ।
उहिल्यै यो बेइमान खोला उत्रिएर
बगर फेरेसँगै
ठीक्क देब्रेपट्टी बर्षौं भए छ
किनाराकृत भएर फूल्न खोजेको सिङ्जाङ्गसँगै
मुक भएर बसेको-यो अजङ्गको पहाड ।
म भने फगत डुलिरहेछु
यायावर जस्तो-सिङ्गै आफूलाई भुलेर ।
घुम्दाघुम्दै
फेरि एकपटक
त्यही पहाडको फेदीमा आइपुगेको छु ।
जहाँबाट धरमर भएको थियो मेरो ईतिहास
हो !
म त्यहि उभिएकोछु
र, सोच्दैछु
अब…..यहि सिङ्जाङ्गाले छर्केर
उठाऔं पहाडको माङ्गेना-फेरि कहिल्यै नढल्ने गरि ।
शब्दवली=(सिङ्जाङ फुङ-किराँती लिम्बूहरूले माङ्गेना गर्दा प्रयोग गर्ने फूल)