खुकुरीकाे प्रश्‍न ! (कविता)

एउटा सिङ्गै युग बोकेर

 

त्यो युगदेखि यो युगसम्म ल्याउने

एउटा काँध

आज, कालो भेडाको कालो उनले बुनेको

लुकुनीभित्र लुकेको छ

 

हो,

लुकेरै पनि उसले तिमीलाई एउटा प्रश्न गर्दैछ ?

तिमीले यो युगको लागि के बोक्यौ ?

 

बाक्लो पावरदार चस्माको पछि

संसारलाई सप्तरङगी देख्ने

एउटा ईन्द्रनी आँखा लुकेर तिमी तिरै प्रश्न तेर्साउँदैछ

 

तिमीले यो युगको लागि के सपना देख्यौ ?

 

हो,

त्यही पहाडहरु उचाल्ने,फोर्ने, सम्हाल्ने

नयाँ बनाउने

पाउ –पाखुराहरु

दिउँसै रगताम्य कालो झण्डा बोकेर बेखबर अध्याँरो हिडिरहेछन्

 

हो,

एता समयको अँध्यारो कुनामा

बिना दाप लडेर पनि एउटा पुरानो खुकुरीले

तिमी तिरै एउटा प्रश्न गर्दैछ

 

के उखाड्यौ तिमीले देशको लागि ?

 

के देख्यौ सपना यो युगका लागि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार