दमक : रङ्गमन्च संस्कृति निर्माणको अभियानमा कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा नाटक “गैंडा टाइम्स्” मन्चन गर्ने भएको छ ।
सोमबार पत्रकार मन्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कदमले “गैंडा टाइम्स्” को ब्यानरसहित जानकारी दिन पत्रकार सम्मेलन गरेको हो ।
कदम थिएटरका महासचिव मोहन ढुंगाना (मेचीपुत्र) ले आगामी माघ १० गते दिउँसो ४ बजे विशेष शो मन्चनसहित ११ देखि १४ गतेसम्म १२ र ४ बजे नियमित शो मन्चन हुने जानकारी दिए ।
आख्यानकार बुद्धि सागरको कथा “गैंडा टाइम्स्” लाई प्रवीण खतिवडा र सिजन दाहालले नाट्य रूपन्ताण गरेका हुन् भने परिकल्पना र निर्देशन सिजन दाहालले गरेका छन् । दाहालका अनुसार बर्दिया राष्टृय निकुन्जबाट आफ्नो बाबुको खाग चोरी भएपछि खाग तस्करहरुबाट फिर्ता गराउन काठमाडौं पुगेको एउटा गैंडाको संघर्षको कथामा नाटकमा प्रस्तुत हुनेछ ।
“गैंडा टाइम्स्” मा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौसम राना, पासाङ चोमु शेर्पा, बिकास राना, किरण भेट्वाल, दिवेश लामिछाने, दिपक खरेल, सुबास खरेल, प्रवीण मगर र याङसाङ मुकारुङले अभिनय गर्दैछन् ।
हाल नाटक रिहर्सर जारी रहेको र यसपटक नाटकमा प्रत्यक्ष संगीतलाई पनि जोडिएको कदमका सचिव कमन देवानले बताए । दमकस्थित नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखाको सभाहलमा नाटक मन्चन गरिने छ । उनले भने -“यो नाटक विद्यालयका बालबालिकादेखि म समाजका बौद्धिक वर्गका लागि समेत महत्वपूर्ण र सन्देशमूलक हुनेछ । यसले बोल्ने गैंडाको प्रस्तुतिबाट बालबालिकालाई मनोरन्जन दिने छ भने खाग तस्करी जस्तो गम्भीर अपराधको मुद्दा उठान गरेको छ ।”
देवानले थपे -“लाइट र म्युजिकमा उच्च प्रविधिको प्रयोग गरेर नाटक मन्चन गरिने तयारी छ । हामीले कतिपय आवश्यक प्राविधिक सामाग्री पूर्वका बजारहरुमा पाउन सकिरहेका छैनौं, तिनको जोहो गर्दैछौं ।”
कदमले गतवर्ष राष्टृय नाटक महोत्सव इलाममा सहभागी नाटक “मरिचेको चुपी” लाई दमकस्थित गोर्खा डिपार्टमेन्ट दमकको सभाहलमा ५ दिनसम्म लगातार ७ शो मन्चन गरेको थियो ।