
इलाम : फाकफोकथुमस्थित रूपाटारमा रहेको किराँत मिन्दर परिसरमा सांस्कृतिक जमघटबीच मौलिक ग्रामीण गीत ‘पालम’ प्रस्तुत गरिएको छ । आयोजकले इलाम र पाँचथरका नवोदित लिम्बू गायिकालाई पालम गाउन निम्त्याएको थियो ।
लिम्बू जातिको परम्परागत पहिरन सजिएका फाकफोकथुम लुम्देकी गंगा फियाक र पाँचथर पौवाकी दिपा सुहाङ मञ्चमा उक्लँदा दर्शक उत्साहित बनेका थिए । पछिल्लो पुस्ताले परम्परागत गीतसंगीत छोड्दै गएको अवस्थामा गंगा र दिपाको लगाव भिन्न थियो । एकल र दुबैले गरी दर्जन लिम्बू गीत प्रस्तुत गरेका थिए ।
लिम्बू गीत गाउनकै लागि आयोजकले उनीहरूलाई बोलाउने थियो । छोटो समयमा नै यस क्षेत्रमा हुने महोत्सव र विविध कार्यक्रममा उनीहरूको उपस्थिति बाक्लिदैगएको छ ।
१ वर्षअघिसम्म गायनमा नलागेकी गंगाले छोटो समयमा नै लिम्बू वाहुल्य क्षेत्रमा थुप्रै स्टेज पाउने गरेकी छन् । हराउँदै गएको लिम्बू भाषाका गीतको संरक्षण गर्नुपर्छ भन्ने लागेपछि उनी राजधानी छिरिन् ।
बाउबाजेबाट सुनेका लिम्बू गीत गुनगुनाउँदै गर्दा राजधानीमा सम्पन्न फक्तालुङ आइडल उनका लागि गतिलो प्लेटफार्म बन्यो । दर्जनौं लिम्बू भाषीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा तृष्णा नेम्वाङ पहिलो हुँदा गंगा फस्ट रनरअप हुन सफल भइन् ।
छोटो अवधिको यही सफलताले नै उनमा लिम्बू भाषाको गीत गाउन थप उत्साह मिल्यो । तृष्णाको पनि यो उपाधिपछि लिम्बू गीत गाउनकै लागि माग बढदो छ ।
ताहचल क्याम्पसमा व्याचलर अध्ययनरत गंगाले ठेट लिम्बू लवजमा यति मीठो पालम गाउँछिन् भन्दा धेरैलाई विश्वास नलाग्ला । च्याब्रुङको तालसँगै पुरानो पुस्ताले खुवै रुचाउने पालम रेकर्डसमेत गरेर उनले लिम्बू गायिकाको परिचय त बनाइ नै सकेकी छन् । लिम्बू आधुनिक गीतसहित उनले ८ वटा रेडकर्ड गराइसकेकी छन् ।
‘यस्ता गीतमा भाषा मात्र लिम्बू हुने र भएकाले गाउन उति कठिन छैन,’ उनले भनिन्, ‘तर पालम गाउन सजिलो छैन । गीत उच्चारणमा लिम्बू लवजसँगै डुब्नुपर्छ ।’ लिम्बू जातिको परम्पराग गीत पालम सोल्टी र सोल्टिनी या नाता नपर्ने तन्नेरीबीच गाइने गर्छ । अहिले चलन हराउँदै गए पनि यसमा चल्ने दोहोरीमा जितेपछि विवाह समेत हुने गरेको थियो । गंगाको भनाइमा यसलाई पालमभित्रको ख्याली भनिन्छ ।
उनले २ वटा नेपाली गीत पनि गाएकी छन् । ‘एउटै कार्यक्रममा लिम्बू गीत बुझ्ने र रुचाउने स्रोता मात्र हुँदैनन्,’ उनले भनिन्, ‘त्यही भएर लिम्बू गीतसँगै नेपाली गीत गाउनमा पनि उत्तिकै रुचि छ ।’
३ वर्षदेखि गायनमा लागेकी पाँचथरको हिलिहाङ गाउँपालिका सुभाङकी दिपाले पनि आधा दर्जन धेरै गीत रेकर्ड गराइसकेकी छिन् । ‘भुल्दै गएको पालम र लिम्बू गीत क्षेत्रमा नयाँ पुस्ताले देखाएको जाँगरलाई सम्मान गर्दै यहाँसम्म ल्याएका हौं,’ रुपाटारमा आयोजित कार्यक्रमका आयोजक समितिका अध्यक्ष पञ्च योङहाङले भने ।


















































