हिलिहाङलाई २०० सय तोलाको चाँदीको ट्रफिसहित एक लाख २५ हजार नगद

पाँचथर हिलिहाङ गाउँपालिकाले कुम्मायक गोल्डकपको उपाधि हात परेको छ । कुम्मायक गाँउपालिकामा आइतवार सम्पन्न पालिका स्तरीय छैटौ संस्करणको ‘कुम्मायक गोल्ड कप’को फाइनल खेलमा म्याङ्लुङ नगरपालिका(तेह्रथुम)लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै प्रथम उपाधी जितेको हो ।

प्रतिस्पर्धात्मक र रोचक फाइनल खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा हिलिहाङले पाएको सबै अवसरलाई सदुपयोग गर्दा तेह्रथुमको तर्फबाट भने एउटा प्रहार बाहिरिएको थियो । यो सँगै हिलिहाङले गाउँपालिकाले पहिलो पटक कुम्मायक गोल्डकपको उपाधी उचालेको छ ।

उपाधि उचालेको हिलिहाङले नगद एक लाख २५ हजार ५५५ रुपैयाँसहित दुई सय तोलाको चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपबिजेता बनेको म्याङलुङ नगरपालिका तेह्रथुमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताको बिजेत र उपबिजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती र क्षमादेवी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोपाल थापाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी हिलिहाङका मदन माझी, प्लेयर अफ द टुनामेण्ट निरोज तामाङ, बेष्ट मिडफिल्डर बिपल तामाङ घोषित भए । त्यस्तै, बेष्ट कोच गजेन राई, बेष्ट डिफेन्डर प्रकाश धमला, बेष्ट गोलरक्षक बाबा सुहाङ घोषित हुँदै नगदसहित ट्रफि हात पारे ।

त्यसैगरी, म्याङलुङ नगरपालिकाको तर्फबाट बेष्ट फरवार्ड सन्दिप गुरुङ, हाइस्कोर  बिशाल काफ्ले र हिलिहाङका निरोश लिङ्देन घोषितसंगै नगद र ट्रफि हात पारे । यासोकस्थित पृथ्वी माविको खेल मैदानमा जेठ २ गतेदेखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा पाँचथरका सात र तेह्रथुमको एक पालिका सहित आठ स्थानीय तहको सहभागीता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार