फाल्गुनन्दमा विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी चारदिने अभिमुखीकरण

  युद्धबहादुर बोहोरा
245 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी चारदिने अभिमुखीकरण सम्पन्न भएको छ । पालिकाका ६ वटा माध्यमिक विद्यालयका २० जना शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण गराइएको आयुर्वेद शाखाका प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले जानकारी दिए । संघीय सरकारको वार्षिक कार्यक्रम अन्तर्गत संचालन हुँदै आएको यस कार्यक्रमले विद्यालय स्तरमा आयुर्वेद चिकित्साको बारेमा सचेतना फैलाउने र योग अभ्यासको विकाश गर्ने उदेश्य राखेको छ ।

तालिममा आयुर्वेद चिकित्साको परिचय र महत्व, स्वस्थवृत्त (दिनचर्या, ऋतृचर्या, आहारविहार,जीवनशैली) सम्बन्धी सचेतना तथा स्थानीयस्तरमा प्राप्त हुने जडिबुटीको उपयोगिता,योग बारे जानकारी गराउन साथै योगका विभिन्न क्रियाकलापहरूको अभ्यास गराइएको शाखा प्रमुख पराजुलीले बताए ।

चार दिनसम्म संचालन गरिएको अभिमुखिकरणमा  लुम्बिनी प्रदेश कोहलपुर बाँके नगरपालिका पतञ्जली योग प्रभारी अध्यक्ष तथा आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक गौरी शंकर मण्डल,फाल्गुनन्द शाखा प्रमुख पराजुली,पिपलबोटे आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक रामकृपाल यादव र फाक्तेप आयुर्वेदिक औषधालयका कविराज राजकुमार श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए ।

प्रमुख अतिथि पालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङले तालिमको समापन गर्दै प्रशिक्षक र प्रशिक्षार्थी सम्पूर्ण शिक्षकहरुलाई बधाइ तथा शुभकामनासहित प्रमाणपत्र वितरण गरेका थिए । सिकेको ज्ञान तथा सीप विद्यार्थी र आम नागरिकसम्म पुर्याएर पालिकाका नागरिकले स्वस्थ जीवन शैलीमा बाँच्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्ने र आयुर्वेद तथा वैकल्पिक चिकित्सासँगै योग शिक्षालाई प्रवद्र्धन गरी नसर्ने रोगको प्रभावलाई कम गर्न स्थानीय तहलाई विद्यालयस्तरबाटै यो कार्यक्रम थालनी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार