न्यानो कपडा पाएपछि पैयौंबोटेका विद्यार्थीहरु प्रसन्न

  युद्धबहादुर बोहोरा
203 Shares

पाँचथरः  न्यानो कपडा (स्कुल स्वेटर तथा पोषाक) पाएपछि फाल्गुनन्द गाउँपालिका ४ पैयौंबोटे आधारभूत विद्यालय चिलिङदीनका विद्यार्थीहरु प्रसन्न भएका छन् । तीन परिवारले स्थापना गरेको अक्षयकोष मार्फत विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच जाडोको समयलाई मध्यनजर गर्दै विद्यार्थीलाई स्वेटर र पोषाक वितरण गरिएको हो ।

स्थानीय सन्छरानी चेम्जोङ (नेम्बाङ) को छोरा स्व.नयन नेम्वाङको स्मृतीमा परिवारले २० हजार रुपैंया,शुक्रध्वज नेम्बाङको छोरी रक्षा नेम्बाङको स्मृतीमा २० हजार रुपैंया र स्व.पञ्चनाथ नेम्वाङको स्मृतीमा ३० हजार १२५ रुपैंयासहित जम्मा ७० हजार १२५ रुपैंयाको विगत केही वर्षदेखि अक्षयकोष स्थापना भएको विद्यालयका शिक्षक गोविन्द भट्टराईले जानकारी दिए । उक्त रकमको ब्याजबाट र बाँकी अपुग रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष साथै विद्यालयको कोषबाट खर्च गरिएको उनले बताए ।

विद्यार्थीलाई नियमित विद्यालय आउन र हौसला प्रदान गर्ने उदेश्यसहित शैक्षिक उन्नतीमा सहयता पुर्याउने उदेश्यले गरीब,विपन्न तथा जेहेन्दार विद्याथीलाई कपडा वितरण गरिएको  विद्यालयका प्रधानध्यापक दिलबिक्रम चेम्जोङको भनाइ छ । २०४१ सालमा स्थापना भएको यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा पनि निरन्तर उन्नती गर्न आम सरोकारवालासंग उनले आग्रहसहित अपेक्षा गरेका छन् ।

आधारभूत तह बालविकासदेखि (१-८) सम्म ६० जना विद्यार्थी रहेको यस विद्यालयमा १० जना शिक्षकमा पाँच जना प्रावि दर्वन्दी मध्येमा हाल एक जनाले राजीनामा गरेको जनाइएको छ । गाउँपालिका र वडाको बजेटबाट पाँच जना निजी श्रोतमा शिक्षक राखिएको भएतापनि निमावि दर्वन्दी भने शुन्य रहेको प्रअ चेम्जोङले जानकारी दिए । खेल मैदानसहित सात रोपनी आधा जमीन रहेको यस विद्यालयमा आसीटीको व्यस्था,घेराबारा,खानेपानी,भौतिक संरचनाको व्यवस्थापन भने सन्तोषजनक रहेको अभिभावकहरु बताउँछन् । यस आर्थिक वर्षमा पालिकाले विद्यालय रंग रोगन गर्न तीन लाख रुपैंया उपलब्ध गराइको साथै वडाकार्यालय मार्फत शिक्षक सहायता अनुदान वापत ७० हजार रुपैंया छुट्याएको जनाइएको छ ।

पोसाक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार नेम्बाङ (राइफल) को अध्यक्षतामा ४ नम्बर वडाका अध्यक्ष दल बहादुर नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा अक्षयकोष दाताहरुलाई प्रमुख अतिथि,विव्यस अध्यक्ष,प्रअ,संस्थापक अध्यक्ष सिंहराज नेम्वाङ,शिक्षक अभिभावक संघ अध्यक्ष तेज बहादुर नेम्बाङले  धन्यवाद मन्तव्यसहित सम्मान गरेका थिए । यसैगरी समाजसेवी कविन्द्र लावती,बुद्वबीर नेम्वाङ ,जयमंगल नेम्वाङ,काजीमान नेम्वाङ, पुरन नेम्वाङ,भीम कुमार नेम्वाङ, दिलेन्द्र नेम्वाङलगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

उक्त अवसरमा नृत्य प्रदर्शन गरी कार्यक्रममा मनोरन्जन दिलाउने विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत समेत गरेको थियो । जनप्रतिनिधि,शिक्षक,अभिभावक,विव्यस तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रम शिक्षिका किराँती नेम्वाङले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षक  सन्तोष चेम्जोङले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार