विगतका तीन जनगणना : तीन फरक तथ्यांक र जनगणना-२०७८

  निनाम कुलुङ 'मंगले'
140 Shares

यो लेखमा विगतका तीन जनगणनामा उल्लेख भएका जातजाति खासगरी आदिवासी जनजातिहरुका बारेमा छोटरीमा केही लेखिने छ । त्यसैले सबैभन्दा पहिले विसं २०४८ को राष्ट्रिय जनगणनामा उल्लेख भएका आदिवासी जनजाति र ती जातिहरुको जनसंख्या तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार ७३१, भोटे १२ हजार ४६३, शेर्पा १ लाख १० हजार ३५८ । विसं २०४८ को जनगणनामा हिमाली आदिवासी जनजातिको तीन र जनसंख्याः १ लाख ३६ हजार ५५३ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः गुरुङ ४ लाख ४९ हजार १८९, चेपाङ ३६ हजार ६५६, जिरेल ४ हजार ८८९, तामाङ १० लाख १८ हजार २५२, थामी १९ हजार १०३, नेवार १० लाख ४१ हजार ९०, मगर १३ लाख ३९ हजार ३०८, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) ५ लाख २५ हजार ५५१, लिम्बु २ लाख ९७ हजार १८६, लाप्चा ४ हजार ८२६, सुनुवार ४० हजार ९३४, अन्य १ लाख ८४ हजार २१६ । पहाडी आदिवासी जनजातिको जातिगत संख्या ११ र अन्य … । जनसंख्याः ४७ लाख ७६ हजार ९९३ रहेको थियो ।

(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ७६ हजार ६३५, दनुवार ५० हजार ७५४, दरै १० हजार ७५९, बोटे ६ हजार ७१८, माझी ५५ हजार ५०, राउटे २ हजार ८७८, राजी ३ हजार २७४ । भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या ७ र जनसंख्याः २ लाख ६ हजार ६८ रहेको थियो ।

(घ) मधेसी आदिवासी जनजातिः गनगाई २२५२ …, थारु ११ लाख ९४हजार २२४, धिमाल १६ हजार ७८१, राजवंशी ८ हजार २१७ अन्यः १ लाख २९ हजार ७७७ । मधेसी आदिवासी जनजातिको जातिगत संख्या ४ र अन्य … जनसंख्याः १ लाख २९ हजार ७७७ । तथ्यांक स्रोतः डोरबहादुर विष्टको ‘सबै जातकोे पूmलबारी’ नामक किताब ।

त्यस्तै विसं २०५८ को जनगणनामा उल्लेख भएका नेपालका आदिवासी जनजातिको जनसंख्या र थप भएका नयाँ आदिवासी जनजातिको जातिगत तथ्यांक पनि तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १२ हजार ९७३, भोटे १२ हजार ४६३, शेर्पा १ लाख ५४ हजार ६२२, ब्यासी २ हजार १०३, वालुङ १ हजार १४८ । हिमाली आदिवासी जनजातिको जातिगत संख्या ५ र जनसंख्याः १ लाख ९२ हजार ९ । यसरी हेर्दा विसं २०५८ को राष्ट्रिय जनगणनामा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएको देखिन्छ । त्यस्तै विसं २०५८ को जनगणनामा हिमाली आदिवासी जनजातिको जनसंख्या १ लाख ८३ हजार ३०९ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १६ लाख २२ हजार ४२१, तामाङ १२ लाख ८२ हजार ३०४, नेवार १२ लाख ४५ हजार २३२, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) लाख ३५ हजार १५१, गुरुङ ५ लाख ४३ हजार ५७१, लिम्बु ३ लाख ५९ हजार ३७९, घर्ती/भुजेल १ लाख १७ हजार ५६८, सुनुवार ९५ हजार २५४, चेपाङ/प्रजा ५२ हजार २३७, थामी २२ हजार ९९९, याक्खा १७ हजार ३, पहरी ११ हजार ५०५, छन्त्याल ९ हजार ८१४, बराम ७ हजार ३८३, जिरेल ५ हजार ३१६, दुरा ५ हजार १६९, लाप्चा ३ हजार ६६०, हायु, १ हजार ८२१, ह्योल्मो ५७९, कुसुन्डा १६४ । यसरी हेर्दा विसं २०५८ को राष्ट्रिया जनगणगनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा नयाँ जाति थपिएको थियो भने पहाडी आदिवासी जनजातिको जातिगत संख्या २० रहेको थियो । जनसंख्या पनि ५४ लाख ६६ हजार ४६३ रहेको थियो ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल ९९ हजार ३८९, माझी ७२ हजार ६१४, दनुवार ५३ हजार २२९, दरै १४ हजार ८५९, बोटे ७ हजार ९६९, राजी २ हजार ३९९, राउटे  ६५८ । विसं २०५८ को जनगणनामा भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या बढेको देखिदैन भने जनसंख्या २ लाख ५१ हजार १४९ रहेको थियो ।

(घ) मधेसी आदिवासी जनजातिः थारु १५ लाख ३३ हजार ८७९, राजवंशी ९५ हजार ८१२, सन्थाल/सतार ४२ हजार ६९८, गनगाई ३१ हजार ३१८, धिमाल १९ हजार ५३७, ताजपुरिया १३ हजार २५०, मेचे ३ हजार ७६३, किसान २ हजार ८७६, कोचे १ हजार ४२९, मुन्डा ६६० । २०४८ को जनगणनामा मधेसमा थारु, धिमाल र राजवंशी मात्रै आदिवासी जनजातिको रुपमा रहेका थिए भने, २०५८ को जनगणनामा सन्थाल/सतार, गनगाई, ताजपुरिया, मेचे, किसान, कोचे र मुन्डा गरी सात वटा जातिहरु मधेसका नयाँ जातिका रुपमा आए । उनीहरुको जनसंख्या १७ लाख ४५ हजार २२४ रहेको थियो । स्मरणीय छ, विसं २०५८ मा पहिचान खुलेका नेपालका आदिवासी जनजातिको जनसंख्या ६७ लाख ४६ हजार १५५ रहेको थियो । –तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग (केतवि) २०५८ को जनगणना

यस्तै विसं २०६८ को राष्ट्रिय जनगणनामा आएको आदिवासी जनजातिको जातिगत संख्या र उनीहरुको जनसंख्याको पनि तल वर्णन गएिको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार २१५, भोटे १३ हजार ३९७, शेर्पा १ लाख १२ हजार ९४६, डोल्पो ४ हजार १०७, ल्होपा २ हजार ६२४, ब्यासी/सौका ३ हजार ८९५, तोप्केगोला १ हजार ५२३, वालुङ १ हजार २४९, ल्होमी १ हजार ६१४ । यसरी हेर्दा २०५८ मा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएका थिए भने, २०६८ को जनगणनामा डोल्पो, तोप्केगोला, ल्होमी र ल्होपा गरी ४ वटा हिमाली आदिवासी जनजाति नयाँ जातिको रुपमा थपिए । उनीहरुको जनसंख्या १ लाख ५४ हजार ५७४ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १८ लाख ८७ हजार ७३३, तामाङ १५ लाख ३९ हजार ८३०, नेवार १३ लाख २१ हजार ९३३, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) लाख २० हजार ४, गुरुङ ५ लाख २२ हजार ६४१, लिम्बु ३ लाख ८७ हजार ३००, घर्ती/भुजेल १ लाख १८ हजार ६५०, सुनुवार ५५ हजार ७१२, चेपाङ/प्रजा ६८ हजार ३९९, थामी २८ हजार ६७१, याक्खा २४ हजार ३३६, पहरी १३ हजार ६१५, छन्त्याल ११ हजार ८१०, बराम ८ हजार १४०, जिरेल ५ हजार ७७४, दुरा ५ हजार ३९४, लाप्चा ३ हजार ४४५, हायु, २ हजार ९२५, ह्योल्मो १० हजार ७५२, कुसुन्डा २७३, कुलुङ २८ हजार ६१३, घले २२ हजार ८८१, खवास १८ हजार ५१३, नाछिरिङ ७ हजार १५४, याम्फु ६ हजार ९३३, चाम्लिङ ६ हजार ६६८, आठपहरिया ५ हजार ९७७, बान्तावा ४ हजार ६०४, थुलुङ ३ हजार ५३५, मेवाहाङ ३ हजार १००, बाहिङ ३ हजार ९६, साम्पाङ १ हजार ६८१, खालिङ १ हजार ५७१, लोहोरुङ १ हजार १५३ । यसरी हरेक १०–१० वर्षको जनगणनाको तथ्यांक हेर्दा २०५८ को जनगणनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा जाति थपिएका थिए भने, २०६८ को ११ अनौं जनणनादेखि पहिले–पहिलेको जनगणनामा ‘राई !’ जातिमा गाभिने गरेको कुलुङ लगायत १२ वटा किरातीहरु एवम् घले र खवास गरी १४ वटा नयाँ जातिहरु थपिएर ३४ वटा पहाडी आदिवासी जनजाति भए । विसं २०६८ को जनगणनामा पहाडी आदिवासी जनजातिको जनसंख्या ६७ लाख ५२ हजार ८१९ रहेको छ ।

यसरी हेर्दा विसं २०६८ को जनगणनामा शेर्पा, राई, गुरुङ, सुनुवारलगायत केही आदिवासी जनजातिहरुको जनसंख्या विसं २०५८ को तुलनामा घटेर केही माईनस नै भएको थियो । सबैभन्दा धेरै सुनवार जातिको जनसंख्या घटेर (विसं २०५८ मा सुनुवार ९५ हजार २५४,  जनसंख्या रहेकोमा) विसं २०६८ को जनगणनामा सुनुवार जातिको जनसंख्या ५५ हजार ७१२ भएको थियो । त्यसपछि शेर्पा जातिको जनसंख्या विसं २०५८ को जनगणनामा १ लाख ५४ हजार ६२२ रहेकेमा विसं २०६८ को जनगणनामा घटेर १ लाख १२ हजार ९४६ भएको थियो । त्यस्तै गुरुङ र राईको पनि विसं २०५८ को तुलनामा विसं २०६८ को जनगणनामा जनसंख्या घटेर ,

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल १ लाख २१ हजार १९६, माझी ८३ हजार ७२७, दनुवार ८४ हजार ११५, दरै १६ हजार ७८९, बोटे १० हजार ३९७, राजी ४ हजार २३५, राउटे  ६१८ । यसरी हेर्दा भित्री मधेसको जनसंख्या ३ लाख २१ हजार १७६ रहेको छ भने, तीनवटै जनगणनामा भित्री मधेसमा जातिगत संख्या बढेन ।

(घ) मधेसी आदिवासी जनजातिः थारु १७ लाख ३७ हजार ४७०, राजवंशी १ लाख ५२ हजार २४२, सन्थाल/सतार ५१ हजार ७३५, गनगाई ३६ हजार ९८८, धिमाल २६ हजार २९८, ताजपुरिया १९ हजार २१३, मेचे ४ हजार ८६७, किसान १ हजार ७३९, कोचे १ हजार ६३५, मुन्डा २ हजार ३५० । २०६८ को जनगणनामा मधेसी आदिवासी जनजातिको संख्या थपघट भएको देखिदैन । मधेसी आदिवासी जनजातिको जनसंख्या भने २० लाख ३४ हजार ६९५ पुगेको छ । यसरी हेर्दा विसं २०६८ मा नेपालमा आदिवासी जनजातिहरुको जनसंख्या ९२ लाख ६३ हजार २६९ पुगेको छ । –तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग (केतवि) २०६८ को जनगणना

विसं २०४८ को जनगणनाको तथ्यांकलाई आधार मानेर हेर्दा त्यो वेला हिमाली आदिवासी जनजाति ३ वटा, पहाडी आदिवासी जनजाति ११, भित्री मधेसी आदिवासी जनजाति ७ वटा र मधेसी आदिवासी जनजाति ४ वटा गरी २५ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो । विसं २०५८ मा नेपालको आदिवासी जनजातिहरुको जातिगत संख्या पनि बढेर हिमाली आदिवासी जनजाति ५, पहाडी आदिवासी जनजाति २०, भित्री मधेसी आदिवासी जनजाति ७ र मधेसी आदिवासी जनजाति १० गरी गरी ४२ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो । तर, विसं २०६८ को जनगणनामा नेपालमा आदिवासी जनजातिहरुको जातिगत संख्या बढेर ६० पुगेको छ । जस्तै हिमाली आदिवासी जनजाति ९, पहाडी आदिवासी जनजाति ३४, भित्री मधेसी आदिवासी जनजाति ७, मधेसी आदिवासी जनजाति १० गरी जम्मा ६० वटा जातिहरु आदिवासी जनजातिका रुपमा आए । स्मरणीय के छ भने, विसं २०६८ को राष्ट्रिय जनगणनामा आएका अन्य केही जातजातिहरुले पनि आपूmहरु आदिवासी जनजाति हौं भनी दावी गरी रहेका छन् ।

यसरी हेर्दा विसं २०४८ को जनगणनादेखि नै जनसंख्याको सवालमा लगभग स्थिर रहेको जातीय जनसंख्या भनेको थकालीको रहेको देखिन्छ । किनभने, थकालीको जनसंख्या क्रमशः विसं २०४८ मा १३ हजार ७३१, विसं २०५८ मा १२ हजार ९७३ (विसं २०४८ भन्दा केही घटेको)  र विसं २०६८ मा १३ हजार २१५ (विसं २०४८ भन्दा ५०० कमै) रहेको देखिन्छ । जे भए तापनि जनगणनामा एकै जाति थकाली भनी आएको एक जाति थकाली जाति विसं २०५४ मा बनेको जनजाति समिति अन्तर्गत ६ वटा अलग–अलग जातिमा सूचीकृत भएका थिए । जस्तै थकाली, मार्फाली थकाली, चिमतन, छैरोतन, ठिनतन, स्याङतान । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बनेपछि (विसं २०५८ मा) थकाली, मार्फाली थकाली, (चिमतन, ठिनतन, स्याङतानलाई गाभेर) तीनगाउँले थकाली र छैरोतन गरी ४ खाले थकाली भएर सूचीकृत भएका थिए । तर, उनीहरुको जनसंख्या भने, विसं २०५८ र विसं २०६८ को जनगणनामा एकै जाति थकालीमै रहेको छ, सूचीकृत भएअनुसार अलग–अलग जातिका रुपमा आएका छैैनन् । भित्री मधेसमा भने, तीवटै जनगणनामा आदिवासी जनजातिको जातीय संख्या स्थिर रहेको देखिन्छ । अर्थात विसं २०४८, विसं २०५८ र विसं २०६८ को तीनवटै जनगणनामा भित्री मधेसमा ७ वटा मात्रै आदिवासी जनजातिहरुको जातिगत रुपमा  तथ्यांक आएको छ ।

१०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको जातिगत संख्या बढ्ने क्रममा सबैभन्दा धेरै विसं २०६८ को जनगणनामा आदिवासी जनजातिहरुको जागित संख्या  बढेर ६० वटा भएको छ भने, विसं २०५८ मा पनि विसं २०४८ को जनगणनामा बढेर ४२ वटा भएको थियो । अब हेरौं, आगामी (विसं २०७८ को) १२ औं राष्ट्रिय जनगणनामा पनि नेपालमा आदिवासी जनजातिहरुको जातिगत संख्या कति बढ्ने हो ? अर्को पक्ष के देखिन्छ भने, हरेक राष्ट्रिय जनगाणनामा आदिवासी जजनातिको जनसंख्या पनि घट्ने र बढ्ने क्रम पनि जारी रहेको छ । जस्तो कि, विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राई ! को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार ४ मा झरेको देखिन्छ । त्यस्तै विसं २०५८ को राष्ट्रिय  जनगणनामा गुरुङको जनसंख्या ५ लाख ४३ हजार ५७१ रहेकोमा विसं २०६८ को जनगणनामा घटेर ५ लाख २२ हजार ६४१ मा झरेको छ । त्यस्तै शेर्पाको जनसंख्या पनि विसं २०५८ को राष्ट्रिय जनगणनामा १ लाख ५४ हजार ६२२ रहेको थियो । तर, विसं २०६८ को जनगणनामा भने शेर्पाको जनसंख्या १ लाख १२ हजार ९४६ मा झरेको छ ।

सबैभन्दा अचम्मको कुरो के छ भने, विसं २०४८ को ९ औं राष्ट्रिय जनगणनामा सुनुवार जातिको जनसंख्या ४० हजार ९४३ मात्रै आएपछि सुनुवार सेवा समाज (सुसेस) ले केन्द्रीय तथ्यांक विभाग (केतवि) लाई आग्रह गरेर जनगणनामा जातको महलमा ‘मुखिया’ले लेख्ने जत्ति सबैलाई विसं २०५८ को जनगणनामाचाहिँ ‘सुनुवार’ जातिमा राखी दिन आग्रह गरेको थियो । सो कुरो मलाइ सुनुवार भाषा लेखक, साहित्यकार तथा कलाकार (चित्रकार) उत्तम सुनुवार (कोइँचबु कातिचा) ले यो पंक्तिकारलाई बताएका थिए । विसं नभन्दै २०५८ को १० जनगणनामा सुनुवार जातिको जनसंख्या डबलभन्दा पनि बढीले बढेर ९५ हजार २५४ पुग्यो । किनकि, विसं २०५८ मा ‘मुखिया’हरु म्धेसका जिल्लाहरु सुनसरी, मोरङ, धनुषा, सप्तरी, सर्लाही, सिरहा, महोत्तरी आदिमा जिल्लाहरुमा पनि प्रशस्तै रहेको देखियो । त्यसपछि सुनुवार जातिको आधिकारिक सामाजिक संस्था ‘सुनुवार सेवा समाज (सुसेस)’ का कार्य समितिका सदस्यहरु ती जिल्लाहरुमा दंग पर्दै सुनुवार सेवा समाज (सुसेस) को प्रारम्भिक कमिटिहरु गठन गर्न र प्रशिक्षण दिन भनी गए । तर, मधेसका ती ‘मुखिया’ लेख्नेहरु किराती सुनुवार अर्थात् ‘कोईँच/मुखिया !’ नभएर बिन, मल्लाह, बडही, गडेरी आदि ‘मुखिया’ रहेछन् ! हुन पनि ‘मुखिया’ भनेको जातिवोधक शब्द नभएर कुलुङ लगायत खम्बुका सन्तानहरुले पाएको ‘राई’, लिम्बु र लाप्चाले पाएको ‘सुब्बा’, थारुले पाएको ‘चौधरी/चौधराई’ ‘पटवारी’ आदि पद वा पगरी जस्तै सुनुवारले पाएको ‘मुखिया’ पद वा पगरी मात्रै थियो/हो ।

नेपालमा किन र कसरी जातजाति, भाषाभाषी र धार्मिक समूह वा वर्गहरु बढी रहेका वा घटी रहेका छन् ? भन्नेबारेमा नेपालका समाजशास्त्री, मानवशास्त्री, भाषाशास्त्रीलगायत अन्य विद्धान एवम् विज्ञ भनिनेहरु नै तैँ चुप, मै चुप छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार