सन्दकपुर गोल्डकप : इलाम फुटबल क्लब र गोदक एफसी विजयी

  विविसी हाङखिम
21 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा जारी प्रथम सन्दकपुर गोल्डकपमा इलाम फुटबल क्लब र गोदक एफसी विजयी भएका छन् ।

विहीबार भएको पहिलो खेलमा खेलमा नवज्योति खेल संघलाई २-० गोलले पराजित गर्दै इलाम फूटबल क्लब विजयी बन्यो । पहिलो हाफसम्मा बराबरीमा खेलेको इलाम फूटबल क्लबले दुवै गोल दोस्रो हाफमा गरेको थियो । इलामका शेखर राईले दोस्रो हाफपछि टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै अन्तिम समयमा इलामका किस्मत लिम्बुले गोल गर्दै टिलाई २-० को जित दिलाएका थिए । पहिलो खेलको म्यान अफ दी म्याच विजेता इलाम फूटबल क्लबका शेखर राई घोषित भए । उनले नगद २ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा ११ वारियर कमल झापालाई ४-२ गोल अन्तरले पराजित गर्दै गोदक एफसी विजयी बन्यो । गोदकका मोहन टुडुले पहिलो हाफमा १ गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा पासाङ शेर्पाले ३ गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए । उता  झापाका तर्फबाट भने सबिन धिमालले २ गोल फर्काएका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच विजेता गोदक एफसीका पासाङ शेर्पा घोषित भए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा सन्दकपुर एफसी र जनता ७ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा हेलो जस्बिरे र माइजोगमाईबीच प्रतिष्पर्धा हुनेछ ।

देउराली स्पोर्टिङ क्लबले आयोजनामा गरेको प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ  र उपविजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल नयाँ वर्षमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार