‘किराती कुलुङ’ : कुलुङ जातिबारे साँगोपाँगो जानकारी

  निनाम कुलुङ 'मंगले'
77 Shares

हुन त नेपालका जातजाति र भाषाभाषीका बारेमा तथ्य–परक किताबहरु कमै मात्र लेखिएका छन् । त्यसमा पनि आदिवासी जनजातिहरुका बारेमा गहन ढंगले खोज–अनुसन्धान गरेर अनुसन्धानात्मक ढंगले लेखेको किताबहरु त झन् धेरै कम मात्रै बजारमा पाईने गरेको देखिन्छ । त्यसमा पनि सम्बन्धित लेखकहरुले अर्थात् आदिवासी जनजातिका पनि सक्बन्धित जातिकै लेखकले आप्mनै जातिका बारेमा लेखेको गहन किताबको त लगभग खडेरी नै परेको देखिन्छ । कतिपय अवस्थामा त सम्बन्धित जात, जाति, समुदाय वा वर्गभन्दा बाहिरका लेखकहरुले सम्बन्धित जातिका बारेमा जताभावी लेखी दिनाले (केही लेखक भनिनेहरुले टेवल वर्क गरेर र केही लेखकहरुले अनुमान वा सुनेकै भरमा !) ठूलठूलो विवाद समेत खडा हुने गरेको देखिन्छ । जस्तो कि उप–प्राध्यापक शिवहरि अर्यालले ११ कक्षादेखि स्नातकसम्मका समाजशास्त्रका विषयमा लेखेको किताबलाई नै लिन सकिन्छ । जुन किताबमा लेखक अर्यालले नेपालका आदिवासी जनजातिलाई ‘आदिवासी जनजाति’ नभनी ‘जनजाति’ मात्रै भनी लेखेको, जनजातिको परिभाषा जताभावी दिएर लेखेका थिए । तर, ढीलै भए पनि आदिवासी जनजातिका अभिन्ताहरु, अगुवाहरु र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको छलफलपछि क्षमायाचना गर्दै र भुलसुधार गर्दै अब सच्याएर लेख्ने÷प्रकाशन गर्ने भनी प्रतिवद्धता जनाएका छन् भने बजारमा गइसकेका किताबलाई बिक्री बन्द गरिसकेका छन् ।

त्यस्तै कुलुङ जातिका बारेमा कुलुङले नै लेखेको किताबका बारेमा यहााँ केही चर्चा गरिने छ । जस्तो कि लेखक इन्द्र कुलुङले लेखेको ‘किराती कुलुङ’ नामक किताबलाई लिन सकिन्छ । इन्द्र कुलुङले लेखेको ‘किराती कुलुङ’ नामक किताब नेपालका मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदिका लागि उदाहरणीय हुन सक्ने देखिन्छ । साँच्चै भन्ने हो भने, कुनै पनि जात, जाति वा भाषाभाषीबारे लेख्दा आधिकारिक र तथ्य–परक ढंगले कसरी लेख्ने ? त्यसका लागि अध्ययन–अनुसन्धानका विधिहरु केके हुन् ? कुनै पनि जात, जाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति आदि विषयमा गहन ढंगले किताब लेख्न चाहने लेखकहरुका लागि ‘किराती कुलुङ’ नामक किताब एक उदाहरणीय र नमुना हुन सक्छ ।

हुन त कुलुङ जाति को हुन ? पहिले कुलुङ जातिका बारेमा नै जान्नुपर्ने हुन्छ । विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ हरेको छ भने कुलुङ मातृभाषीको संख्या भने ३३ हजार १ सय ७० रहेको छ । स्मरणीय छ, नेपालका अन्य जात वा जातिसरह अलग्गै जातीय संरचना भएको जस्तो कि, ऐतिहासिक भूमि महाकुलुङ, अन्य जातिको भन्दा छुट्टै भेषभुषा, धार्मिक मूल्य–मान्यता, परम्परागत कानुन, गरगहना, संस्कार, संस्कृति, चाडपर्व, रहनसहन, परम्परागत कानुन, परम्परागत मूलयमान्यता, पारिवारिक जीवनचक्र, कुलुङ जातिभित्रै विभिन्न थर÷उपथरहरु भएकोरहेको, ( त्यही भएर नै कुलुङ–कुलुङबीचमै विवाह हुने गर्छ) छ । त्यसो भए तापनि यसअघि कुलुङ जातिलाई कथित् राई ! जातिमा गाभ्ने गरिन्थ्यो ।

जे होस्, ‘किराती कुलुङ’ नामक किताबमा १२ खण्ड र एक अनुसूची रहेको छ । अनुसूचीमा पनि १६ वटा उप खण्ड छ । लेखक कुलुङले किरात र किरातभित्रको विभिन्न जातिहरु, उनीहरुको बसोबास क्षेत्र, कुलुङ जातिका बारेमा, कुलुङ शब्दको उत्पत्ति, प्रशासनिक इकाई, महाकुलुङलाई राज्यले दिएको लालमोहर, महाकुलुङ भूमिलाई पुष्टि गर्ने विभिन्न आधारहरु, वंशावली, कुलुङ जातिका मुख्य चार पूर्खाहरुको उल्लेख, कुलुङ जातिमा मृत्युपछि पुगिने÷पुर्याइने स्वर्ग अर्थात ‘पोम्लालुङ’ आदिका बारेमा लेखेका छन् । त्यस्तै कुलुङ जातिको ऐतहासिक संरचना, राजनीतिक, आर्थिक संरचना, किपट र किपट प्रथा, राज्यको भूमि सम्बन्धी नीति, कुलुङ जातिका परम्परागत ज्ञान, सीप र राज्यको नीति आदिका बारेमा पनि उल्लेख गरेका छन् । एवम् रीतले वंशावली, पाछा (थर), छुट्याउने आधार, दप्स्निङ (गोत्र), सामेइ (गायत्री मन्त्र !) अर्थात् जन्म, मृत्य, विवाह, पूजा–आजा आदिमा सम्बन्धित घरपरिवारमा हुने विभिन्न कार्यहरुमा पुकारिने नाम जस्तै यो लेखक कुलुङ जातिको लोवात्ती पाछा (थर) को हो । लोवात्तीहरु पनि छुटेर ४÷५ खालका भएका छन् । त्यो भनेको बाहुनको पोखरेल थरमा पनि ‘दूध पोखरेल’ र ‘पानी पोखरेल’ भनी छुटे (गोत्र फरक रहे जस्तै) जस्तै हो । हरेक उप थरका लोवात्तीहरुको आ–आप्mनै सामेई .(गोत्र) हुन्छ । उप थर छुट्टिएपछि एकआपसमा विवाहवारी पनि चलाउन मिल्छ ।

यसरी हेर्दा लेखकले ‘किराती कुलुङ’ नामक किताब कुलुङ जातिका बारेमा हालसम्मकै वास्तविकतामा आधारित, तथ्यमा आधारित र, सत्य–थत्य उजागर गरेर लेखेको मान्न सकिन्छ । हुन् पनि लेखकले कुलुङ जातिका बारेमा धेरै भन्दा धेरै (लगभग सबै विषयमा) जानकारी दिएका छन् । यसो हुनुमा लेखक स्वयम्, कुलुङ हुनु, साथै लेखक स्वयम्ले कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’मा धेरैपटक भ्रमण गरेर त्यहाँका कुलुङ बुढा–पाका र जान्ने सुन्नेहरु भेला पारेर उनीहरुसँग कुलुङ जातिको उत्पत्ति, ऐतिहासिक भूमि, वंश, लोककथा, परम्परा, रीतिथिति, धर्म, दर्शन, संस्कार, संस्कृति, चाडबाड, भेषभुषा, मेलापर्व, खेतीपाती, गरगहना, गीत–संगीत, बाजागाजा, खेल, मनोरञ्जनका साधन आदिबारे बहस, छलफल गरेर निकालेको निचोड निकालेका थिए । त्यसैलाई नै लेखकले किताबको रुप दिएका हुन् । त्यसैले बाहिरिया लेखक तथा अनुसन्धानकर्ताहरुले ‘टेबल वर्क’ गरेर वा अरुले भनेको वा लेखेको सारेर ! लेखेको किताबहरुभन्दा गहन र विस्तृत जानकारीसहित आएको छ । वास्तवमा ‘किराती कुलुङ’ नामक किताबलाई कुलुङ जातिका बारेमा लेखिएको ‘इन्साइक्लोपेडिया’ नै भन्न सकिन्छ । फलतः बजारिया हल्लाखल्ला नगरीकनैै पनि किताब प्रकाशित भएको लगभग एक वर्षमै दोस्रो संस्करण निक्लेको छ, त्यो पनि सकिन लागेको छ ।

‘किराती कुलुङ’ नामक किताबको पहिलो संस्करणको प्रकाशनमा आदिवासी जनजाति उत्थान राष्ट्रय प्रतिष्ठानले केही रकम सहयोग गरेको थियो भने बाँकी नपुग रकम (लगानी) लेखक स्यवम्ले गरेका थिए । दोस्रो संस्करण भने ‘सोसाइटी फर पाटनर्स इन डेभलपमेन्ट’ नामक संस्थाको केही रकम सहयोगमा प्रकाशित भएको छ । यसरी हेर्दा ३००ं२४ पानाको ‘किराती कुलुङ’ नामक किताबको मूल्य पाँच सय (५००) नेपाली रुपैँया रहेको छ । पाना गनेरै भन्ने हो भने यो मूल्य केही महँगो नै लाग्न सक्छ । तर, लेखकले छनोट गरेको विषय–वस्तु, विषयको गहना र जानकारीको फराकिलोपन, प्रस्तुती, अध्ययन र अनुसन्धानमा गरेको अथक मेहेनत, विभिन्न उद्धरणहरु, उदाहरणहरु, अनुसन्धानमा खर्चेको महत्वपूर्ण समय आदिलाई हेर्ने हो भने यो मूल्यलाई महँगो होइन, धेरै सस्तो मान्नुपर्ने हुन्छ । जुन कुरो किताब पढ्ने, किताबको गहना बुभ्mने र अनुसन्धानकर्ता तथा खोजकर्ताहरुले महसुस गर्छन् नै ।

साथै असलीयतमा भन्ने हो भने यो किताब असली रुपमा मानवशास्त्र, जातिशास्त्र, नृवंशशास्त्र, समाजशास्त्र, भाषाशास्त्र, धर्म, संस्कृति आदि अध्ययन गर्ने र बुभ्mन चाहनेहरुका लागि एक उदाहरणीय किताब हुन सक्ने देखिन्छ । त्यस्तै मानवशास्त्र, जातिशास्त्र, नृवंशशास्त्र, समाजशास्त्र, भाषाशास्त्र, धर्म, संस्कृति आदि विषयमा अध्ययन गर्दै गरेका पछिल्लो छिमलका विद्यार्थीहरु लगायत एमए, एमफिल, पिएचडी (डाक्टर) शोधार्थीहरुका लागि समेत सम्बन्धित जात वा जातिको संंख्या ‘धेरै होस्, कि थोरै !’ उनीहरुका बारेमा वास्तविकतामा आधारित रहेर सत्य, तथ्यबारे लेख्न, बोल्न र अध्ययन–अनुसन्धान गर्नुपर्ने वोध पनि यो किताब पढ्नेहरुले गर्न सक्छन् । अर्थात् हालसम्मका मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, समाजशास्त्री, भाषाशास्त्री र, धर्म, दर्शन, संस्कृति आदिका प्रा., डा. वा प्राडाहरुलाई पनि यो किताब पढेपछि मानवशास्त्र, जातिशास्त्र, नृवंशशास्त्र, समाजशास्त्र, भाषाशास्त्र, धर्म, दर्शन, संस्कृति आदि नयाँ ढंगले अध्ययन–अध्यापन गर्ने÷गराउनेतर्पm मार्ग दर्शन गर्छ कि त …!?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार