चाडपर्वको राजनीति र कुलुङ जातिको ‘चाक्चाकूर’ 

  निनाम कुलुङ 'मंगले'
0 Shares

वास्तवमा राजनीति र चाडपर्व अथवा चाडपर्व र राजनीतिको सम्बन्ध अन्यो–न्याश्रित हुन्छ । यसलाई हामीले स्वीकार्नैपर्ने हुन्छ । उदाहरणका लागि जुनसुकै देशमा पनि जुन जात वा जातिका मानिसहरुले मान्ने चाडपर्वहरु हुन्छ, त्यसैलाई राज्यकै चाडपर्व ! वा भनौं राष्ट्रिय चाडपर्व मान्ने÷स्थापित गर्ने क्रम विश्वभरि नै चलेको यथार्थ हो । अथवा जुन जात वा जातिहरु शासकहरुका नजीक छन्, पहुँच हुन्छ, उनीहरुको चाडपर्वले नै बढी महत्व पाउँछ । अथवा जो जात वा जाति शासकहरुसँग नजीक छन् वा शासकहरुसँग पहुँच बनाएको छ, उनीहरुकै चाडपर्वहरुलाई नै मिडियाहरुले पनि महत्व दिने गरेको देखिन्छ । अझ नेपाल जस्तो देशमा त यस्तो काम अरु बढी नै भई रहेको देखिन्छ ।

जस्तो यो वर्षको पुस १५ गते नेपालका धेरै जातजातिहरुको पर्व वा भनौं चाडहरु पर्यो । जस्तै नेवार समुदायको ‘योः मरी पुन्यी’÷‘ज्यापु दिवस’, कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ–५०८१’÷‘चाक्चाकूर’, गुरुङ समुदायको ‘ल्हो छार, लिम्बु समुदायको ‘चासोक तङनाम’, बाहुन, क्षेत्रीहरुको ‘धान्य–पूर्णिमा’, सुनुवार समुदायको ‘फोल श्याँदर’÷‘’श्याँदर÷पिदार’, थामी, हायु लगायतको …, कथित् ‘राई !’ जाति भनिनेहरुको साकेला आदि एकै दिन पर्यो । यसो हुनुमा यो वर्ष मलमास वा अधिकमास परेकोले भन्ने ज्योतिषीहरुको भनाइ छ । अन्यथा हरेक वर्षको पुस १५ गते कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ’÷‘चाक्चाकूर’ र गुरुङ समुदायको ‘ल्हो छार’ पर्व मात्रै पर्ने गर्छ । तर, नेपाल सरकारले नेपालका कुनै पनि जात वा जातिलाई आधिकारिक रुपमा जात+जाति मान्नु र नमान्नुमा कति फरक छ ? भन्ने त हरेक वर्ष पर्ने विभिन्न जात वा जातिको चाडपर्वमा सम्मानीय राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री लगायतले दिने शुभकामना सन्देशले नै दिने गरेको छ । जस्तै हरेक वर्षको पुस १५ गते कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ’÷‘चाक्चाकूर’मा अहिलेसम्म सम्मानीय राष्ट्रपति, प्रधानमन्त्रीले कहिल्यै शुभकामना सन्देश दिने गरेको देखिँदैन । तर, गत वर्षदेखि कम्तिमा एक नम्बर प्रदेशका मुख्यमन्त्री ज्युले पुस १५ गते पर्ने कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ’÷‘चाक्चाकूर’को अवसरमा शुभकामना सन्देश दिन थाल्न भएको छ । जसलाई धेरै नै सकारात्मक मान्नुपर्ने हुन्छ ।

जे होस्, राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘–कुलुङ ।’ जनगणना २०६८ मा उल्लेख भएअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ । कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्ती कुलुङको भनाइअनुसार भने, कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी रहेको छ । कुलुङ जातिको उत्पत्ती थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै, संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाण्डौ लगायत जिल्लामा बाक्लो वस्ती रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ सुर्खेतलगायत जिल्लामा पातलो वस्ती रहेको छ । यसरी नेपालका २७ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्याण्ड, मणिपुर, देहरादुन अनि म्यानमार, भुटान, हङकङ, बेलायत, अष्टे्रलिया, क्यानडालगायत देशमा पनि कुलुङहरु रहेको भेटिएको छ ।

नेपालको वास्तविक चिनारी भनेको नै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि हो । त्यसैले त पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो ।’ भनी सकारेका थिए । कुलुङ जातिको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै लगायत साविकका गाविसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, रीतिरिवाज, भेषभुषा, गरगहना आदि रहेको छ ।

यसरी कुलुङ जातिले मनाउने विभिन्न चाडबाड, जात्रामात्रा, पर्व र उत्सवहरुको कुरो गर्दा कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’को पहिलो महिना ‘चाक्चाकुर’को अवसरमा मनाइने ‘मिनारी–दाचाम्’ पनि एक हो । ‘चाक्चाकुर’ भनेको इस्वी संवत्को पहिलो महिना जनवरी, विक्रम संवत्को पहिलो महिना वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्र अनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम पनि हो । विक्रम संवत्को हरेक पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ ’सुरु हुन्छ ।

प्राचीन कालमा कुलुङ समुदायले चाक्चाकूरको अवसरमा ‘मिनारी–दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोम राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङ लगायत कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरुमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न÷भित्र्याउने÷भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी–दाचाम्’ भनिन्छ । त्यस्तै कुलुङ जातिमा चाक्चाकूरको अवसरमा मनाइने मिनारी–दाचाम् चाडको अवसरमा पहिलो दिन आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही खाएर मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।

कुलुङ जातिले मान्ने ‘मिनारी–दाचाम्’ चाड अर्थात् ‘चाक्चाकूर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किम्बदन्ती र विश्वासअनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ र एक छोरा खोक्चिलीप गरी तीन सन्तान थिए । यिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । ती दिदी–बहिनीले सानैमा भाइ खोक्चिलीपलाई छाडेर गए । खोक्चिलीपले आपूm ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु पनि भएको बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलीप आफ्ना दिदीहरु खोज्न गए । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै भाइलार्ई बेवारिसे बनाएर सानैमा छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर नयाँ अन्न–बालीबाट पाकेको÷बनेको मिठो÷मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरेर विदावारी भए ।’ कुलुङ जातिमा सोही दिनदेखि चाक्चाकूर मनाउन थालियो ।

हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरु जस्तै भोजपुर, संखुवाशभा, इलाम, सुनसरी, मोरङ, झापा, र पातलो वस्ती रहेको तेह्रथुम, ताप्लेजुङ, धनकुटा, उदयपुर, काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की लगायत जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकूर’ मनाउने क्रम बढेको छ । यो वर्षचाहिँ कोरोना महामारीका कारण कतै पनि सामूहिक रुपमा भेल भएर ‘चाक्चाकूर’ नमनाउने निर्णय भएको छ ।
[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार