सबै सरकारहरूलाई थाहा होस्

अरुण नेपाल

थाहा अभियान चलाउँदा कुनै बेला पागलको पगरी गुथाइएका समाज रूपान्तरणका एक शाहसिक अभियन्ता रूपचन्द्र विष्टलाई आज सबैले स्मरण गर्नैपर्ने समय आएको अनुभुति हुन थालेको छ । सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा त निकै आकर्षक देखिन्छ । यो नारा सायद सबै नेपालीका लागि निकै कर्णप्रिय पनि छ । आजका मितिसम्म यो नाराका बिरूद्ध कोहि उभिन सकेको पनि छैन । सबैलाई थाहा हुनैपर्ने एउटा सत्य के हो भने सम्बृद्ध नेपालको प्राण भनेको मुलुकका सारा साधन स्रोतको अधिकतम उपयोग गर्न सक्षम योग्य र शिक्षित जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा प्रणाली नै हो । सबैजसो नेपालीका मन मष्तिस्कमा नवीन जोस, जाँगर र उत्साह भर्न सक्ने गुणस्तरीय शिक्षा नै हो । आज सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काएरै सरकारमा पुग्नेहरू मुलुकभर हावी छन् । तर युग सुहाँउदो प्रविधिमैत्री र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुनेछ भन्ने कुरा ती सरकारहरूलाई थाहा नभएजस्तो लागेर आज पुनः थाहा अभियानका अभियन्ता रूपचन्द्र विष्टलाई स्मरण गर्न मन लाग्यो ।

सायद नेपालमा रूपचन्द्र विष्टले चालेको थाहा अभियानलाई थाहा नपाउने सरकारहरूको संख्या पनि कमै मात्र होला । अथवा आफूलाई परिवर्तनकामी भन्न रूचाउने सरकारहरूले नेपालमा परिवर्तनकै लागि थाहा अभियान चलाउने रूपचन्द्र विष्टको थाहा अभियान नै थाहा पाएका छैनन् होला भन्दा त्यस्ता सरकारहरूको अपमान हुन पनि सक्छ भन्ने कुरा समेत थाहा पाउनु पर्छ होला । आदरणीय व्यक्तित्व रूपचन्द्र विष्टले गुणात्मक परिवर्तनका पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले सारा जनता जगाउन पञ्चायत कालमा चालेको त्यहि थाहा अभियानको सारलाई सम्मान गर्दै नेपालका सबै सरकारहरूले समेत वर्तमान समयमा थाहा पाउनैपर्ने गाँठी कुरा थाहा पाउन सकुन् भनेर पनि रूपचन्द्र विष्टको थाहा अभियानको प्रसंग जोडेरै यो खवरदारी गर्न खोजिएको हो । हुन त परिवर्तनकै लागि थाहा अभियान चालेका रूपचन्द्र विष्टहरूले नै गरेको अतुलनीय योगदानको जगमा परिवर्तनलाई संस्थागत गर्ने भन्दै सरकारमा पुगेकाहरूलाई नै जगाउन पुनः थाहा अभियानको स्मरण गराउनु आफैंमा निकै दुःखलाग्दो कुरा पनि हुन सक्छ । तर पात्र जोसुकै होस् सत्तामा पुगेर भत्ता खाँदै निहित स्वार्थलाई मात्र केन्द्रमा राखेर जनताका माग र आवश्यकतालाई अन्देखा गर्ने प्रवृत्तिलाई नै ती पात्रले निरन्तरता दिन थालेपछि जनताले त्यस्ता प्रवृत्तिका बिरूद्ध यस्ता थाहा अभियान छेडि नै रहनुपर्ने रहेछ । रूपचन्द्र विष्टका चेला बन्न खोज्नेहरूले त्यो अभियानलाई निरन्तरता दिदै सत्तामा बस्नेहरूलाई खवरदारी गरि नै रहनु पर्नेरहेछ । सायद त्यहि भएर नै होला आज पुनः थाहा अभियानको स्मरण गर्नुपर्ने समय आएको ।

अब नेपालका सबै सरकारहरूलाई यो कुरा थाहा होस् कि जनता नजागिकन सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा कहिल्यै पूरा हुन सक्ने छैन । सम्बृद्ध नेपाल निर्माण गर्न उच्च चेतनाले लैस जनता मुलुक निर्माणको महाअभियानमा सामेल हुनैपर्छ । जनताका मनमष्तिस्कको पनि गहिराइमा घुसेर त्यस्तो उच्च चेतनाले लैस नागरिक पैदा गर्न सक्ने ताकत गुणस्तरीय शिक्षा बाहेक अरू केहिसँग पनि हुँदैन भन्ने कुरा पनि सबै सरकारहरूलाई थाहा हुनैपर्ने हो । गुणस्तरीय शिक्षा भनेकै नेपालको माटो र २१ अौ शताब्दीको चेतलाई घोलघाल गरेर मुलुक निर्माणमा हेलिन सक्ने जनशक्ति जन्माउने व्यावहारिक, वैज्ञानिक र प्रविधिमैत्री शिक्षा नै हो भन्ने सत्य सबै सरकारहरूलाई थाहा हुनैपर्ने हो । युग सुहाँउदो शिक्षा भनेकै सुचना र सञ्चारमा आएको चमत्कारलाई ग्रहण गरी त्यो बमोजिम विश्वसँग हातेमालो गर्न सक्ने उच्च मनोवलले लैस जनशक्ति उत्पादन गर्नु नै हो भन्ने कुरा पनि सबै सरकारलाई थाहा हुनैपर्ने हो । त्यस्ता योग्य जनशक्ति उत्पादन गर्ने युग सुहाँउदो शिक्षा भनेकै प्रविधिमैत्री शिक्षामा विशेष जोड दिनु नै हो भन्ने सत्य पनि सबै सरकारहरूले थाहा पाउनै पर्ने हो । प्रविधिमैत्री शिक्षा भनेको कोभिड १९ जस्ता विपद् आइलाग्दा समेत घरैमा बसीबसी संसारलाई नियालेर अघि बढ्न सक्ने उच्च मनोवलले लैस जनशक्ति उत्पादन गर्ने कुरा नै रहेछ भन्ने सत्य त अब पक्कै पनि सबै सरकारहरूलाई थाहा भएकै हुनुपर्छ । जबजब सारा जनताले घरैमा बसीबसी संसारलाई बुझ्दै संसारमा भएका परिवर्तनका लहर गाउँगाउँ र टोलटोलमा ल्याउन जनता जुरूक्कै जाग्नेछन, तवमात्र सम्वृद्ध नेपालको सपना विपनामा परिणत हुन सक्नेछ भन्ने कुरा पनि सबै सरकारहरूलाई थाहा हुनैपर्ने हो । वास्तवमा अत्याधुनिक प्रविधिसँग जोडिएर संसारमा भएका परिवर्तनका कथाव्यथा जब स्वयं जनताले बुझ्न थाल्नेछन्, तव उनीहरूका मनमस्तिष्कमा अनेक झंकार उत्पन्न हुन सक्नेछन् र ती झंकार एवं तरंगले समाज रूपान्तरणमा अकल्पनीय प्रभाव पार्न सक्नेछ भन्ने कुरा अब त कम्तिमा सरकारको नेतृत्व गर्नेहरूलाई त थाहा हुनैपर्ने हो ।

यसरी गाउँगाउँमा मात्र होइन, गाउँगाउँका जनताका छोराछोरीका मन मस्तिष्कको पनि गहिराइ चुमेर विद्यार्थीवर्गमा नवीन जोस, जाँगर र उत्साह पैदा गर्ने त्यस्तो प्रविधिमैत्री शिक्षा प्रदान गर्ने कुराको बलियो जग र आधार भनेकै सहज इन्टरनेटको पहुँच नै हो भन्ने कुरा त झन् सरकारमा सामेल सबैलाई राम्ररी नै थाहा हुनुपर्ने हो । इन्टरनेटको सहज पहुँच बिना शिक्षक, प्राध्यापक र विद्यार्थी जति मच्चिए पनि प्रविधिमैत्री शिक्षा सबै जनतासमक्ष पुग्न कठीन हुने कुरा तिनै जनताका मतबाटै सरकारमा पुगेकाहरूलाई सबभन्दा बढि थाहा हुनुपर्ने हो । गाउँगाउँमा इन्टरनेटको सञ्जाल विस्तार गर्न साधन स्रोत सम्पन्न शक्तिशाली सरकारहरूले नै अग्र मोर्चामा रहेर एउटा महाअभियान छेड्न जनताले खवरदारी गरिरहनु नपर्ने कुरा पनि ती सरकारहरूलाई राम्ररी नै थाहा हुनुपर्ने हो । २१ अौ शताब्दीको माग र आवश्यकतालाई सम्बोधन गर्न सक्ने प्रविधिमैत्री शिक्षाको बलियो जग इन्टरनेटको सञ्जाल गाउँगाउँमा पुर्याउन सक्ने हो भने जनताको चेतनास्तर समेत इन्टरनेटकै गतिमा बृद्धि हुन सक्ने सम्भावना पनि सबै सरकारहरूले थाहा पाउनैपर्ने हो । यसरी इन्टरनेट, प्रविधिमैत्री शिक्षा, जनताको युग सुहाँउदो बढ्दो चेत, उच्च मनोवल, नवीन जोसजाँगर एवं उत्साहको एकिकृत योगले मात्र सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयन हुन सक्ने सत्य सबै सरकारहरूलाई तत्काल थाहा होस् । सरकारलाई उक्त कुरा थाहा भएको कुरा जनताले अनुभुति गर्न थालेको कुरा पनि देश विदेशमा रहेका सबै नेपालीलाई थाहा होस् । कोभिड १९ ले नेपालमा प्रविधिमैत्री शिक्षाको सम्भावनालाई सतहमा ल्याइदिएको छ भन्ने कुरा थाहा भएर पनि थाहा नपाएजस्तो गर्दै ननिदाइकन निदाएको वहाना गर्नेहरूलाई पनि राम्ररी थाहा होस् कि अब प्रविधिसँग रमाउन नसक्नेहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न असम्भव छ भनेर । प्रविधमैत्री शिक्षा वर्तमान समयको जोडदार माग र आवश्यकता तथा सबै सरकारहरूले तत्काल सम्बोधन गर्नैपर्ने आजको एउटा जल्दोबल्दो मुद्दा हो भन्ने सत्य सम्बन्धित सबैलाई थाहा होस् । थाहा अभियानका अभियन्ता आदरणीय व्यक्तित्व रूपचन्द्र विष्टप्रति पुनः एकपटक हार्दिक सम्मान तथा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । *

(लेख महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका सहप्राध्यापक हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार