सम्झनामा नरबीर बाजे र गिरे घोडा

  नन्दहाङ नेम्बाङ
1k Shares

नन्दहाङ नेम्बाङ

हाम्रा पुर्खा गौनमुखी नेम्बाङका चार छोरामध्ये जेठा चन्द्रसिंह (सुवेदार) का पनि चार भाइ छोराहरू थियो । जसमध्ये माइला छोरा जसपोति (सेरप्रताप) का नाति मनप्रसाद (हर्कबोली) का चारभाई छोराहरूमा तीन भाइ जिवितमध्ये कान्छा हुन नयन्द्रराज (नरवीर) नेम्बाङ अर्थात मेरो बाजे । बाजे नयेन्द्रराज (नरबीर) पिता मनप्रसाद (हर्कबोली) नेम्बाङ र माता पदममाया लोक्तामको कोखबाट वि.स. १९८० साल जेष्ठ २० गते पाँचथरको पौवा हालको फाल्गुनन्द गाउँपालिका ३ मा जन्मनु भएको थियो । तत्कालीन माओवादी द्वन्द्वका कारण हाम्रो परिवार गाउँबाट विस्थापित जस्तै भएका थियौ त्यसबेला हाम्रो पौवाको मुलघर लुटिएको थियो भए भरका सबै नगद, जिन्सी सामानहरू लुटेर लागिएको थियो त्यो बेला बाजे मुल घरमै हुनुहुन्थ्यो बाजेसँग एकजना छिमेकी काका आक्षामे जेठा (बाजेको कारबारिहरु मध्ये एक) पनि सँगै थिए छन् भोलिपल्ट घटनाको सम्पुर्ण विवरण सुनाउनुभयो लुटेरा समुहले “हामीहरू माओवादी हौ” भनेका रहेछन् । यो दु:खद घटना पछि एकाध दाजुभाइ बाहेक हामी झापाको बिर्तामोडमा बस्न थाल्यौं । माइला काका अमरकुमार नेम्बाङको परिवार अमेरिकातिर लाग्नु भयो । साईला काका कृष्णविक्रम नेम्बाङको परिवारहरू काठमाडौंमा बस्न थाल्नुभयो भने बाजे इलामको पिपलवोटेमा बस्न थाल्नु भयो । उहाँले जीवनको उत्तरार्ध त्यहि ठाउँमा बिताउनु भयो ।

केही समयको अन्तराल पछि म बाजेलाई भेट्न भनी पिपलवोटे पुगेको थिए । उहाँसगको भेटघाट, कुराकानी पछि जंगल खर्कतिर घोडालाई दाना नुन दिन जाने सल्लाह भयो । भोलिपल्ट हामीहरू बाजे र म पाँचथरको पौवा भन्ज्याङ तिर लाग्यौं । त्यहा पुग्दा रिता तामाङ घोडालाई दिने नुन, मकैको दाना लिएर हामीलाई कुरेर बस्नु भएको रहेछ । रिता तामाङ साईनोले मेरो बाजे, उहाँले नै खर्कतिरको घोडाहरूको हेरचाह गर्नुहुन्थ्यो । पौवाभन्ज्याङबाट हामीहरू केही उकालो चडेर सुकिया पोखरी पुग्यौं त्यहा केही घोडाहरू चौरमा चरिरहेको थियो । त्यहा भएको सबै घोडाहरूलाई बोलाएर हामीले दाना र नुन खान दियौं । बाजेले प्राय सबै घोडाहरूलाई नामैले बोलाउनु हुँदोरहेछ त्यहा पदमी, श्यामी, भगेरी, सब्जा सानो, टेनी लगायत अरू केही घोडाहरू मात्र रहेछ । अरू घोडाहरू बिखेको लंगुर वा थाम खर्क तिर हुन सक्ने कुरा रिता तामाङले बताउनुभयो । त्यो दिन हामीहरू पाटेनाँगी, नागढुङ्गा, रातनिगाले हुदै गोरूवले भन्ज्याङमा एक फागोको गाईगोठमा बाँस बस्न पुग्यौं । भोलि बिहानै हामीहरू अरू घोडाको खोजीमा निस्किएका थियौ । लेकको घनघोर पट्यारीलो जंगलको बाटो भएकोले मलाई हिड्न सारै गारो भएको थियो । बिखे हुदै थामखर्क पुग्दा त्यहा केही घोडाका बथान भेटिएका थियो । बथानका नजिकै गएर बजेले “गिरे” भन्न साथ एउटा बेसारे डाँगो घोडा बाजेको छेउमा आएको थियो अनि बजेले त्यो घोडाको टाउको र गर्धन सुमसुम्याउदै केही मौन संवाद गरेझैं लाग्यो । त्यो दृश्यले गिरे घोडा र बाजेको मित्रता कति गहिरो छ भन्ने कुरा प्रष्ट हुन्थ्यो । त्यसपछि मकैको दाना र नुन खुवाएर ढाडमा ढाप मार्दै भन्नू भयो “तलाई पछि लिन पठाउँछु, बस्तैगर ।” गिरेले पनि कान, टाउको, पुच्छर हल्लाएर खुसि भए झै गरेको थियो । त्यहाँ अरू घोडाहरू डोमा, बेसारी, पुडी, सब्जाठुलो, गिरेलगायत करिब १५० देखि २०० वटा घोडाहरू रहेछन् । सबैलाई दाना र नुन खान दिएर हामीहरू घर फिर्न लाग्यौं । तर गिरे भने बाजेसँगै पछि लाग्न थाल्यो, “तलाई लिन म आफैं आउँछु” भन्दै बाजेले गिरेलाई जंगलतिर फर्काएको थियो । त्यो दृश्य झनै मर्मस्पर्शी थियो तर गिरेले हामीलाई धेरै तलसम्म पछ्याउँदै थियो । हामीहरू त्यो दिन पुन गोरूवले भन्ज्याङमा पुगेर बास बसेका थियौं । भोलिपल्ट रिता तामाङलाई पौवा भन्ज्याङमै छाडेर बाजे र म पिपलवोटे तर्फ लाग्यौं । बाटोमा मैले रिता बाजेलाई गिरे घोडाको बारेमा सोधेका थिए । उहाँले गिरे घोडाको बारेमा मलाई केही चाखलाग्दो घटना सुनाउनु भएकोले थियो । गिरेलाई बाजेले पिपलवोटे जानुअघि खर्क पुर्याउनु भएको रहेछ । बाजेलाईभन्दा अरू कसैलाई गिरेले चडाउन मान्दैन रहेछ । गिरे ज्यादै तिब्र गतिमा हिड्ने रहेछ । बिहान पौवाबाट हिडेको गिरे ईलाम बजार पुगेर पुन बेलुकी पौवा घरमै पुग्छ भन्दा म छक्क परेको थिए । कहिलेकाही गिरे खर्कबाट एक्लै पौवा मुलघर आउँदो रहेछ त्यहाँ बाजेलाई देखेन भने उ तुरुन्त जंगल तिरै फर्किदो रहेछ ।

वि.स.२०४४ को साउनतिर गिरे घोडा खर्कबाटै हराएको थियो । केही महिनापछि सिलिगुडीको पशुहाटमा भेटिएको थियो । बाजे त्यहाँको पशुहाटमा पुग्दा गिरेले नै बाजेलाई चिनेर उसैले आवाज निकालेर बोलाएको थिएछ । त्यसपछि गिरेलाइ बाजेले घर ल्याएका रहेछन् । केही वर्षपछि बाजेको ईच्छा अनुसार खर्कबाट पिपलवोटेमा गिरे घोडा बेसारे डाँगो ल्याउनु भनी म पौवा राजेश नेम्बाङ (खन्तरे काका) को घरमा पुगे । त्यहाँ कान्छा काका खाओत नेम्बाङसँग पनि भेट भयो । बाजेको कुरा उहाँहरूलाई सुनाए पछि भोलिपल्टै गिरेलाई जंगलबाट ल्याउन भनी हामीहरू राजेश काका, खाओत काका, म र रिता तामाङ केही वर्ष पहिले नै बित्नु भएकोले उहाँको जेठो छोरा तेजबहादुर लगायत हामीहरू खर्कतिर लाग्यौं । दुई दिन लगातार जंगलको बाटो हिडेर बिखेको ठुलो लंगुरमा पुगेका थियौ । हामीले त्यहा ५/६ वटा घोडाहरू भेटेका थियौ । त्यहा गिरे घोडा थिएन । गिरेलाई खोज्ने क्रममा थप एकदिन जंगलमा नै रात काटेका थियौ । ३/४ दिनको जंगलको हिडाई र बसाइँले मलाई भने ज्यादै कष्ट भएको थियो । गोठालाहरूलाई हामीले हाम्रो घोडाको बारेमा सोधेका थियौ । उनिहरूको भनाइ अनुसार माओवादीका सेनाहरूले हाम्रो घोडाहरू समाउन सक्ने जति सबै समातेर लगेका रहेछन् । पक्रन नसकेकाहरू मात्र हामीले त्यहा भेटेका रहेछौं । त्यसपछि त्यहाँ भेटिएका घोडालाई हामीले सुकिया पोखरी नीर छाडेर हामीहरू घरतिर फर्केको थियौं । काकाहरू पौवामा नै रहनु भयो र म पिपलवोटे पुगेर बाजेलाई सम्पूर्ण कुराको जानकारी गराएँ । गिरे हराएको खबरले उनी ज्यादै दु:खी हुनुभयो र केही दिनपछि बाजे निक्कै बिरामी हुनुभएको थियो । केही महिना पछि वि.स. २०६३ साल असार २९ गते बाजेले हामीलाई सदाको लागि छाडेर जानुभयो । उहाँको निधनसँगै गिरेलाई भेट्ने अन्तिम ईच्छा र गिरेले पनि बाजेलाई भेटने ईच्छा अधुरै भएको रह्यो । गिरेलाई माओवादीका सेनाले नलगेको भए उ पनि आजसम्म हाम्रो परिवारको सदस्यको रूपमा हुने थियो । अन्तमा उसलाई हामी बाजेकै स्थानमा ससम्मान सदगद गर्ने थियौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार