ह्याङ्गओभर : मैले बोल्दा देशको नक्सा हल्लिन्छ

  अन्वेश थुलुङ राई
7 Shares

अन्वेश थुलुङ राई

डिस्केल्मर : यो लेख पढ्न भन्दा अगाडी मैले भन्ने कुराहरुमा मैले आफैँलाई समीक्षकको रुपबाट मानेको छुइन । नमानीदिनुहोला । पाठकको रुपमा स्थापित भए पनि गम्भीर पाठक चाहँदा चहँदै पनि बन्न सकेको छैन । नसोचिदिनुहोला । यसलाई मैले पढिसकेपछिको ह्याङ्गओभर मानेको छु । चियर्स । यसमा कतिपय कुरा विरोधाभाष, असन्तोषपुर्ण, अपुर्ण र पुर्वाग्राही हुनसक्नेछन् । नियोजित नरहेको जानकारी गराउन चाहन्छु । बुझिदिनुहोला ।

पाठकको पढ्नुको पनि आ–आफ्नै व्यक्तिगत फिलोसफि हुन्छ क्यार । यस मानेमा पाठक हुनुको एउटा दादागिरी चैँ के भने कसैको रचना मन नपराउनु पनि पाइन्छ । जति सुकै मेहनत गरेको भए नी बाल नदिनु पाइन्छ । यद्यपी यतिमाझ पनि एउटा बाघी विचार आफैँभित्र अस्तीत्वमा रहिरहनुभने पर्छ । कुनै दिन मन नपर्दा नपर्दै पनि बुझेर मन पर्न सक्छ । बुझेर आपत्ति हुन सक्दछ । जिन्दगी भर हामी यात्रामा न हुने हौँ । जीवनको यात्रासँगै वैचारिक रुपान्तरण हुन सक्दैन भन्न सकिँदैन ।

नाइजेरियाली मुलका लेखक चिनुवा अचिवेको पुस्तक थिङ्गस फल अपार्टको विषयमा बियि बान्डेल परिचयमा पाठकहरुलाई लक्ष्य गरेर लेख्छन्, ‘‘अचिवेका पात्रहरु मानिसजस्ता लाग्दैन लाग्नलाई हाम्रा अनुमति माग्दैनन्, उनीहरु आफैँमा जटिल हुनका लागि हामीसँग माफी माग्दैनन् । (वा अफ्रिकी, मानव भएका लागि वा पृथक बाँचेकै कारणले ।) (अनुवादित (हष्))’’ धमेन्द्र (नेम्बाङ्ग) दाइको मैले बोल्दा देशको नक्सा हल्लिन्छको सम्बन्धमा पनि वहाँले नलेखे पनि कताकता अनुभुत हुने पाठकप्रतिको मौन डिस्क्लेमर चैँ यस्तै छ ।

धेरै आसैत दिमाग त परै जाओस्, पढ्छु भन्ने मानिसहरुको लागि पनि वहाँको कविता दोहो¥याएर पढ्न पर्ने खालका छन् । उदाहरणको लागि वहाँ आफ्नो ‘हावाको पृथ्वी’ र ‘सृष्टिको प्रथम व्यक्ति मुजिङना खेयोङनाको गीत’मा लेख्नुहुन्छ :
(नोटः हावाको पृथ्वी कवितामा हावाको बेलगामलाई बुझाउन कमा, पुर्णविराम प्रयोग गरिएको छैन । (खे.) (६१)…(नोटः यो कविता मुन्धुमा वर्णित सृष्टिको प्रथम व्यक्तिले संवाद गरेका हुन् । तसर्थ त्यो समयको अस्पष्टतालाई जनाउन कमा, पूर्णविरामको प्रयोग गरिएको छैन (खे.) (६४)

कतिपय फिल्महरुको ट्रेलर नै काफि हुन्छ । संरचना निर्माणको हिसाबले यी कविताहरु सामान्य छैनन् । गम्भीर छन् । भाषाको निर्माणको कुरामा, जब संरचनावादीहरुले ‘बाइनरी अपोजिसन’को कुरा गरे त्यहि कुरा विनिर्माणवादको लागि सन्देह रह्यो र उनीहरुले प्रश्न गरे । नारीवादीहरुले ‘बाइनरी अपोजिसन’लाई विभेदको एक कारण देखे । बाइनरी अपोजिसनको ‘विनर टेक्स अल’वाला मेन्टालिटि उनीहरुको लागि सह्य थिएन । हिजोको दिनमा हामीले सामान्य जीवनमै प्रयोग गर्ने अन्धो, बहिरो, बोक्सी, वेश्या आदि जस्ता शब्द आजकल राजनैतिक रुपबाट ‘पोलिटिकल्ली इनकरेक्ट’ भइसकेका छन् । यति रुपान्तरण सजिलै आएको हैन । आउनलाई हामीले प्रयोग गर्ने भाषामाथि प्रश्न गरियो र त्यसको कारणले आए ।

तर मैले बोल्दा देशको नक्सा हल्लिन्छ कविता संग्रहको प्रयोगहरु भने ‘पोलिटिकल्ली’ भन्दा ‘पोयटिकल्ली’ प्रयोग गरिएका छन् । कविताभित्र संरचनाको हिसाबबाट ‘हावाको बेलगामता’को परिकल्पना गर्नु आफैँमा नवीन कुरा भने अवश्य हो । अलोचना समर्थन आफ्नो ठाउँमा हुनसक्छ । यसमा कानुनले देको आफुले पाको विचार राख्न पाउने वैचारिक स्वतन्त्रताको अधिकार छ । यद्यपी भाषाको सम्भावना माथि प्रयोग र खोज गर्ने कुरालाई चैँ डिस्कोर्समा राख्न सकिन्छ । प्रयोगको पक्षमै हामी फेरी अर्का उदाहरण ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कवितालाई लिन सक्छौँ :

अहिलेलाई।म।पनि।त्यहीँ।फ्रिज।भइदिनु। (१०६)
सामान्यता पुर्णविरामको प्रयोग कुनै वाक्य पुरा भएको जनाउनलाई गरिन्छ । आफैँमा हरेक शब्दलाई पुर्णविरामले ‘ब्लक’ (छेकिएको) गराएको छ÷बनाएको छ । हुनसक्छ शब्दहरुलाई फ्रिज गराउने परिकल्पनामा शब्दको तरल गुणलाई पुर्णविरामको प्रयोगले ठोस गुणमा रुपान्तरण गर्न खोजिएको हो । यस्तै रङ्गगत्ताको भान (११२–११५) मा बराबरको प्रयोग कविता हामीले गर्ने गणितको कुनै हिसाबको एलएचएस बराबर आरएचएस जस्तो लाग्छ । पछिल्लो समयमा नेपाली कविताहरुमा क्राफ्टलाई लिएर ‘केहि नयाँ आएन ।’ भन्ने आरोपलाई यो कविता संग्रह राम्रै अध्ययनको विषय बन्न सक्छ । यसमा सहमति, विमती, स्वीकृति, आपत्ति भन्ने कुरा चैँ फेरी पनि नेपाली साहित्यले एकपटक गम्भीर डिस्कोर्स गरेको राम्रो ।

प्रकाश (थाम्सुहाङ्ग) दाइको भेटमा स्टेफेन हकिङ्गको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम र धमेन्द्र दाइ अविस्मरणीय नै भएछ (हेर्नुहोस्, असार १४, २०७६ मा कान्तिपुर कोसेलीमा प्रकाशित एक भाइरस कवि) । दाइको कम बोल्ने बानीको विषयमा जानकार भने अवश्य छु÷थिएँ तर कविताहरु पढिसकेपछि खोलाको उखान जस्तै ‘‘गहिरो नदिहरु आवाज गर्दैनन् ।’’ नै रैछ । स्वीकारेँ ।

कविता आफैँमा एक विचार पनि हो । आफ्नो कवितासँग कवि सहमत नै भएको हुन्छ प्रायः । सन्तुष्ट नै भएको हुन्छ प्रायः । लेख्दै जाँदा पटक पटकको पुर्नलेखनहरुमा हदभन्दा हद गरेर आफ्नो असन्तुष्टीहरुलाई शब्दबाट÷भित्र मेटाउन खोजिन्छ । यसको एक कारण कवितामा कविले आफैँलाई बोध गर्ने कुराले गर्दा पनि हुनसक्छ । यहि कारणले पनि होला संग्रहका धेरै कवितामा वहाँको शालिन स्वभावलाई पाउन सकिन्छ । सेतो खुनको कवितालाई हेरौँ :

एउटा नाराको तयार पार्र्दै
शासक जाति या वर्गले भने–
रगत सप्पैको रातो हुन्छ
रातो रगत हुनेले यो कागतमा सहि गर्नू ।
मलाई पनि त्यहि नाराको समर्थनमा
रातो खुनले हस्ताक्षर गर्न भने
। यो कागजमा मेरो समर्थन छैन । (४२)

‘रगत’ त्यो पनि ‘रातो, यो आफैँमा क्रान्तिको विम्ब मानेर आएका हौँ हामीले । हामी मानिसहरु सबै एकै हौँ भन्ने भावमा धेरैपटक उत्पिडितहरुको आवाजले सम्भ्रान्त वर्गलाई यहि विम्बबाट प्रश्न गरेकै हो । तर यति हुँदा हुँदै पनि हाम्रो भिन्नताहरुलाई हामीले नजरअन्दाज कसरी गर्न सक्छौँ । को ठूलो को सानो भन्ने वर्गिय चिन्तनको सवाल अलग कुरा हुनसक्छ । जातिय छुवाछुतको विषयमा यो सान्दर्भिक विषय होला । तर हामीमाझ विद्यमान सांस्कृतिक अनेकता, भाषिक विभिन्नताहरुलाई नजर अन्दाज गर्दै सबलाई एकै (जाति) मात्र मान्न सकिन्न । रातो रगतलाई ‘मिसयुज’ गरेर ‘इमोसनल ब्लाकमेलिङ्ग’ गरिएको सन्दर्भमा वहाँको प्रतिवादात्मक कविताको शालिन विद्रोह आभाष गर्न सकिन्छ । सोहि कवितामा वहाँ फेरी लेख्नुहुन्छ :
उनीहरुले भाषाको महलमा एउटै हुन्छ भनेर भाष खोसे
तिनीहरुको भाषा जबरजस्ती कोच्याएर गए
उनीहरुले धर्मको महलमा एउटै हुन्छ भनेर धर्म खोसे
तिनीहरुको धर्म जबरजस्ती कोच्याएर गए ।
तिनीहरुले संस्कृतिको महलमा एउटै हुन्छ भनेर संस्कृति खोसे
तिनीहरुको संस्कार जबरजस्ती कोचेर गए ।
तिनीहरुले राजनीतिको महलमा एउटै हुन्छ भनेर स्वतन्त्रता खोसे
तिनीहरुको निरङ्कुशता जबरजस्ती कोचेर गए । (४३)
सांस्कृतिक रुपबाट एकै संस्कृति बनाउने नाममा, भाषाहरुलाई एकै बनाउने नाममा अन्य संस्कृतिहरुलाई अन्याय गरिएकै हो । नागरिक बनाउने नाममा ‘अन्यकरण’ भएको कुरालाई शालिन रुपबाट वहाँ विद्रोही चेतलाई सेतो खुनबाट प्रस्तुत गर्नुहुन्छ । यद्यपी कविताहरु विद्रोही भएर पनि आक्रमक (एग्रेसिभ) भन्दा बढि विपरित डिफेन्सिभ लाग्छन् ।

कवितामा प्रयोग हुने भाषाहरुको स्वर (टोन) को विषयमा कुरा गर्दा शब्द चयनलाई पृथक पाउन सकिन्छ जस्तो उदाहरणका लागि ‘साल्दाइको निधन’ कविताबाट :
म सोच्दछु कि इतिहासको पाठक भएर
इतिहासका गल्तीहरु त्यही बिन्दुबाट सच्याउन पाए
घटनाहरु त्यही दिनबाट सच्याउन पाए
समयका छिद्रहरु त्यही बारहरुबाट टाल्न पाए
यही मिनेटबाट क्रान्तिकारी बन्न पाए
सामूहिक भाग्यका लागि लडिदिन पाए
पाकेटमार सिद्धान्तका उपभोक्ताहरु लडाउन पाए
यो मैले नसकेका घटनाहरु हुनु । (३४)

मानिस आफैँमा सम्झनाहरुको संग्रहालय नै हुनुपर्छ । इतिहासको साक्षी हुनुपर्छ । कवितामा प्रयोग गरिएका हुनु गर्नु जस्ता शब्दहरुले वर्तमानको लाचारीहरुलाई इङ्कित गरेजस्र्तै लाग्छ । आफैँ गुज्रिसकेको इतिहासको कुनै पाटालाई सच्याउने अभिष्टाले भरिएका कल्पनाहरु जब वर्तमानमा आउँछन् तब ती हुनु, गर्नु जस्ता शब्दमा अन्त्य भएजस्तो सुनिन्छन् । जो आफैँमा एक असन्तुष्ट अनि बदल्न नसकिएको लाचार वर्तमान जस्ता महशुष हुन्छन् । सोहि स्वरलाई फेरी उँद्यौली यामको कथामा नियाल्दा :
अब मैले छ हिँड्नु
अब मैले छ बोल्नु
अब मैले छ लाग्नु
उत्पतिवालाहरु भन्छन्–
भन्छन् सास लगाइदिएको न हो
यसरी फिर्ता लिन पनि सकिन्छ
आँधी छिमेकी घरमा आइपुगेर बस्नु
साथीको जीउमा भूकम्प आइपुगेर बस्नु
श्रीमतीको मनमा ज्वालामुखी आइपुगेर बस्नु (५७)
कविताभित्र सुनिने आवाज आफैँमा नोस्टाल्जिक लाग्छन् । सम्झना भएर अनुभुति हुनु स्वाभाविक हो यद्यपी ती सम्झनाहरु नोस्टाल्जिक हुनु आफैँमा कतै लाचारी जस्ता पनि महशुष हुन्छन् । धेर्रै कविताहरुमा यी कुरालाई महशुष गर्न सकिन्छ ।

बाल्यकालमा जब हामीलाई इतिहासको अध्ययन गराइन्थ्यो तब हामी कल्पनै कल्पनामा नालापानीमा बलभद्र कुँवरलाई शक्तिमान बनेर सघाइरहेका हुन्थ्यौँ । जुनियर जी बनेर सीमामा लडिरहेको हुन्थ्यौँ भक्ति थापासँगै । हुर्कदैँ जाँदा हामीले बुझेको वास्तविकताले हाम्रो कल्पनालाई ध्वस्त बनाकै हो । यद्यपी एउटा वयस्क दिमागमा कल्पनाहरुले फेरी पनि यहाँ स्थान पाएको छ । यदि इतिहासलाई सच्याउन पाए हामी के गथ्र्यौँ होला ? वहाँ मैले बोल्दा देशको नक्सा हल्लिन्छ कविताको टिप्पणीमा लेख्नुहुन्छ :
…यदि म जङ्गबहादुर भएको भए
शक्तिको विकेन्द्रीकरण गरेर सत्ता सञ्चालन गर्थेँ
देशलाई निर्वाचन प्रक्रियामा पु¥याउने थिएँ
राजगद्दी उत्तराधिकारी चरम विवादको व्याख्या गर्थेँ
गणतन्त्रको घोषणा गर्ने थिएँ
ढुकुटीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योगमा प्रयोग गर्ने थिएँ । (१०२ )

इतिहासमा विभिन्न महत्पुर्ण कालखण्डहरुमा भएका आन्तरिक तथा बाह्य राजनितिमा नमिलेका शासन व्यवस्थाहरु अनि बुझ्न नसकिएका कुटनैतिक दुरदर्शिताहरुलाई कवितामा टिप्पणीको रुपबाट राखिएको छ । इतिहासका ती पाटाहरु मात्र हैन उहाँ मुन्धुमभित्र पनि परिकल्पना गर्नुहुन्छ । ‘सृष्टिको प्रथम व्यक्ति मुजिङना खेयाङनाको गीत’मा सोहि परिकल्पनाको छनक देखिन्छ :
उहिले–उहिले
यो चराचर जगतमा केहि थिएन

कुनै देश थिएन कुनै जाति थिएन

शासन–सत्ता व्यवस्था थिएन (६२–६४)
माक्र्सको कल्पनामा धेरै पहिले जुनबेला मानिसहरुको विकास सुरुवाती चरणमा थियो । जुनबेला मुद्राहरुको विकास भएको थिएन । मानिसहरु नाङ्गा हिँड्ने त्यो प्राचिन बेला वर्गविहीन समाज थियो भन्छन् । यो कविता संग्रहका कविताहरुमा दर्शनहरुलाई नजर अन्दाज गर्न सकिँदैन । ‘सृष्टिको प्रथम व्यक्ति मुजिङना खेयोङनाको गीत’मा माक्र्सको त्यहि प्राचिन वर्गविहीन समाजको छनक पाउन सकिन्छ । सोहि कुरालाई लम्ब्याउँदै जाँदा ‘म छु १ जना कविता’मा वहाँ लेख्नुहुन्छ :
तीहरुले सोच्ने कोटा दिन्छन्
ग्रामर सिकाउने नाँउमा
अल्फाबेट सिकाउने नाउँमा
अनुशासन सिकाउने नाउँमा
ती गुरुहरुले आफ्नो विचार रटाउँछन्
विचारको ठेक्कापट्टा गरेका छन् । गर्दै छन् । (७६)

ओशो रजनिश भन्छन् । ‘गरिब मानिसहरुको जन्म÷निर्माण, धनी मान्छेहरुको पापमोचनको लागि भएको हो ।’ विचार आफैँमा एक शासन नै हो । हामीले मान्ने माक्र्सवाद, पुँजीवाद, समाजवाद, धर्मवाद, शुन्यवाद जेसुकै हुन्, विचारहरुले हामीलाई हजारौँ वर्षदेखि शासन गर्दै आएका छन् । यसको शक्ति कति हुन्छ भने अन्य सभ्यताहरुको पृथकतालाई नस्वीकारेकै कारण पश्चिमाहरुले हामीलाई सभ्य र असभ्यमा बाँडिदिए । पुर्वीय र पश्चिमामा बाँडिदिए । वर्ग, केन्द्र, मोफसल, मुलधार, सीमान्तकृतमा बाँडिदिए । वैचारिक रुपबाट उनीहरुले हाम्रो दिमागमा उनीहरु स्वयमलाई सभ्यताको मानक बनाइदिए । त्यहि भएर पनि होला हाम्रो लागि अझै पनि चिसो भनेकै कोकाकोला हुन्छ । सुन्दर भनेको सेतो हो । र यो कुरा कति महत्वपुर्ण छ भन्ने कुरामा पछिल्लो चरण सोच भन्ने भारतीय युट्युब च्यानलले भारत किन धेरै शाकाहारी छन् भन्ने कुराको रिसर्च गरेको थियो जसको कारणहरुमध्ये एक कारण थियो राजनैतिक रुपबाट तथाकथित उच्च जातका शाकाहारी हिन्दुहरु शासनमा हुनु । विचारहरु कसले सञ्चालन गरेका छन् भन्ने कुराले मानिस (जनता,नागरिक,शरणर्थी,आदि) हरुको जीवनमा ज्यादै ठूलो प्रभाव पार्छ । यद्यपी १ जना १ जना मात्र हुन सक्दैन । ‘लिम्बूवान गाउँ’मा वहाँ पोखिएको कुरालाई नियाल्दा :
जीवन भनेको अलिअलि इतिहास हो
जीवन भनेको अलिअलि संस्कृति हो
जीवन भनेको अलिअलि सभ्यता हो
जीवन भनेको अलिअलि माटो हो
जीवन भनेको अलिअलि पर्यावरण हो । (१२)

रुसोको एकदमै प्रख्यात भनाइ छ । ‘‘मेन इज वर्न फ्रि बट एभ्रीवेर हि इज इन चेन्स ।’’ डा.कन्हैया कुमारका अनुसार, ‘‘हामी जन्मने बित्तिकै हाम्रो संस्कृति अनुसार हाम्रो स्वागत हुन्छ । हाम्रो नामाकरण हुन्छ । जन्मदर्ता हुन्छ । हामी जन्मेसँगै राजनिति सुरु भइसकेको हुन्छ ।’’ कविताभित्र ‘अलिअलि’ भित्र लुकेको पहिचानको आवाज आफैँमा गहिरा दर्शन हुन् जस्ता अनुभुत हुन्छन् । नित्सेले भन्ने गरेको मानविय चेतको कुरा होस् या सिसिफसको लोककथा या मिसेल फुकोको चिन्तनमा बनेको इतिहास या डार्विनको न्यचुरालिज्म । विभिन्न वादहरुको चिन्तन आफैँमा कविताभित्रका यी दर्शनशास्त्रको पाटो कविता आफैँमा इन्द्रेणी बनेको चैँ मान्न सकिन्छ ।
लेख्दै जाँदा लामो हुनसक्छ । तथापी हरेक कविता आफैँमा मास्टारप्रोजेक्ट जस्तै लाग्छन् । आफैँमा कुनै चिन्तक जस्तै लाग्छन् । राजन (मुकारुङ्ग) दाइको ‘पेलेर लेख्ने’ कुरा आरोप हो वा विशेषण त्यो वहाँहरु नै जान्नुहोला । पाठकले अनुभुत गर्ने कुरा पनि व्यक्तिगत नै रहला तर ‘कवितामा केहि नयाँ आएन’ भन्नेहरुको लागि ‘गम्भीर कविता पढ्न पाइएन’ भन्नेहरुको लागि यो कविता संग्रह एकदम उत्तम हुनसक्छ ।

अन्त्यमा, वहाँको कविताले देशको नक्सा हल्लियो हल्लिएन त्यो पनि वहाँ नै जान्नुहोला तर पाठकको मथिङ्गल चैँ एकपटक हल्लिन्छ नै । चाहे त्यो वैचारिक चेतको रुपबाट होस् वा संरचनात्मक गम्भीरतामा वा होस् ‘प्रिय सोल्टिनी’सँगको नोस्टाल्जिक रोमान्स । देब्रे हातको घडी कि त प्रिय सोल्टिनीसँगै अर्को चियर्सको कुरा त छदैँ छः
साँझपख एक्लो म छक्क पर्दै छु
आजको दैनिकीमा मसँग को थियो हँ
मेरो हातको घडी या प्रिय सोल्टिनी । (११)
यो सोल्टिनीलाई भेट्ने अभिष्टा चहिँ कहिँ कता ताजै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार