माङसेबुङको गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगिता सुरु

गुरुङगाउँ : दिपावलीको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय फाल्गुनन्द विकास संस्थाको आयोजनामा विहीबार सुरु भएको प्रतियोगिताको उद्घाटनमा ४ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जेवाईसी मान्द्रे, सिङलाबु ए, मानपुर एफसी बी र आयोजक फाल्गुनन्द विकास संस्था ए विजयी भए ।

पहिलो खेलमा माङसेबुङ २ लाई ४–० ले पराजित गर्दै जेवाईसी, दोश्रो खेलमा मानपुर एफसी ए लाई २–० ले पराजित गर्दै सिलाबु ए र तेश्रो खेलमा सुनुयुमा विकास संस्था माङसेबुङ २ लाई ४–ले पराजित गर्दै मानपुर एफसी बी विजेता बन्यो । त्यस्तै चौथो तथा अन्तिम खेलमा कुरुम्बा निर्धारित समयमा उपस्थित नभएपछि आयोजक ए विजेता घोषित भएको थियो ।

शुक्रबार खेल स्थगित गरिएको प्रतियोगिता अन्तरगत शनिबार ५ खेल संचालन हुनेछन् । पहिलो खेलमा गैरीगाउँ ए र सिक्तेम्बा ए, दोश्रो खेलमा गैरीगाउँ बी र केराबारी, तेश्रो खेलमा अक्कर र साविक बाँझो ७, चौथो खेलमा भोटेडाँडा र सिक्तेम्बा वी तथा अन्तिम खेलमा सिङलाबु बी र आयोजक बी बीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले समेत मेडल र प्रमाणपत्र पाउनेछन् । ३० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न ३२ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिता स्थानीय गुरुङगाउँ खेलमैदानमा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार