रोनाल्डोले अवसर गुमाउँदा पोर्चुगल समूह विजेता बन्न सकेन, अन्तिम १६ मा उरुग्वेसँग भिड्ने

काठमाडौं  : रुसमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा पोर्चुगल समूह ‘बी’को विजेता हुनबाट चुकेको छ ।

सोमबार मध्यराति भएको खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अब उसले समूह ‘ए’को विजेता उरुग्वेसँगको भेट पक्का गरेको छ ।

खेलको ४५ औं मिनेटमा पोर्चुलका रिकार्डो करिश्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा पाएको पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहारलाई इरानका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

९३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई इरानका करिम अन्सारफार्डले गोलमा परिणत गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । अर्को खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको स्पेन समुह विजेता बनेको छ, र अन्तिम १६ मा रसियासँगको भेट पक्का गरेको छ ।

पोर्चगुल र स्पेनले समान पाँच अंक जोडेपनि गोल अन्तरका आधारमा स्पेन समुह विजेता बनेको हो । पोर्चुगलले पहिलो खेल स्पेनसँग ३–३ को बराबरी खेलको थियो भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । पोर्चुगलसँग बराबरीमा रोकिएको इरानले भने चार अंक जोडेपनि अघिल्लो चरण प्रवेश गर्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार