आदिवासी नेताहरुले अब एमालेमा बिद्रोह गर्छौ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं : नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीले आदिवासीहरुलाई पहिचान र प्रतिनिधित्व पनि नदिने, पिडा र अपमान मात्रै दिने हो भने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

आदिवासी जनजातिहरुलाई एमालेले अति पिडा र अपमान गरिरहे मान्छेले पार्टी पर्खेर नबस्ने उनले बताए । ‘सडकमा प्रहरीको पिटाइ र पानीको फोहोरा खादै आन्दोलन गर्नु आदिवासीहरुको रहर हो र ? साच्चै हामी आदिवासीहरुलाई धेरै जिस्क्यायो भने मान्छे पार्टी भनेर बस्दैन,’ श्रेष्ठले भने, ‘अति पिडा दियो र अति अपमान भयो भने आखिर राजेन्द्र श्रेष्ठ त एमाले छोडेर भाग्यो नि, मलाईचाहिँ ए कृष्णगोपाल तिमी कसरी सास फेरेर एमालेमा बसेको छौ भन्छन् ।’

उनले प्रदेश १ मा राई लिम्बूकै बच्चो मुख्यमन्त्री हुनुपर्नेमा पार्टीभित्र अनावश्यक विवाद गरिएको र भोटिङ गर्नुपर्ने अवस्था सिर्जना भएको स्मरण गरे ।

शेरधन राईले प्रदेश १ मा पनि मुख्यमन्त्री नपाए कुन प्रदेशमा पाउँछ ? भन्दै उनले प्रश्न समेत गरे । प्रदेश २ मा जुन समुदायको व्यक्ति मुख्यमन्त्री भए त्यो एकदम ठीक भएको उनले बताए ।

प्रदेश ३ मा नेवार समुदायबाट मुख्यमन्त्री हुनुपर्ने र सोका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष अष्टलक्ष्मी शाक्य केन्द्रमा नगएर प्रदेश सांसदमा उठेको तर एमालेभित्रै विवाद गरी शाक्यलाई मुख्यमन्त्री हुन नदिइएकोमा उनले पार्टीको आलोचना गरे ।

‘अष्टलक्ष्मी शाक्य जुन गुटमा भए पनि इतिहास, त्याग, तपस्या, पार्टीको वरिष्ठ उपाध्यक्ष हरेक कोणबाट केन्द्रमा नउठी प्रदेशमा उठेपछि प्रदेश सांसद मात्रै बन्न उठेको होइन होला । अनि प्रदेश ५ मा सर्वसम्मत गर्न सक्ने, प्रदेश ४ मा सर्वसम्मत गर्न सक्ने, प्रदेश ३ र प्रदेश १ मा चाहिँ सर्वसम्मत गर्न नसक्ने ?,’ प्रतिनिधिसभा सदस्य समेत रहेका नेता श्रेष्ठले भने, ‘धन्न प्रदेश १ मा राईको बच्चोले जित्यो । त्यहाँ पनि खुस्केको भए विद्रोह हुन्थ्यो ।’

उनले वर्तमान सरकारमा नेवार समुदायबाट प्रतिनिधित्व नै नभएकोमा आलोचना गरे । किरात रार्इ यायाेक्खाले प्रदेश १ लार्इ किरात प्रदेश नामाकरण गर्न माग गर्दै श्रेष्ठमार्फत एमाले अध्यक्ष केपी अाेलीलार्इ अाधारपत्र बुझाउदाखेरि श्रेष्ठले विद्राेह हुन सक्ने चेतावनी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार