आजदेखि आत्मानन्द गोल्डकप सुरु हुँदै

फाइल तस्विर

राम योङहाङ

इलाम : इलामको माङ्सेबुङमा आजदेखि ‘आत्मानन्द रनिङ गोल्डकप’ सञ्चालन हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको १० औं संस्करणको केही समयपछि उद्घाटन हुँदैछ ।

प्रतियोगितामा पूर्वका इलाम, झापा, पाँचथर, मोरङ र सुनसरीका चर्चित आठ टीमको सहभागिता रहने निश्चित भएको आयोजक किरात धर्म खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा सप्तकोशी फूटबल क्लब सुनसरी, रेडहर्ष क्लब इलाम, लेटाङ फूटबल क्लब मोरङ, सगरमाथा क्लब मोरङ, सर्वोत्तममुखी यासोक, एएफसी अर्जुनधारा, एपीएफ झापा र विविएफसी दमकको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद एक लाख पाँच हजार ६४ र उपविजेता टिमले ७५ हजार ६४ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । स्थानीय माङसेबुङ खेलमैदानमा हुने प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेन लिङदेनको ६४ औँ जन्मोत्सवको अवसरमा १८ मसिंरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सहभागि टिमलाई आयोजकले खान र बस्नका लागि आयोजकले व्यवस्था मिलाएको जनाईएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख खर्च लाग्नेछ । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा रहेको माङसेबुङमा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा ०६५ देखि बर्सेनि गोल्डकप सञ्चालन हुँदै आएको छ । लिङदेनको जन्मोत्सवमा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिस, पार्टीका नेता तथा मन्त्रीहरुको उपस्थिती रहने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार