किराँती पर्व साकेला

भिम राई

sakellaकिरात समुदायले मनाउँदै आएको साकेला अर्थात सुम्निमाले सृष्टिको सुरुवात समयकोे दिनलाई स्मरण गरी मनाइने पर्व हो । यसलाई किरात समुदायमा सांस्कृतिक महोत्सवको रूपमा मनाउने गरिएको छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिदै आएको पाइन्छ । उभौली अथवा उधौली गरेर मनाइने साकेला चाडमा किरात समुदायमा आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् ।

कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेँलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत–राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । दिन लामो हुन थालेको दिन अर्थात् पूर्णिमादेखि यो चाड सुरू हुन्छ ।

खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ । हातखुट्टाको चाल हाउभाउद्वारा पंक्तिबद्ध रूपमा जीवजनावरको नक्कल गरी ढोल–झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो । किरात राईहरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

उधौली र उभौलिमा ढोल र झ्याम्टाको तालमा किरात बाहुल्य क्षेत्रमा एक स्वर तालमा नाचिने यो पर्वको विशेष महत्व रहेको छ ।

सोई ढोले सोई, अर्को ढोले

खोई ? …..

नयाँ अन्नबाली लगाउने बेला प्राकृतिक प्रकोप नहोस्, अन्नबाली सप्रियोस् भने जिमी भूमि, हावापानीजस्ता प्रकृतिको पूजा गरी धुमधामसँग १५ दिन साकेला नाच्ने चलन छ । तर, पछिल्लो वर्षहरुमा भने राईहरुले पहिचान र अधिकारको लागि किरात राज्य खोइ ? भन्दै साकेला नाचिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार