काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरेका छन् ।
दशरथ रंगशालामा आइतबार पार्टी घोषणासभालाई सम्बोधन गर्दै भट्टराईले आफूहरु कुनै पनि राजनीतिक दलको भाग खोज्न नआएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठट्यौली शैलीमा एमालेबाहेकलाई धक्का दिन सक्दैन भन्नुभयो,’ भट्टराईले भने, ‘हामी आफ्ना एजेन्डा प्रस्तुत गर्छौं, कसैविरुद्ध लाग्दैनौं ।’
भट्टराईले आफू प्रधानमन्त्री भइसकेकाले पुन: कार्यकारी पदमा पुग्न सोच नभएको उल्लेख गरे । ‘प्रधानमन्त्रीभन्दा अर्को ठूलो कार्यकारी पद छैन,’ उनले भने, ‘मेरै जीवनकालमा २५ वर्षभित्र संसारको धनी देश बनाउन सक्छु भन्ने अठोट छ ।’ उनले विकास समृद्धिका लागि आफूसँग सोच रहेको बताउँदै भने, ‘इन्जिनियर पनि हुँ, मैले अप्रत्यक्षरुपमा धेरैको घर बनाएको छु, म अरुको घरको नक्सा बनाउँछु तर मेरो घरको नक्सा बनाउने छैन ।’
भट्टराईले आफ्नो बाँकी जीवन युवा पुस्ताका लागि खर्च गर्ने बताउँदै त्यसो भन्नु अपराध नभएको उल्लेख गरे । नेपालको ठूलो युवा जनशक्ति विदेशिएको बताउँदै भट्टराईले सक्रिय जनशक्तिलाई देशभित्रै रोजगारी दिन सकिने धारणा राखे ।
नेपालमा ७० वर्षसम्म भएका लोकतान्त्रिक आन्दोलनले घर निर्माण भएको बताउँदै भट्टराईले आफू नेतृत्वको वैकल्पिक राजनीतिक शक्तिले आर्थिक विकास र समृद्धिको भित्ता र छानो बनाउने बताए ।
नेपालमा अर्को थप पार्टीमात्र थप्न नगएको उल्लेख गर्दै भट्टराईले नयाँ संस्कारसहितको वैकल्पिक शक्ति निर्माण गर्न चाहेको बताए ।
उनले नेपालमा अहिलेसम्म चार पाँच जना बसेर पाटी घोषणा गर्ने परिपाटी त्याग्दै ५० औं हजारले शपथ गरेर पार्टी घोषणा गरिएको विश्वमै दुर्लभ रहेको जिकिर गरे ।
भट्टराईले जनयुद्धमा भएका घटनाको जिम्मेवारी पनि लिने उल्लेख गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट हुने निर्णय र फैसला आफूलाई मान्य हुने बताए ।
-इकान्तिपुरबाट



















































