नयाँ बुलन्द
सुनसरी : संघीय समाजवादी फोरम नेपालमा नेपाली कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिक परित्याग गरी सुनसरीका सयौं नेता तथा कार्यकर्ता शनिवार प्रवेश गरेका छन् । सरकारमा रहेका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका प्रभावशाली नेता सबिता यादवसहित सुनसरीका नेताहरुको एउटा ठूलो समूह फोरम नेपाल प्रवेश गरेको हो । फोरम लोकतान्त्रिकका नेता यादव, जिल्ला सदस्य रामनारायण पौदार लगायतका नेताहरु नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी परित्याग गरी फोरम नेपालसँग जोडिएपछि सुनसरीमा उसको वर्चश्व स्थापित भएको छ । विजय गच्छदारले आन्दोलन विरुद्ध तथानाम बोल्दै हिडेपछि रुष्ट बनेका नेता कार्यकर्ताहरुले फोरम लोकतान्त्रिक परित्याग गरेका हुन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिकले सत्ता स्वार्थमा लागेर थारु, मधेशी र आदिवासी जनजातिको नाममा विकृत राजनीति गरेको आरोप लगाउँदै उनीहरु फोरम नेपाल प्रवेश गरे । जिल्लाका प्रभावशाली एवं लोकप्रिय नेताहरुको प्रवेशसँग सुनसरीमा फोरम लोकतान्त्रिकको प्रभाव सून्य भएको छ । संघीय गठबन्धनको नेतृत्वमा पहिचान र अधिकारको लागी जारी आन्दोलनमा सक्रिय योगदान दिन फोरम लोकतान्त्रिक लगायत पुरानो पार्टी परित्याग गरेको नवप्रवेशी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रायः हरेक सरकारमा मन्त्री बन्ने गरेका गच्छदारले थारु र मधेशीको एजेन्डासँग खेलवाड गर्दै उत्पीडित जनताको सहभागितामा जारी आन्दोलन विरुद्ध तथानाम बोल्दै हिड्ने र सरकारको गोटी बनेकोले पार्टी परित्याग गरेको फोरम लोकतान्त्रिकका प्रभावशाली नेता सबिता यादवले बताईन् । यसअघि पनि दर्जनौं जिल्लामा सिङ्गो जिल्ला कार्यसमिति नै भंग गरेर फोरम लोकतान्त्रिक परित्याग गरी गच्छदारका प्रभावशाली नेताहरु फोरम नेपाल प्रवेश गरिसकेका छन् ।
सुनसरीको लौकहीमा आयोजित एक समारोहमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेश नेता तथा कार्यकर्ताहरुलाई फूलमाला सहित स्वागत गर्दै बधाई दिएका छन् । अध्यक्ष यादवले त्रुटिपूर्ण संविधान सच्याउन संविधान पुनर्लेखनका लागि पहिचान र संघीयता पक्षधर शक्तिहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।



















































