
इलाम : स्थानीय निकायको पुर्नसंरचना हुँदा इलाममा आठ वटामात्र स्थानीय तह हुने भएको छ ।
राज्य पुर्नसंरचना आयोगले इलामका ४३ वटा गाविस र तीन वटा नगरपालिकालाई मर्ज गरेर आठ वटा निर्माण गर्नको लागि छलफलको बाटो खोलेको हो ।
सो अनुरुप जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी समेत रहेका मदन कोइरालालाई स्थानीय निकाय पुर्नसंरचना प्राविधिक सहयोग समितिको संयोजक तोकेको छ ।
सो समितिले जिल्लाका विभिन्न सरोकारवालासँग छलफलको क्रममा नेपालको संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको सीमा निर्धारणका लागि स्थानीय निकाय प्राविधिक सहयोग समितिले बिहीबार नागरीक समाजका अगुवासँग छलफल गरेको छ ।
बैठकमा सिमा निर्धारण लगायतका विषयमा छलफल भएको संयोजक कोइरालाले जानकारी दिए । पुनर्संरचना आयोगबाट इलामका लागि तोकिएको आठवटा स्थानीय निकाय तोक्ने सीमाभित्र छलफल सकिएपछि छलफलबाट आएको निष्कर्श अर्थात स्थानीय निकायका केन्द्रको टुङ्गो लाग्ने छ ।
छलफलबाट आएको स्थानीय तहको केन्द्र–केन्द्रमा साउन १६ देखि २३ गतेसम्म प्राविधिक सहयोग समितिले स्थानीय नागरिकसँग छलफल, परामर्श गर्ने र कार्याशाला गोष्ठी गर्नेछ ।
साउन २५ गते व्यवस्थापिका संसदमा इलामबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सबै सांसदहरुसँग अन्तिम परामर्श बैंठक गरी निष्कर्श निकालिन छ । साउन २४ देखि २९ गतेसम्म प्रतिवेदन तयार गरी केन्द्रमा बुझाइने कार्यक्रम रहेको खबर आजको चियाबारी दैनिकले छापेको छ ।


















































