फाल्गुनन्द गाउँपालिकालाई दुई संस्थाद्वारा स्वास्थ्य सामाग्री उपलब्ध

  युद्धबहादुर बोहोरा
357 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकालाई पाँचथर समाज काठमाण्डाै नेपाल र फाल्गुनन्द एकता समाज मलेसियाद्वारा बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

हालको कोभिड महामारीलाई मध्यनजर गर्दै स्थानीय नागरिक कोरोना संक्रमण भइ स्वास्थ्य समस्या जटिल हुँदा अक्सिजन सहित उपचारमा लैजानुपर्ने अवस्था आएमा थप मद्दत पुर्‍याउने उदेश्यले एकता समाज मलेसियाद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको समाजका संरक्षक सन्तोष प्रकाश रिजाल र नेपाल संयोजक लावाहाङ चेम्जोङले जानकारी दिए ।
समाजद्वारा पालिकालाई दुई लाख रुपैया बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको जनाइएको छ ।
१९ जना सदस्य,तीन संरक्षक,दुई सल्लाहकार र एक जना नेपाल संयोजक रहेको विशुद्ध सामाजसेवामा सकृय यस संस्थाले दैवीप्रकोप,विपन्न परिवारका विरामीलाई उपचार खर्च सहयोग र विपदमा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको समाजका अध्यक्ष तेजबहादुर आङदेम्वेले बताए ।अहिलेसम्म संस्थाले पालिका भित्रका नागरिकको हरेक समस्यामा ४० लाख रुपैयाँ हाराहारी आर्थिक सहयोग गरिसकेको उनको भनाइ छ ।

यसैबीच,पाँचथर समाज काठमाण्डाै नेपालबाट पनि पालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर,१४ वटा अक्सिमिटर,५० सेट एन्टिजिन किट,पाँच थान पिपिइ सेट र एक हजार पाँच सय थान मास्क प्राप्त भएको पालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि
देश तथा विदेशबाट संकलन गरिएको १८ लाख १७ हजार एक सय पाँच रुपैया रकम मध्ये १३ लाख २६ हजार पाँच सय रुपैया बराबरको स्वास्थ्य सामाग्री पाँचथरका आठै वटा स्थानीयतहलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको समाजका सदस्य तथा खरिद समिति संयोजक निर्मल रिजालले सामाग्री हस्तान्तरण गर्दै जानकारी दिए ।
यस समाजद्वारा पाँचथर घर भइ हाल काठमाडौमा बस्दै आएका र समस्यामा परेका बिपन्न परिवार,विद्यार्थी,संक्रमित तथा मृत्यु भएका ३६ घर परिवारलाई राहत वितरण समेत गरेको बताइएको छ ।

उक्त स्वास्थ सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेले विपद्को समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराउनु हुने दुवै संस्थालाई धन्यवाद सहित पालिकाले कृतज्ञता पत्र प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए । वर्तमान स्वास्थ्य संकटको कठिन समयमा पालिकाले अन्य इच्छुक दादाहरुबाट पनि सहयोगको अपेक्षा सहित अनुरोध गरेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै हस्तान्तरण कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ,६ नम्बर वडाका अध्यक्ष नारायण प्रसाद आङदेम्बे,गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष तथा कोभिड रेपिड रेस्पोन्स टिम कोअर्डिनेटर नन्द नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार