बाल्यकालमा विवाह भएकी सन्चरानीको पानी ओसार्दा आँङ खसेको पिडा

  ज्ञानु घिमिरे
196 Shares

 

 

(साँकेतिक तस्वीर)

पाँचथर : फिदिम नगरपालिका ९ कि सन्चरानी सम्बाहाम्फे ७५ वर्षकी भइन् । सन्चरानीका सात सन्तान छन् । जन्मिएका त अरुपनि थिए तर रहेनन् । उनको १३ वर्षको कलिलो उमेरमा नै विवाह भएको थियो । ‘महिनावारी नहुँदै बाजेले विवाह गरिदिए,’ सन्चरानी भन्छिन् ‘मेरो श्रीमान् बिहे गर्दा २८ वर्षका थिए ।’
विवाह भएको ४ महिनापछि सन्चरानीको पहिलो रजश्वला भयो । पहिलो रजश्वला भएको केही महिनामै उनी गर्भवति भइन् । सानै उमेरमा गर्भवति भएकी सन्चरानीलाई उसबेलै पाठेघर पोल्ने, दुख्ने र सेतोपानी बगने समस्या भएको थियो । बिस्तारै समस्या बढ्दै गयो । उनलाई महिनावारी झैं यो पनि महिलाहरुको साधारण समस्या होला भन्ने लाग्यो । त्यसबेला प्रजनन् स्वास्थ्य र त्यस सम्बन्धी चेतना समाजमा थिएन । विवाह भएको १५ महिना नबित्दै सन्चरानी आमा भइन् । पहिलो सन्तान घरमै जन्मियो । सुत्केरी गराउन गाउँकै बैद्यले सहयोग गरे ।

पहिलो सन्तान जन्मिएपछि सन्चरानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहर झन् बढ्दै गयो । उनमा महिनावारी हुने समय अनिश्चित भइरह्यो । पेट पोल्ने, दुख्ने जस्ता समस्या धेरै भयो । सेतो पानी बग्ने समस्याबाट आजित भइन् । तर समस्या कसलाई सुनाउने ? उनले कसैलाई पनि आफ्नो समस्या सुनाउन सकिनन् । लाजले गर्दा अस्पताल जाने वा बैद्यलाई देखाउन पनि सकिनन् । यस्तै अस्वस्थ अवस्थामै उनले अरु छ जना सन्तान जन्मिए । प्राय सबै घरमै जन्मिए । पाँचौ बच्चा जन्माउन भने उनी अस्पताल गइन् । त्यस बेलामा मात्र थाहा भयो उनमा आङ खस्ने पुरानो समस्या रहेछ ।

सन्चमायाको पेट दुख्ने, पोल्ने र सेतोपानी बग्ने समस्या पहिचान भएपछि डाक्टरले स्वास्थ्य शिविर भएको बेला बोलाएर शल्यक्रिया गर्नुपर्ने सुझाव दियो । ‘डाक्टरले शिविर चलेको बेला बोलाएर अपरेशन गर्नुपर्छ भने तर लाजले गर्दा अप्रेसन गर्न जान सकिन’ उनि थप्छिन् ‘त्यसपछि दुई छोरो पाएँ । छोरा पाएको हर्षले मेरो त बिराम नै निको भएजस्तो भयो । सुतकेरी भएपछि घरधन्दा गर्न थालें । पानी बोक्न थालें । पानी बोक्न धारामा गएकै बेला आँङ खसेर म त बेहोस भएँछु ,’ उनले सुनाइन् । पानी लिन धारामा गएकी सन्चरानीको होस खुल्दा उनी अस्पतालको बेडमा थिइन् । उनी भन्छिन् ‘छोरा पाउने रहर र आफ्नो लाजले गर्दा यो हातल भएछ ।’

सुरुसुरुमा दिसापिसाब गर्दा पोल्ने, उठबस गर्दा अप्ठ्यारो हुने, थोरै मासु बाहिर निस्किने जस्तो समस्या हुन्थ्यो तर उनले आफ्नै श्रीमान्लाई पनि त्यो समस्या सुनाइनन् लुकाएर राखिन् । अहिले बुढेसकामा यो रोगबाट ग्रसित भएर उठ बस गर्नै नसक्ने अबस्थामा उनी पुगेकी छन् । समस्या अन्तिम चरणमा पुगेकाले रोकथाम गर्ने औषधि खाइरहेको बताउछिन् ।
सानै उमेरमा सन्तान जन्माउदा आफुलाई आङ दुख्ने र शरिरबाट रगत जाने, तल्लो पेट दुख्ने, जस्ता धेरै समस्या भएकोले उमेर पुगेपछि मात्र विवाह गर्न उनी अचेल किशोरीहरुलाई सम्झाउँछिन् । उनी धेरै सन्तान नजन्माउन पनि आग्रह गर्छिन् ।

महिलाहरुमा आङखस्ने समस्याको बारेमा बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डा. पवनजङ्ग रायमाझी भन्छन् ‘पहिलो चरणमा रोगले खासै असर गदैन तर तेस्रो चरणसम्म पुग्यो भने शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । तर, अन्तिम चरण भनेको आङखस्ने समस्या हो । यस्तो अवस्थामा पूर्ण रुपमा आङ बाहिर आएको हुन्छ जुन जटिल अवस्था हो र शल्यक्रिया बाहेक अरु विकल्प हुँदैन ।’ कतिपयको शारीरिक अवस्थाले गर्दा शल्यक्रिया गर्न नसकिने अवस्था हुने भएकोले आङखस्ने समस्या जटिल हुने उनी बताउँछन् । यस्तो समस्याको सुरुवातमै निरुपण गर्ने तर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।-हाम्रोमतबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार