भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा कोभिड–१९ बाट ३४ सय ४९ जनाको ज्यान गएको छ । भारतमा मृत्यु हुनेको संख्या २ लाख २२ हजार ४ सय ८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १ सय ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत शनिबार एकैदिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा संक्रमितको संख्यामा कमी हुँदै आएको छ । सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।

भारतले अझै पनि संक्रमितको उपचारका लागि राम्रो प्रबन्ध गर्न सकेको छैन । अस्पतालहरूमा अक्सिजनको चरम अभाव कायमै छ । संक्रमितका आफन्तले अक्सिजन र औषधिका लागि हारगुहार गरिहेको दृश्यले सामाजिक सञ्जाल भरिएका छन् ।

बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि दिल्ली सरकारले भारतीय सेनाको सहयोग मागेको छ । आइसीयु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनाको सहयोग मागिएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार