
पाँचथर: न्यूयोर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित ‘कोभिड–१९ च्याम्पियन अवार्ड २०२०’बाट नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ सम्मानित भएका छन् ।
उनलाई गत अक्टोवर २४ तारिख शनिवारका दिन युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वल्र्ड आइएनसीले सम्मान गरेको हो ।
कोभिड –१९ ले अक्रान्त बनाएको वेला न्यूयोर्कमा, महासचिव नेम्बाङले कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन, जनसम्पर्क समिति अमेरिकाको टाक्स फोर्सद्वारा अत्यन्तै कठिन र गाह्रो परिस्थितिका बावजूद आवश्यक स्वास्थ्य सामग्रीहरू संघसंस्थामार्फत तथा व्यक्तिगत तवरले समेत अहोरात्र खटेर समुदायलाई उपलब्ध गराएका थिए । अमेरिकाभरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त सो स्वास्थ्य सामग्रीलाई लकडाउनको वेलामा, अमेरिकी सरकारले दिएको निर्देशनलाई पालना गर्दै, महासचिव नेम्बाङको नेतृत्वमा बडो मुस्किलले सहयोगी, स्वयंसेवक र जनसम्पर्क समितिका सदस्यहरूको साथ र सहयोगमा नेपाली समुदायलाई वितरण गरेको थियो ।
यही कुरालाई मनन गरेर नेम्बाङले आफ्नो समाजिक सन्जाल फेसबुक मार्फत अवार्डको खास हकदार भनेको कोभिड–१९को अक्रान्त समयमा नेपाली समुदायलाई महामारीबाट जोगाउन आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउँने सम्पूर्ण सहयोगी दाताहरू, कठिन समयमा खटिने स्वयंसेवकहरूलगायत जनसम्पर्क समिति अमेरिका भएको प्रष्ट पार्दै, उनीहरूप्रति आफू कृतज्ञ भएको बताएका छन् ।
महासचिव मुनिन्द्र नेम्बाङले आफूले पाएको उक्त ‘कोभिड–१९ च्याम्पियन (सम्मान) अवार्ड २०२०’ लाई कोरोनाले अक्रान्त बनाएको समयमा महामारीबाट नेपाली समुदायलाई जोगाउन अहोरात्र खटिने, सहयोग र योगदान गर्ने तिनै संस्था, स्वयंसेवक र दाताहरूप्रति समर्पित गरेको जनाएका छन् ।
साथै आफूलाई कोभिड–१९ च्याम्पियन अवार्ड २०२० बाट सम्मान गरेकोमा युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वल्र्ड आइएनसीलाई महासचिव नेम्बाङले आभार प्रकट गर्दै, चारैतिर कोरोनाको प्रभाव अझैं भएकोले सदैव सचेत र सुरक्षित रहन नेपाली समुदायलाई आग्रह गरेका थिए ।-नयाँ अनलाइनबाट


















































