`दिव्यविक्रम स्मृति साहित्यिक पुरस्कार’ बराललाई

  युद्धबहादुर बोहोरा  276 पटक हेरिएको

पाँचथर : ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७७’ बाट लीला लेखनका अभियन्ता साहित्यकार कृष्ण बराल सम्मानित भएका छन् ।

नेम्बाङको स्मृतिमा प्रतिष्ठानले गत वर्ष देखि स्थापना गरेको उक्त साहित्यिक पुरस्कार बर्सेनि स्मृति दिवस भाद्र १७ गतेका दिन प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले जानकारी दिए ।
३० हजार रुपैयाँ बराबरको उक्त पुरस्कार स्व. नेम्बाङको परिवार सदस्यहरुबाट स्थापित गरिएको उनले  बताए ।प्रथम समृतिमा कवि प्रकाश थाम्सुहाङलाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमा अध्यक्ष तथा परिवार सदस्यबाट झापाको विर्तामोडमा एक कार्यक्रम बीच पुरस्कार राशी सहित दोसल्ला र सम्मानपत्रले बराललाई सम्मान गरिएको हो ।

कोरोनाका कारण यस वर्ष जुम प्रविधिबाट संचालन गरिएको औपचारिक कार्यक्रममा कवि तथा समालोचक मुनाराज शेमाले बरालको साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान तथा जिवनी बारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी कवि प्रकाश थाम्सुहाङ,कविता राई,सोझो गाँउले,रत्न मणि नेपाल सुन्दर कुरुप,युगिन विवेक,कुमार भट्टराई,गजलकार महेन्द्र विरही लगायतले पंचायतकालका क्रान्तिकारीयोद्धा तथा साहित्यकार स्व.नेम्वाङको चर्चा गर्दै कविता,गजल तथा रचना बाचन गरेका थिए ।

कवि धर्मेन्द्र नेम्वाङले संचालन गरेको कार्यक्रममा विभिन्न स्थानबाट करिब २० भन्दा बढीको जुम प्रविधिमा सहभागिता रहेको थियोे ।
को हुन् ? स्व . नेम्वाङ
स्व. नेम्बाङको जन्म वि.स. १९९७ सालमा पाँचथरको साबिक पौवासारताप वडा नम्बर १, स्थित पौवागाउँ हालको फाल्गुनन्द-३ निवासी बुवा नरबिर नेम्बाङ र आमा पदमादेवी नेम्बाङको कोखबाट जेठा सुपुत्रको रूपमा जन्मिएका थिए ।

उनले गाउँकै मनरत्न मिडिल स्कुलबाट औपचारिक अध्ययन सुरु गरि दार्जिलिङबाट म्याट्रिक पास गरेका थिए । तत्कालिन राजा महेन्द्रले बहुदलीय ब्यवस्था कव्जा गरेपछि २०१७ सालको क्रान्तिमा संलग्न भइ उनी एक क्रान्तिकारी योद्धाको भूमिका निर्वाह गर्न थाले । नेपाली काँग्रेस पार्टीमा आवद्ध भएका कारण देश निकालामा परे । त्यसपछि भुमिगत हुँदै भारतको दार्जिलिङ प्रवास जीवन बिताउन बाध्य भए । त्यसबेला उनले साहित्य र अध्ययनमा निकै मेहनत गर्दै कविता, कथा, निबन्ध र लेखाहरु लेख्दै गरे । उनका रचनाहरु दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित भएका थिए ।

वातावरण सहज भएपछि हाल फाल्गुनन्द-३ मा रहेको सारताप माध्यमिक विद्यालयको प्रधाध्यापक भइ लामो समयसम्म शिक्षण पेशा गर्दै साहित्य र समाजसेवामा सक्रिय भइ ग्रामीण जीवन बिताउँदै गएका उनको २०७५ भदौ १७ गते निधन भएको थियो । स्व. नेम्वाङका दुई छोरा, तीन छोरी, नातिनातिना र श्रीमती छन् । यस भूगोलमा बसोबास गर्ने नेम्वाङ परिवार पाँचथर जिल्लाको साहित्य क्षेत्रमा अगुवाईमा रहेका छन् ।

को हुन् ? साहित्यकार बराल 

साहित्यकार कृष्ण बराल लीला लेखन आन्दोलनमा सक्रिय छन् । साहित्य क्षेत्रका एक सालिन व्यक्तित्व, सर्जक बराल अध्ययनशील र तीन पिंडी एउटा सिंडी निबन्ध, कथा च्यातिएका कथा, लीला, वार्ता र शरणार्थी समालोचना, अवतरण उपन्यास, समय हराएको बेला निबन्ध लगायतका पुस्तकहरु प्रकाशित छन् । महानन्द पुरस्कार र पद्मश्री पुरस्कारबाट पुरस्कृत उनी इलाम जितपुरमा २०१७ सालमा जन्म भइ हाल झापा अर्जुनधारा स्थित शनिश्चरेमा बसोबास गर्दै साहित्य क्षेत्रमा सक्रिय हुँदै विभिन्न संघसंस्थामा कार्यरत छन् । एक क्रान्तिकारी लोकतान्त्रिक आन्दोलनमा समर्पित व्यक्तिको नामा स्थापना भएको प्रतिष्ठानबाट आफुले साहित्य क्षेत्रमा योगदान गरेको उच्च मुल्यांकन गर्दै सम्मान गरिएकोमा गर्व लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार