कविता : ‘अब नरोऊ आमा’

  लिला बल्लभ नेपाल  127 पटक हेरिएको

छोराको वियोगमा कति आँशु बगाउँछौ  आमा

तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल

बरु मलाई बिजयको आशिर्वाद देउ, आमा

किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।

 

समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा

म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु

मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी

तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु

तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।

 

मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ

गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न

म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा

तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ

तिम्रो हात मेरो माथमा पर्दा साच्चै भाग्यमानी भएको छु आमा ।

 

तिमी कति पनि चिन्ता नगर  ल

म तिम्रो हृदयका सपना अवश्य पुरा गर्नेछु

र सधै रहने छु आमा तिम्रै सेवाको लागि

बरु मलाई साहस देउ आमा

किनकि म भीडहरुको वीचमा एक्लो छु

क्षितिज पारीको त्यो सुनौलो गन्तब्यवाट

ती चम्किला ताराहरुले मलाई बोलाइरहेछन् आमा ।

 

त्यसैले त तिम्रो माया साँचेको मुटु यही छोडेर जाँदैछु

तर यो सत्य यहि हो आमा मैले यो संसार जित्नु पर्छ

आकासको जुन जस्तै तिम्रो हृदयमा चम्किरहनेछु

म फुल बन्छु आमा यो पुरै संसारलाई बासना छर्न

तिमीले बिहानको हरेक श्वासमा मलाई पाउने छौ

आमा तिम्रा ओठहरु सधै मुस्कुराईरहेको देख्न पाउ

क्षितिज पारीको विरानो एक्लो देशमा तारा बनेर चम्किरहँदा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार