वायुमण्डल स्वच्छ छ तर माक्स लगाउन अनिवार्य छ ।बाटो खाली छ तर लामो यात्रामा निस्कन असम्भव छ । साबुन पानीले धोइ धोइ हात सफा न सफा छ तर हात मिलाउन प्रतिबन्ध छ । साथीभाइसङ्ग प्रसस्त समय छ तर भेटघाट गर्न सकिंदैन । हुनेले नयाँ नयाँ परिकार पकाउन सिकेका छन् तर चाख्न कसैलाई बोलाउन सक्दैन्न ।जोसङ्ग पैसा छ तर उस्कै खर्च गर्ने बाटो छैन ।जोसङ्ग पैसा छैन फेरि उस्कै कमाउने बाटो पनि छैन ।भ्रष्टचार कालोबजारी सबैतिर छ तर देख्न सकिएको छैन । कहिले ठीक हुन्छ यो कोरोना, भन्न सकिने स्थिति पनि छैन ।
न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेसनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । देश भित्रै नियाल्दा पनि यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइहरु र अनुसन्धानमा पनि समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।
क्वारेन्टिनको अवस्था
नेपाल सरकारले तयार गरेको ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६’ अनुसार, क्वारेन्टिनमा सफा र सुरक्षित सयन कक्ष, एक ओछ्यान र अर्को ओछ्यानबीचमा निश्चित दूरी, प्राथमिक उपचार सामग्रीको व्यवस्था हुनुपर्छ ।
निर्देशिका अनुसार त्यसबाहेक ‘कम्तिमा तीनजना सरसफाइ कर्मचारी, डस्टबिन र पर्याप्त माक्सको व्यवस्था, तोकिएको मापदण्ड अनुसार फोहोर व्यवस्थापन, छुट्टाछुट्टै साबुन र स्यानिटाइजर हुनुपर्ने’ उल्लेख छ । त्यसैगरी ‘क्वारेन्टिनमा बस्नेहरूको कम्तीमा दिनको दुईपटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्श सम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ उल्लेख छ ।
देशभरि सबैजसो स्कूल र स्थानीय सामुदायिक भवनलाई क्वारेन्टिन बनाइएको छ । ती भवनहरू मानिस रात बस्ने गरी बनाइएका संरचना नै होइनन् । यस्तै अवस्था समग्रमा हाम्रो इलाम जिल्लाले पनि सामुदायिक भवनलाई रोज्नु परेकै छ । र्निदेशिकाले तोके अनुसारका सवैखाले जनशक्ति नै नहुँदा ब्यवस्थापनमा झन असजिलो त हुने भईहाल्यो ।
कतिपय क्वारेन्टिनमा बस्नेहरूका भनाइमा संरचना मात्रै अव्यवस्थित होइन, व्यवस्थापनमा खटिएका केहि व्यक्तिको व्यवहार पनि मानवीय थिएन । त्यसले क्वारेन्टिनमा बस्नेहरूलाई थप निराशा जगाउँथ्यो । केही माग्यो भने ‘हामि पनि खान बस्न पाएकै छौ कति किचकिच गरेको’ भनेर खप्की खानुपर्थ्यो ।
विशेषज्ञका अनुसार, क्वारेन्टिनमा बसेका बेला अरू बेलाभन्दा भिन्नै सोचाइ आउँछ । घाँटी खसखस गर्याे वा सामान्य रुघा–खोकी लाग्यो भने पनि ‘लौ मलाई त कोरोना नै भयो कि के हो’ भन्ने सोच आउँछ । त्यसमाथि लकडाउनका कारण रोजगारी गुम्दा अब के खाने के खुवाउने भन्ने सोचेर पनि धेरै तनावमा हुन्छन् । उनीहरूमध्ये केही त आत्महत्या गर्ने तहसम्म पुग्छन् । यी कुराहरुलाई नियाल्दा यस्तै अवस्थामा महिलाका लागि क्वारेन्टिनको बसाई,बाल बच्चाहरुको बसाई,गर्भवती महिलाको बसाई कस्तो हुन्छ होला ? यो अवस्थालाई कहिले सम्ममा कति सहजता गराउने,कति खर्च गर्ने आदि सवै अन्योलता नै छ तसर्थ सवै जनतामा कोरोनाका बेसिक मापदण्ड(सेनिटाइजरको प्रयोग,माक्स,भौतिक दुरी,भिडाको वातावरण नबनाउने आदि) प्रयोग गर्न अनिवर्य छ र यी सवै खाले मापदण्ड आफ्नै लागि हो,हाम्रो समाजको लागि हो र मेरो देशकै लागिहो भनेर तन,मन,वचन र कर्मले अगाडी बड्ने हो भने न हामिलालाई क्वारेन्टिन चाहिन्छ न आइसोलेसन तर भर तपाई हामी लगायत हाम्रा वालबच्चामा पर्दछ ।
मनोपरामर्श जरूरी
जतिसुकै थकान, तनाव, चिन्ता र रीसमा भए पनि राम्रो मनोपरामर्श सेवा भयो भने मानिस सामान्य अवस्थामा फर्कन्छ भन्ने विश्वास मनोपरामर्शका विज्ञहरु बताउँछन् । मनोचिकित्सकहरूका अनुसार, कोरोना त्रासका असर पनि उमेर समूहअनुसार फरक–फरक हुने गरेको छ । जस्तो कि अहिले बालबालिकामा निद्रा नलाग्ने र अरू उमेरजन्य गतिविधि नगर्ने समस्याहरू देखिन थालेका छन् । ‘हेर्दा बालबालिकामा पेट दुख्ने समस्या देखिने तर त्यो मानसिक स्वास्थ्य समस्या हुने गरेको’ चिकित्सकहरूको भनाइ छ । यो लकडाउनको अवधिमा पनि चिकित्सकहरुकै भनाइ अनुसार बालबालिकामा एञ्जाइटी (मनोत्रास), कन्भर्जन डिस्अर्डर र एडजस्टमेन्ट डिस्अर्डर जस्ता समस्या देखिन थालेका छन् ।
लकडाउनयता मानसिक स्वास्थ्य समस्याहरु बढेको छन् । आर्थिक संकटले मानिसलाई तनाव निम्त्याएको छ । यो अवस्था आउनुमा लकडाउनको पनि ठूलो भूमिका देखिन्छ । किनकि यसअघि सरकारी तथा निजी संस्थाहरूले मनोपरामर्श दिने र मानसिक स्वास्थ्य उपचार गर्न ‘स्याटेलाइट क्लिनिक’ हरू सञ्चालन गर्दै आएका थिए । लकडाउनका कारण यस्ता क्लिनिकहरू बन्द भए । त्यसैगरी मानसिक स्वास्थ्यमा समस्या भएका व्यक्तिका लागि गाउँ र नगरपालिकाहरूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमार्फत उपलब्ध हुँदै आएको औषधि लकडाउनका कारण उपलब्ध हुन नसकेपछि पनि समस्या थपिएको छ । मुलुकका थोरै गाउँ र नगरपालिकाले मात्रै यो संकटमा पनि दीर्घरोगीहरूका लागि घरघरमै औषधि पुर्याउने काम गरेका थिए तर लकडाउन यता यो क्रम पनि रोकिदै गएको छ ।
तर सरकारी प्रयासबाहेक आफ्नो परिवार सुरक्षित राख्न परिवारका सदस्यहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ । परिवारका सदस्यबीचमा कुराकानी गरिरहने, कुनै सदस्यले अस्वाभाविक बानी–व्यबहार देखाउन थालेमा त्यसको पहिचान गरेर निराकरण गर्ने यस्ता यावत कुराहरुको चनाखो भई घर परिवार,छर छिमेकले गर्ने हो भने तपाई हामी नै हाम्रो परिवा र समाजको रक्षक हुन सक्छौ ।
सरकारले क्वारेन्टिन निर्देशिकामा पनि क्वारेन्टिनमा बसेकालाई अनिवार्य मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने भनेको छ । उनीहरूलाई आवश्यक विभिन्न परामर्श दिने भनेको छ । क्वारेन्टिनमा रहेकालाई काउन्सिलिङ चाहिन्छ । अहिले कोभिड—१९ आएर मात्रै यो चाहिने भनिएको होइन ।
काउन्सिलिङ हाम्रोमा नयाँ कुराजस्तो भयो । स्कूल–स्कूलमा, घर–घरमा र समुदाय–समुदायमा पनि त काउन्सिलिङ चाहिन्छ । अन्तर्राष्ट्रिय रूपमा त यो सधैं भइरहने कुरा हो । यसको मतलब काउन्सिलिङको विषयमा हाम्रो बुझाइमा कमी र अनभिज्ञता देखियो । सर्वसाधारणमा मात्र होइन, नीतिगत तहमा बस्ने मानिसमा पनि यसबारे ज्ञानको कमी छ ।मनोसामाजिक परामर्श चाहिन्छ भनेर अरूको सैद्धान्तिक पक्ष नक्कल गर्न त सजिलो भयो । तर व्यवहारमा हामी चुक्यौं । क्वारेन्टिनमा बस्नेहरूलाई सुरूमै सामाजिक दूरी र त्यहाँको वस्तुस्थिति बुझाउन सक्नुपर्छ । किनकि त्यहाँ आएको व्यक्तिले आधारभूत सुविधा पनि नहोला भनेर कल्पना गर्न सक्दैन । तर, हाम्रा क्वारेन्टिन त कोभिड—१९ फैलने स्थान बने ।
त्यसले मानिसमा क्वारेन्टिनभित्र नै संक्रमणको डर भयो । अनि डराउने, भाग्ने, झगडा गर्ने जस्ता घटना यदाकदा देखिई रहेकै छन् । घर जान पनि नसक्ने, बाहिर जान पनि नसक्ने र भित्र पनि कोभिडको डर भएपछि मानिसमा तनाव बढ्नु स्वाभाविक हो । एउटा आधारभूत सुविधा सहितको संरचना चाहिनेमा त्यो छैन भनेपछि मान्छेलाई नकारात्मक प्रभाव पर्ने नै भयो । व्यक्तिमा आ–आफ्नो लेभलको साइकोलोजी हुने भएकाले कसैले एउटै कुरालाई सहन सक्छ त कसैले त्यसलाई सहन नसक्ने पनि हुन्छ ।
तसर्थ, आत्महत्या गर्ने अवस्थामा पुग्न मानिसमा धेरै कारण जोडिँदै आइपुग्छm। पारिवारिक, सामाजिक, आर्थिक कारणसहित मनोविज्ञानले मानिसलाई डिप्रेसनमा लैजान्छ । पहिलेदेखि नै मनोसामाजिक रोगहरू छ र त्यसमा माथि भनिएका कुराहरू थपिँदै गए भने कमजोर मन भएका मान्छे क्वारेन्टिनबाट भाग्ने वा आत्महत्या गर्ने उपायबारे सोच्न थाल्छ । हामीले के बुझ्नु आवश्यक छ भने क्वारेन्टिन जेल होइन । कम्तिमा त्यहाँ आधारभूत आवश्यकताका सुविधाहरू हुनुपर्छ । सामाजिक दूरी कायम राख्ने ठाउँ हुनुपर्छ । समयमा सुत्ने, समयमा उठ्ने, उठेपछि व्यायाम र योगहरू गराउने वातावरण हुनुपर्छ । केही न केहीमा ‘इन्गेज’ गराउने वातावरण बनाउनुपर्छ । हामीले आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित बनाउन क्वारेन्टिनमा बस्नु परेको हो भनेर बुझाउनुपर्छ । सबभन्दा ठूलो स्वास्थ्य हो । दुई हप्ता अनुशासित रूपमा बस्यो भने म र मेरो परिवार अनि समाजमा यो रोग फैलन नपाउने रहेछ भन्ने ज्ञान दिनुपर्यो। यति सिकाउन सकियो भने जो कोही मान्छे अनुशासित भइहाल्छ नि । २०७६ साल चैत ११ गतेदेखि यसको संक्रमणलाई कम गर्न नेपाल सरकारले मुलुकमा लकडाउन घोषणा गर्यो । क्वारेन्टाइन बनाइए । सार्वजनिक स्थान र भिडभाडमा मास्क प्रयोग गर्न लगाइयो । मानवीय दूरी कायम गर्न भनियो । स्यानिटाइजरको प्रयोग गर्न र –यापिड डायग्नोस्टिक किट्स र स्वाब लिएर संक्रमित भएरनभएकोतिर लागियो । अझ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले त यो संकटको घडीमा अग्रपंक्तिमा रहेर ‘सेवा हि परमो धर्म’ भन्ने सम्झेर सेवामा लागि परे । उनीहरूको प्रोत्साहनका लागि सरकारबाट राष्ट्रव्यापीरूपमा मैनबत्ती बाली, ताली बजाइ, राष्ट्रगानबाट साहस बढाउने काम गरियो । आज मुलुकमा लकडाउन भएको ५ महिना पूरा हुन लाग्दासम्म भाइरसको प्रकोप तीव्ररूपमा वृद्धि भइरहेको छ । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । जसका कारण बालबालिका, महिला, वृद्धवृद्धा र दीर्घरोगी भने भयभित छन् । रोगले भन्दा पनि त्रासले समस्या ल्याउने हो कि भन्ने चिन्ता थपिँदो छ । मुलुक विषम परिस्थितिमा छ । दिन प्रतिदिन बढ्दै गएको लकडाउनले मानिसका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न अभाव हुन थालेको छ । बेरोजगारी, किस्ते ऋण ताकेताको चाप, विदेशमा आफन्त वा परिवारजन अलपत्रमा परी भोग्नुपरेको पीडा आदिले नागरिकको सरकारप्रति वितृष्णा पलाउने हो कि भन्ने छुट्टै चिन्ता छ । त्यसैले यो बेला फुटेर भन्दा पनि जुटेर अगाडि बढ्नुपर्छ । यस्ता अंकुरलाई पलाउन नदिनका लागि सरकार र नागरिक दुवैले उत्तिकै दायित्व लिनुपर्छ ।सरकारले गरेको सरसफाइसम्बन्धी सचेतना र सञ्चार माध्यमबाट नियमित प्रसारित सामग्रीले केही टेवा पुगे पनि यो पर्याप्त छैन । राज्यको मात्र भर पर्ने र नागरिक मात्र लागिपरेमा पनि कोरनासँगको लडाइँमा विजय हासिल गर्न गाह्रो हुन्छ । यस्तो विषम परिस्थितिसँग जुध्न दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ ।
नागरिकको कर्तव्य
यो हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्ने समय हो । कुनै व्यक्ति असल हुन उसको चिन्तन र व्यवहार शिष्ट हुनुपर्छ । राष्ट्र प्रेम हुनुपर्छ । यो तरल अवस्थामा देशको सर्वजनिक सम्पत्तिको बेवास्ता गरी दोहन हुनबाट बचाइ संरक्षण र सुरक्षाका लागि हरेक नागरिकको उत्तिकै दायित्व हुन्छ । राष्ट्र प्रेम राष्ट्रियताको एक पक्ष हो भने हामी असल छौँ, हाम्रो व्यवहार असल छ भन्नुचाहिँ त्यसको अर्को पक्ष हो । जिम्मेवारी लिन सक्ने क्षमता हामीमा नभए पनि आफूलाई त्यसमा स्थिर राख्ने जिम्मेवारी भने हाम्रै हो । म सानो हुँ, मेरो केही जिम्मेवारी छैन भनी निच मार्नुहुन्न ।पद भनेको कसैले दिएको सामान हो, उसले जति बेला पनि फिर्ता माग्न सक्छ । उसले मागेपछि रिक्त नै हुने हो । निःस्वार्थ सहयोगमा ठूलो आनन्द छ । व्यक्ति–व्यक्ति बीचको स–सानो सहयोगले नै भविष्यमा आउने ठूलो क्षति हुनबाट जोगिन सकिन्छ र देशलाई पनि जोगाउन सकिन्छ । हालको अवस्थामा सरकारले देशव्यापीरूपमा स्वयम्सेवकको आहवान गर्न सक्नुपर्छ । हजारौँ हजार जनशक्ति स्वयम्सेवकका लागि तयार छन् । लिनुभन्दा दिनुमा भिन्नै आनन्द मान्नेको यहाँ कमी छैन, आफू भोकै बसेर भए पनि अरूलाई खुवाउँदा रमाउनेको पनि कमी छैन । अरूलाई दिन पाउँदा खुसीको स्वाद नै भिन्नै हुन्छ । यस्ता जनशक्तिलाई उपयोगमा ल्याउन सक्नुपर्छ । जसको जस्तो किसिमको क्षमता र योग्यता छ । त्यहीअनुसारको कामको जिम्मेवारी दिन सकिन्छ ।नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्यको धारा ४८ को (क) मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु । यसै धाराको –ख) मा संविधान र कानुनको पालना गर्नु रहेको छ भने उपधारा (ग) मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु र (घ) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भनिएको छ । बुँदागतरूपमा थोरै भए पनि यसमा गहन कुराहरू समेटिएका छन् । नागरिक भएको नाताले हरेक नेपालीले यी बुँदाहरूको पालना गर्नु जरुरी छ । सरकारसँग आफ्नो अधिकार दावी गर्दा नागरिक भएर कर्तव्यको कति पालना गरेको छु भन्ने कुरा सोच्न पनि जरुरी हुन्छ ।