
तिम्रो तन छोयो कि मन छोयो,
छुने र छोइनेमा फरक के थियो ?
दिएकी थिइन् जन्म आमालेनै सबलाई, प्रसव पिडा एकै
नानी नै त भन्थ्ये ममताको स्वरले सवै, तिमी र मलाई ।
बामे सर्ने र तोते बोलीमा फरक, कहिले रहेन सबै,
खेल्दा लड्दाका बालानन्द र पिडा, फरक रहेन कतै ।
तिम्रो तन छोयो कि मन छोयो,
छुने र छोइनेमा फरक के थियो ?
चल्यो श्रम त्यो सिप चल्यो, प्यास मेटाउँदा अछुत
वैंस त चल्यो रमाईलोमा, घरजम गर्नमा अछुत ।
सक्छौ के त छुट्याउन रगत, त्यो अस्पताल शैयामा,
बाँच्नलाई प¥यो जब तिमी, खोज्दछौ ग्रुप नेटमा ।
तिम्रो तन छोयो कि मन छोयो,
छुने र छोइनेमा फरक के थियो ?
लिएर गयौ रगत मेरो तिमी, बचायौ श्रीमती
लागेन काम आफ्नै भईकन रगत, बचाउन प्रिय ती ।
आखीर छोयो के त भन तिमी, मिलेपछी रगत नै,
कहाँ पायौ फरक मलाई तिमीले, पाएपछी जिवननै ।
तिम्रो तन छोयो कि मन छोयो,
छुने र छोइनेमा फरक के थियो ?
कहाँ पाउँथ्यौ जिवन मेरो विना, बदला दियौ अछुत
सेवा, साथ र सहयोग नै बने मेरा, विभेदका सवुत ।
छोएर कसले परिणत भयौ कि, नोक्सानी भो के मा,
चित्त शुद्घ रहोस, विवेक मित्र बनोस छुने रछोइनेमा ।
तिम्रो तन छोयो कि मन छोयो,
छुने र छोइनेमा फरक के थियो ?
दलित अधिकारकर्मी तथा अन्दोलनका अगुवा
हालः इनपा–७,भानुपथ(इलाम)


















































