रातो रातो सारी,छम छम चुरा

अकेशाको रातो रातो सारी

काठमाडौं : विश्वप्यारी चर्चित मोबाइल एप टिकटकमार्फत चर्चामा रहनु भएकी बालकलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक गरिएको छ । गीतमा राजन कार्की र मीना तिवारीको स्वर छ । राजन÷मीनाकै शब्द, राजनको संगीत, संगीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समय आएका तीज गीतभन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिनु भएको छ । उहाँ हेर्दा विदेशी जस्ती देखिनु हुन्छ, जसकारण आकर्षणको विन्दु बन्नु भएको छ । सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृति बस्नेतको अभिनय तथा नृत्य छ । मुकेश हुमागाईंको छायांकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गर्नुभएको हो । गीतको भिडियो अकेशा पोखरेलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

देविकाको छम छम चुरा

गायिका देविका बन्दनाको स्वरमा ‘छम छम बजाउँदै चुरा’ सार्वजनिक गरिएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तीज गीत हो । हिन्दू नारीहरूको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने वरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनीका रञ्जित र इन्ता श्रेष्ठलगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तीज म्युजिक भिडियो हो । सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेञ्ज छ भने शिव विकको कोरियोग्राफी छ । भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन छ ।

शान्तिको माइती गाउँ

गायिका शान्ति रिजालले यस वर्षको तीज पर्व विशेष गीत ‘माइती गाउँ’ सार्वजनिक गर्नुभएको छ । नेपाली तीज गीतहरूमा पछिल्लो समय विकृति र विसंगति बढीमात्रामा आइरहँदा उहाँले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता व्यक्त गर्दै यस गीतलाई बजारमा ल्याउनुभएको हो ।

गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी.एमको छ । यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिनाले गर्नुभएको हो । छायांकन विपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गर्नुभएको छ ।

विष्णुको पारिको संगी

नारीको पीर र वेदना समेटिएको गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तीज गीत ‘पारिको संगी’ सार्वजनिक गरिएको छ । दिदी बहिनीहरू भेला भएर वर्षभरको पीडालाई आपसमा रमाइलो तरिकाबाट साटासाट गर्ने परम्परालाई गीतमा उतारिएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ । गीतमा मौलिक शब्द र ग्रामीण परिवेशको आधारमा तयार पारिएकाले पनि आम दर्शक तथा श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गीतको प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताउनुभएको छ । जीवन सेञ्चुरीको छायांकन तथा सम्पादन र खुम मगरको निर्देशन भिडियोमा छ । भिडियोमा खुम मगर र शिल्पा कार्कीको अभिनय तथा नृत्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार