हे करमूर्ती ! मिल्छ भने
घामको न्यानोमा कर लगाइस्योस्
वर्षिने त्यो मेघमा कर लगाइस्योस्
पातहरू हल्लाउने पवनमा
त्योभन्दा ज्यादा कर लगाइस्योस् ।
घाम ताप्न दिस्यो र पो फैलिएन कोरोना
वर्षा गराइस्यो र पो हात धुन पायौँ
बतास चलाइस्यो र सास फेर्दैछौँ
धन्य धन्य कृपानीधान हो हजुर
यी अझै करछुटमा पारिसेको छ
सन्ततिसदृस देशबासीहरूमा ।
हजुरलाई कति गाह्रो छ
कसैले बुझ्दैन पीडा हजुरको
त्यो पीडा शब्दसेना जान्दछ
दायरा बढाउनु परेको छ
क्षेत्र बढाउनु परेको छ
दुई रुपियाँ बढाइसिन्छ हजुर
दुई लाखको विरोध सहनुपर्छ
हो अथाह पीर छ हजुरलाई ।
आजसम्म हजुरको निगाहाले
जो भयो माफी बक्सियोस्
यहि माहामारीदेखि सुरु होस्
घाम पानी र हावामा पनि
यथोचित करदर तोकियोस् !
संसारको नौलो रीत
यही नयाँ देशबाट सुरु होस् !!
कृष्ण देव रिमाल शब्दसेना