हस्ताक्षर विरुद्ध (कविता)

  सर्जन सुब्बा
14 Shares

सर्जन सुब्बा, इलाम । हाल : दक्षिण कोरिया
तिम्रो हस्ताक्षर
देशलाई पासो नबनोस्,
अनन्त दासत्वको
नयाँ दशी नबनोस्,
बरु शिरै छिनियोस् देशका लागि
तर देश, लास नबनोस् ।
सोच्नु , सयौंपटक सोच्नु,
अनि, आफ्नी आमालाई सोध्नु,
आमाको दूध बगरेलाई,
बेच्न हुन्छ कि हुँदैन ?
आमाको काख जल्लादको जिम्मा,
दिन हुन्छ कि हुँदैन ?
सुन्दैछु, समृद्धिको मुल्यमा
स्वाधीनता बेचिदैँछ,
मोलतोल गरिदैँछ,
बोराका बोरा डलरको भाउमा ,
देशको दलाली सौदावाजी हुँदैछ ,
स्वाभिमान धितो राखेर,
अनाम साहुलाई,
यो देश,
चिललाई चल्ला झैँ सुम्पिइदैँछ ।
रातमा हस्ताक्षर गर्नेहरु
दिनसँग डराउँछन्,
अँध्यारोमा चेक काट्नेहरु
उज्यालोमा मुकुण्डो लाउँछन्,
तर, रात ढल्छ, बिहानी हुन्छ,
बिहानी सँगै चेत खुल्छ,
तब हिसाब किताब
देशलाई बुझाउनुपर्छ,
नाफा नोक्सान,
नियतको देखाउनुपर्छ,
बेरुजु कहीँ आयो भने !
घात-प्रतिघात भयो भने !
भुक्तानी तिमीले नै भर्नुपर्छ,
प्रायश्चित मुल्य
तिमीले नै तिर्नुपर्छ,
अझ दोषमोचन नभए
तिमी नै सुली चढ्नुपर्छ ।
त्यो हात,
जसले माटो विरुद्ध
(अ)सहि गर्दैछ,
भोलि नकाटियोस्,
त्यो विचार,
जो जनताको विचारमा
कर्फ्यु लाउँदैछ,
दुस्साहस नगरोस् ।
खबरदार !
सत्ताको लागि देश बेच्नेहरु,
शकुनीको छलिशास्त्र घोक्नेहरु,
तिम्रो अहंको युद्ध जित्न,
तिम्रो हनिमुनको टिकट किन्न ,
मेरो देश,
चोक्टा-चोक्टा नबेचियोस्,
एउटा खुनी हस्ताक्षरले
जननी जन्मभूमिको
अन्तिम चिहान नखनोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार