
जित्ने र हार्नेको सहर
त्यो भित्र अब्बल हुने मेरो रहर
मैले पढाइमा उछिन्नु थियो
त्यसैले आफ्नै साथीलाई सिकाइन
बाले सधै अरुलाई जित्न भन्नुभयो
म अरुसँगै हुन्न चाहिन
कक्षामा सधै श्रेणी छुट्याइयो
मैले कसैलाई सम्मान देखिन
दौडमा जित्नु थियो
त्यसैले साथीलाई बाटो छोडिन
मेरै सदनको पक्ष लिनु थियो
त्यसैले मैले विपक्षीको सुन्दर खेल देखिन
मेरै बगैंचामा अरुकोमा भन्दा सुन्दर फुल हेर्नु थियो
त्यसैले अरुको बगैंचाको सुगन्ध देख्न सकिन
मेरै बारदलिमा गौथलीले बाँस बसेको हेर्नु थियो
त्यसैले कसैको घरमा बसेका गौथलीले सन्तुष्टि दिएन
मलाई मेरै दल र विचारलाई जिताउनु थियो
त्यसैले अरुको विचार सुन्न चाहिन
मलाई मेरै धर्म अघि लाउनु छ
त्यसैले म बाँकी धर्मको बारे सुन्न तयार छैन
मलाई मेरै संस्कृतिले अरुलाई थिचेको हेर्नु छ
त्यसैले अरुको संस्कृति भित्र सुन्दरता देख्दिन
मैले अरुले भन्दा धेरै प्रगति गर्नु छ
त्यसैले मेरा लागि अरुको प्रगति ठिक छैन
आजकाल म भित्र प्रतिस्पर्धाको अनौठो उत्कर्ष छ
तर मसँग सहकार्यको भाव छैन
दौडिरहेको साथीलाई छिर्के लाउन सिके लडेकालाई उठाउन जानिन
आलोचना गर्न सिके प्रशंसा गर्न जानिन
मनभरि कुण्ठा र तिरस्कार छ
हातमा सानो कसैलाई दिने पुरुस्कार छैन
प्रतिस्पर्धा गरिरहे कसैसँग हार्नु छैन,
त्यो प्रतिस्पर्धा भित्र अर्को पर्दासँगै रैछ
जसलाई आजसम्म देख्न सकिन्न
समानता, सहअस्तित्व, सहानुभूति, समर्पण, सहकार्य, सबै छोपिदिएछ
आँखा सानो बनाइदिएछ
मन खुम्च्याउदै रहेछ
धरातल भुलाउदै रहेछ
त्यहीँ प्रतिस्पर्धा भित्रको अर्को पर्दा !


















































