विभेदको एक नाटक

  अन्वेश राई थुलुङ्ग  302 पटक हेरिएको

‘‘समानता एक काल्पनिक कथा जस्तो लाग्न सक्छ यद्यपी शासनको सिद्धान्तको रुपमा भने हामीले यसलाई स्वीकार्नै पर्छ ।’’ डा. भीमराव अम्बेडकर ।

‘‘अहँ म भित्र जान दिन्न ।’’ कथित माथिल्लो जातका बाबु बोले ।
‘‘हैन ए ! तलाईँ मैले यहि दिनलाई जन्माको हो ?’’ उसकी आमाले पनि थपि । ‘‘राम राम राम ।’’ ऊ रुन थाली ।

‘‘तपाईले नदिएर हुन्छ ? हिँड जुम् ।’’ छोराले केटीको हात समातेर घरभित्र हुल्ने प्रयास गर्छ ।
‘‘यदि तैँले यसलाई घरभित्र छिराउन चाहन्छस् भने मेरो लास माथिबाट लैजा ।’’ बाबुका हात तनक्क ढोका अगाडी तन्कीएका छन् ।

‘‘रोक्नुुस् ।’’ अचानक सबै पात्रहरु मुर्ति बन्छन् ।

’’हामीले नाटक यहाँ आएर रोक्यौँ ।’’ कुनै कचहरी नाटकमा हामी भन्ने गथ्र्यौँ । ‘‘यो कुनै टाढा गाउँको कथा हो । हामीले यसैलाई नाटक बनाएर देखाएका छौँ । जति चोटी यसको अन्त्य खोजेपनि हामीले देखाउन सकेनौँ । समाधानको खोजी गर्दै हामी तपाईहरु कहाँ आइ पुगेका छौँ । के यस्तो समस्याहरु हाम्रो गाउँघरमा हुनेगरेका छन् ?’’

कुनै दिन चेतना नाट्य समुहबाट हामीले देखाएको नाटकको अंश थियो यो ।

नाटकमा के हुन्थ्यो भने हामी सातादिन अघि विभेदको विषयमा बहस गथ्र्यौँ । विभेदको कथा ल्याउँथ्यौँ । देखे, भोगे अनि सुनेका अुनभवहरु सुनाउँथ्यौ । पात्र अनुसार कलाकार चयन हुन्थ्यो । जात अनुसार पिडक पात्र समाजको तथाकथित उच्च जातको हुन्थ्यो र अर्को सानो जातको । हप्ताभर बाउ आमाले जान नदिने र छोराले लिँडे ढिपि गरिरहन्थ्यो । हामी हप्ताभर विभेदको रिहर्सल गथ्र्यौँ । तर रिहर्सलको क्रममा मजाकै मजाकमा घरि बाउलाई ढोकाबाट बोकेर साइड लगाएर छोरा घरभित्र पनि पस्थ्यो घरि अंश माग्थ्यो । यस्तो बेला हामी यो परिस्थतिहरु देखेर आशुँ आउन्जेल हाँस्थ्यौँ । र फेरी विभेदलाई सहि तरिकाले देखाउन प्राक्टिस गथ्र्यौँ ।

नाटक रिहर्सलको क्रममा जतिको हसाईँ सायद जिन्दगीको कुनै लाफिङ्ग थेरापीमा हुन्न होला । र देखाउने दिन आउँथ्यो । मैदाको गोलो घेरा लाएपछि छुवाछुतको सडक नाटक सुरु हुन्थ्यो । हप्तादिनको रिहर्सल पश्चायत नाटक देखाएर हामी सोध्थ्यौँ । ‘‘यदि तपाई हाम्रो समाजमा यस्तै भयो भने के गर्नुहुन्छ ?’’ उनीहरु आफ्नो समाज सुहाउँदो उपायहरु सुझाउँथे र अन्त्यमा मन जाँच्थ्यौँ । ‘‘के यो नाटकमा भन्नुभए जस्तै तपाईको जीवनमा पनि यस्तै घटना घटे तपाई भनेबमोजिम नै सम्झाउनुसक्नु हुन्छ त ?’’ सबैजनाले समाज रुपान्तरणको लागि एक्याबद्धता जनाउँथे । हात उठाएर समर्थन गर्थे ।

हामी भन्थ्यौँ, ‘‘हामीले देखाएको फेरी पनि नाटकमात्र हो । तर समाजमा घट्ने घटनाहरुमा दर्शक मात्र बन्नुभयो भने ऊ तपाईकै समाजका दाइ, भाइ, दिदी, बहिनी, छोरा, छोरी, साथी जो पनि हुनसक्छ । त्यसबेला यो नाटकजस्तो नाटक मात्र भन्नु सक्नुहुनेछैन ।’’

वास्तवमा हामी ती नाटकहरु युवा जोसले मात्र गरिरहेका थियौँ । सबैको जिन्दगीमा सानातिना आर्थिक समस्याहरु थिए जो नाटकलाई पेशा बनाएर पूरा गरौँला भन्ने सोच पनि थिएन । बस् समाजको लागि भावनात्मक भएका केहि युवा समुह थियौँ हामी र त्यहि बेला देखाएको एउटा नाटकको अंश थियो यो ।

कथाकै विकास निर्माण कै क्रममा कहिलेकाँही म सुरेश (पोर्तेल)सँग जिरोको बाटो तेर्सिँदै गर्दा भन्थे, ‘‘यार अध्यक्षज्यू यो विवादको विवाद अलि पुरानो अनि चलिरहेकै विभेद भयो अलि नयाँ खालको विभेद देखाउ न । आजकल त विभेदको स्वरुप अर्कै होला नी ।’’

ऊ यो कुरामा असहमत हुन्थ्यो । ‘‘छ नी यार ।’’ अनि भटाभट घटनाहरु सुनाउँथ्यो । पत्रिकामा खासै नआउने ती घटनाहरु सुन्दा म छक्क पर्थे । त्यहि सडक हुँदै हामी गीत गाउन थाल्थ्यौँ । ‘‘माथि माथि अरुहरु… तल म छु छायाँ एक्लै…जन्म उस्तै मृत्यु उस्तै… बाँच्नु पर्ने ढङ्ग बेग्लै… मान्छे भन्दा मान्छे सानो क्रुर कस्तो चलन… यो दलन ।’’

सायद मैले सुन्न बाँकी कथा बाँकी नै थिए । यद्यपी नवराज वि.क.को कथा र हाम्रो नाटक कताकता मेल खान्छ फरक यति हो हाम्रो नाटकमा केटी दलित समुदायकी थिइ । नाटकमा पनि र नवराजको घटनामा पनि परिवार जातकै कारणले विवाहको लागि राजी छैन । हामीले भने त्यसबेला कलाकार अभाव भएकाले एक जोर आमा बुबा र केहि समाज मात्र जोरजाम गर्न सक्यौँ । तर समाज यस्तो थियो जो माथिल्लो जातको बाउआमाको पक्षमा बोलिदिन्थे । नाटकको समाजलाई वास्तविक समाजले सम्झाउँथ्यो बुझाउँथ्यो । परे गाली पनि गथ्र्यो तर घरभित्र पस्ने वातावरण बनाइछाड्थ्यो । समाजलाई रुपान्तरण गर्छु भन्ने अडान लिइरहन्थ्यो । र नाटकमा अभिनय गर्नेहरुको समाज त्यसको विरुद्धमा बुझ्न चाहन्थेन । पुरानै मान्यताहरुलाई जिवित राख्न चाहन्थ्यो । यद्यपी वास्तविक समाजले छुवाछुत मुक्त समाज र चिन्तनको पर्वाह गथ्र्यो र अन्त्यमा नाटकका पात्रमा ती विचार स्थापित गरिदिन्थे ।

तर अहिले मेरो मानसिकता गम खाइरहेको छ । सोचिरहेछ के वास्तविक हो र के अभिनय । नाटकको कथा विकास गर्दा वा अनुभव सुनाउँदा वा रिहर्सल गर्दा पनि हामीमाझ कसैको ज्यान लिने कल्पना जिन्दगीमै आएन । सबै कुरा अभिनय मात्र हो, वास्तविक हैन भन्दा पनि आएन । सायद विभेदको नाटकलाई सहि तवरले न्याय दिन हामीले जानेनौँ । सातादिनको विभेदको प्राक्टिसले कहाँ त्यस्तो कल्पना आओस् ? त्यसबेला यदि हामीले हाम्रो दलित पात्रको ज्यानै लिएको देखाएको भए हामी आफैँलाई पनि पत्यार लाग्थेन होला । कारण थाहा नभए नी, हामी समाजलाई त्यो हदसम्म कहिल्यै सोच्न सक्थेनौँ ।

हाल समाजका केहि मानिसहरु हिसाब गरिरहेछ । १७ वर्षे केटी १९ जना केटाहरुको समुह । लकडाउनको बेला । सयौँको संख्यामा उत्रिएको समाज के केटीको उमेरको हिसाब गरेर मात्र उत्रिएको थियो ? यसको उत्तर बोझिलो हुनसक्छ तर अन्तरवार्ता र अघिल्ला घटनाक्रमले भन्छ यो युगौँदेखिको वर्णीय रुढिवादको विष थियो । कानुनलाई कुल्चेर डस्यो । डस्यो अनि मारेर फालिदियो ।

फेसबुकमा चलिरहेको बहसहरु हेर्छु । धेरै विरोधमा छन् । केहि, ‘‘जातलाई केहि नभन मार्ने त मान्छे हो । हत्याको कुरा गर ।’’ भनिरहेछन् । कोहि एकदम अनुदार पुर्वाग्राहपुर्ण स्पाष्टोक्ती दिइरहेछन् । जो वास्तवमा ज्यादै नै हाँस्यादपद छ । यदि जात केहि होइन भने डा. अम्बेडकरकै प्रश्न दोहो¥याउँछु,‘‘कुनै दलितलाई शंकराचार्य बनाएर समाजका कथित ठूला जातवालाहरुलाई तपाई ढोगाउन सक्नुहुन्छ ?’’ अझै पनि हाम्रा उखानहरुमा कहिले ज्यालामा नमिलेको, कहिले ढोकामा उभिने दलित बनेर कु–संस्कृतिको अ‍ैजेरुँ बाँचिरहेछ । र इतिहास हेर्ने हो भने, जातकै आधारमा कुनै जातिलाई राजनैतिक, सामाजिक, आर्थिक रुपबाट बलियो बनाइँदै गर्दा अर्को जाति दास बनाइनु, विपन्न अनि अधिकारबाट वञ्चित बनाइनुलाई हामी अकेला ‘मानिस’को अर्थभित्र मात्र अटाउन सक्दैनौँ । विडम्बना यो छ की रुकुमको सो घटनामा स्वयम वडाध्यक्ष पनि संलग्न देखिन्छन् । विभेदको पक्षधरलाई जनताले आस्थाको खोलमा नजरअन्दाज गर्न मिल्दैन । जनमत मानवताको पक्षमा बहुसंख्यक भएर उभिनुपर्छ । कलाकार सञ्जय मिश्राको एक भनाइ याद आउँछ । ‘‘म राम्रो मान्छे भएर हैन राम्रो समाजबाट बिदा लिएर मरुँ ।’’

©Anwesh Rai Thulung 2077

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार