नगरपालिका कार्यालय परीसरमा स्तनपान कक्षको स्थापना

चितवन : पुर्वी चितवनको खैरहनी नगरपालिकाले कार्यालय परीसरमा स्तनपान कक्षको स्थापना गरेर सञ्चालनमा ल्याएको छ । स्तनपान सप्ताहको अवसर पारेर नगरपालिकाले सो कक्षको निर्माण गरेको हो ।

नगरपालिकामा सेवा लिन आउने सेवाग्राही र नगरपालिकाकै कर्मचारीको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गरिएको नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । चितवनका पालिकामध्ये खैरहनीले जिल्लामै पहिलो पटक स्तनपान कक्षको व्यवस्था गरेको हो । सरकारी कार्यालय मध्ये जिल्ला प्रशासन कार्यालयले यसअघि यस्तो कक्षको व्यवस्था गरिसकेको छ ।

स्तनपान सप्ताहको अवसरमा खैरहनी नगरपालिकाले स्तनपानका सम्वन्धमा सेवाग्राहीहरु लाई सुचना प्रवाह गर्ने, प्रत्येक स्वास्थ्य संस्थालाई स्तनपानको महत्व, आवश्यकता, फाईदाका बारे जानकारी गराउन लगाईएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए ।

खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माया पाण्डेले स्तनपानको महत्व, आवश्यकता, फाईदाका बारे गर्भवती, सुत्केरी महिलाहरुलाई जानकारी गराएकी थिईन् । समयमै स्तनपान नगराउँदा जन्मेका शिशुहरु पुड्कोपन, दुव्लोपन, कम तौलको हुने संयोजक पाण्डेले बताईन् ।

नेपालमा सन् २०१६ को तथ्यांक अनुसार ६६ प्रतिशतले मात्रै ६ महिना सम्म स्तनपान गराउने गरेको उनको भनाई छ । स्तनपान सप्ताहको समापन खैरहनी १३ का वडाध्यक्ष वालकुमार उप्रेतीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार