शहिद रत्‍नकुमार वान्तवाको २७ संयोग !

यसरी गरिएको थियो वान्तवाको हत्या

  नयाँ बुलन्द
0 Shares

इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा शहिद रत्‍नकुमार वान्तवाले शहादत गरेको स्थलमा निर्माित वान्तवाको सालिक ।

आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्‍नकुमार वान्तवाको हत्या भएको थियो ।

वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन पञ्चायती प्रहरीले हत्या गरेको थियो । उनको हत्या भएको आज ठीक ४० वर्ष पुगेको छ । आज जिल्लामा विभिन्न कार्यक्रम गरी वान्तवाको ४० औं स्मृति दिवस मनाएका छन्  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसका भादृ तथा जनवर्गीय संगठन र विद्यार्थी संगठनहरुले इलाममा विभिन्न स्थानहरुमा छट्टाछुट्टै कार्यक्रमको आयोजना गरी वान्तवाको समृति दिवस मनाएका हुन् । शहिद रत्नको शहादत स्थल इभाङमा रत्नको शालिक अनावरण र स्मृति सभा भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर प्रधानले शालिको अनावरण गरे ।

पञ्चायत विरोधी जुनसुकै तत्वलाई माटोमा मिलाउन आएको सरकारी आदेश मानिरहेका सुरक्षा कर्मीका अगाडी त्यही सरकारको विरोधी, त्यसमा पनि कम्युनिष्ट भएर जनता जगाउनु सायदै चानचुने कुरा थिएन । तर, पञ्चायती व्यवस्थाको जाँतोमा पिँधिएका तीनै जनताका लागि ज्यान दिएर सहिद रत्‍नकुमार वान्तवाले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्‍न सफल भए ।

नेपाली कम्युनिष्ट आन्देलनको इतिहासमा योगदान गरेका थोरै योद्धामध्ये रत्‍नकुमार पनि अग्र पङ्तिमा पर्दछन् । क्रान्तिबाट मात्र परिवर्तन सम्भव देख्‍ने र पञ्चायती व्यवस्थाका जरो उखेल्न सकिन्छ भन्ने विश्‍वास लिने वान्तवा जनतालाई पनि पञ्चायतका विरुद्धमा आह्‍वान गर्थे । पञ्चायतबाट प्रताडित बनेका आफन्त र नेपाली जनताको मुक्तिका लागि लड्ने वान्तवाको अनुहार उस्तै देखेर उनका काकाका छोरा बम वान्तवा र छिमेकी निमा शेर्पालाई समेत प्रहरीले हत्या गरेको थियो । इभाङ्गको जंगलमा रत्‍नकुमार वान्तवाले भौतिक शरीर तिलाञ्जली दिएको करिब ११ वर्षपछि नेपाली राजनीतिले अर्को मोड लियो । जुन, परिवर्तन त्यतिबेला जनताको मुक्ति सावित भयो ।

शहिद रत्‍नकुमार वान्तवा र उनले गरेका काम

बाबु गर्जमान राई र आमा पुष्पमाया राईका कोखबाट वि.स. २००८ साल चैत २७ गते इलामको देउमाई नगरपालिका (साविक चमैता गाउँ विकास समिति) स्थित चित्रे भन्ने गाउँमा गरिब किसान परिवारमा जन्मिएका वान्तवा ६ जना दाजुभाई र ६ जना दिदीबहिनीहरुमध्ये चौथो सन्तान थिए । गरीब परिवारमा हुर्किएका वान्तवाले २०२५ सालमा एसएलसी उत्तीर्णपछि केही वर्ष स्थानीय रक्से प्राइमरी स्कूलमा सहशिक्षकको रुपमा सेवा गरे ।

पछि सानीआमाको सहयोगमा धरानबाट आइएको अध्ययन पूरा गरी वान्तवाले काठमाण्डौमा धेरै दुखकष्ट र अभावका विरुद्ध संघर्ष गर्दै आफनो विएड सम्मको अध्ययन पुरा गरे । २०३२ सालदेखि इलामको महेन्द्र रत्‍न बहुमुखी क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउन थाले र त्यहीबाट कम्युनिष्ट राजनीतिमा सक्रियता बढ्यो ।

यही क्रममा २०३२ साल भदौमा चमैताको चित्रे गाउँमा अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी कोअर्डीनेशन इलाम जिल्ला कमिटी माले गठन गर्न सक्रिय रहे र इलामका मामा गणेश राईका घरबाट रातारात माओ, मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्ट नेताका तस्विरहरु र पुस्तकहरु चित्रेमा ओसार्ने काममा व्यस्त रहे ।

हाल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल “नरेश” को नेतृत्वमा गणेश राई “रविन” भक्त देवान “मालेसया” रत्नकुमार वान्तवा “महेश” रहेको एक कमिटी गठन भयो । २०३२ मा रत्‍नको सक्रियतमा पार्टीको मुखपत्र “कम्युनिष्ट” स्टेनसिलमा काटेर प्रकाशित गरिएको थियो । जब झलनाथ खनाल गिरफ्तारीमा परे त्यसपछि पार्टी सचिवको जिम्मा रत्‍नले लिएका थिए ।

२०३३ फागुनमा इलाम जिल्ला कमिटी क्रान्तिकारी कोअर्डिनेशन  कमिटी “माले” पुर्नगठन गरी रत्‍नकुमार वान्तवा सचिव र गणेश राई, धनकुमार थुलुङ्ग, बसन्त पराजुली सदस्य रहे ।

पछि रत्‍नले झापाको आफ्नो जमिन १९ हजार रुपैयाँमा बिक्री गरी पार्टीको पुर्णकालीन कार्यकर्ता बने । त्यसबेला चलेको वुर्जुवा शिक्षा बहिस्कारको अभियानमा सक्रिय वान्तवाले २०३५ जेठमा आफ्नै नेतृत्वमा मोहनकुमार “कृष्ण” बम वान्तवा, डिल्लीप्रसाद र पदम राई समेतको पाँच जनाको टोलीले भियतनामी गुरिल्लाहरुले गरेको सुरुङ्ग युद्धबाट प्रभावित भई चमैताको चित्रे गाउँमा आफ्नै घरमा सुरुङ्ग खन्न शुरुवात गरे ।

पुष ११ मा नेकपा “माले” को स्थापना भई रत्‍न संस्थापक केन्द्रिय सदस्य बने । २०३५ मा सुरुङ्ग भएको थाहा पाएर प्रहरीले घरमा छापा मार्न शुरु गरेको थियो । २०३५ माघ २६ र २७ गते तत्कालीन नेकपा “माले” इलामको पहिलो जिल्ला सम्मेलन रत्‍नको घरमा सम्पन्न भयो । त्यसबाट रत्‍नकुमार वान्तवा सचिवमा र ध्वज बिक्रम राई, कुमार तिवारी, लोकबहादुर लिम्बू र जिवन मगर सदस्य भए ।

२०३५ फागुन २० गते सुखानी काण्डमा मारिएका पाँच शहिदको स्मृति दिवसकको अवसरमा जिल्लाब्यापी वालीङ्ग, पोष्टरीङ्ग र पर्चा वितरण कार्य वान्तवाको अगुवाईमा भएको थियो ।

यसरी गरिएको थियो वान्तवाको हत्या

चैत २७ मा जन्मिएर चैत २७ मानै दिवंगत हुँदा ठ्याक्कै २७ वर्ष पुगेको दिन नौलो संयोग भयो । क्रान्तीकारी रत्‍नकुमार तीन महिनाअघि मात्र नेकपा एमालेका केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पाटीले खटाए अनुसार ताप्लेजुङ यात्रा तय गरी हिँडेका थिए ।

रत्‍न, सुशिला श्रेष्ठ, ‘कल्पना’ निरमाया राई रत्‍नको जन्म घर चमैताबाट इभाङ्ग पुगेको तीन दिन भएको थियो । अघिल्लो दिन उनकै मावली घर इभाङ्गमा बैठक गरेर पार्टीको जिम्मेवारी बाँडफाँड गरी भोली पल्ट तीन जनाको टोली ताप्लेजुङ्ग पुग्नै पर्ने थियो । बिहान उज्यालो हुन अगावै हिँडेका उनीहरुले घरबाट केही तल पुगेपछि मान्छे बोलेको जस्ता आवाज सुने । १०/१५ जनाको समुहमा रहेका मान्छे देख्दा स्थानीय बासिन्दा हुन् वा प्रहरी, उज्यालो भइनसकेकाले ठम्याउन सकेनन् ।

समूहमा रहेकाहरुले हातमा लामालामा लाठी बोकेको देखेपछि आफूहरु सशंकित हुनु स्वभाविक नै थियो । नभन्दै उ त्यही हो रत्‍नकुमार भन्ने आवाज आएलगत्तै प्रहरीको घेरामा पर्दा मात्र आफूहरुले प्रहरी रहेछ भन्ने थाहा पाए । उम्किने कुनै अवसर नै थिएन ।

वान्तावालाई एक जना खाइलाग्दो प्रहरीले अठाएर समातेको थियो । तैपनि उम्किन प्रयास गरिरहेका थिए । सँगै रहेकी सुशिलालाई भने त्यस बेला सम्मपनि प्रहरीले पक्रेका थिएनन् । त्यही मौका छोपेर सुशीलाले रत्‍नलाई समात्‍ने प्रहरीको हातमा लाठीले बेस्सरी बजारेपछि रत्‍नकुमार प्रहरीबाट उम्किन सफल भए । एक छिनमै ड्याम गोली चलेको आवाज आयो । उम्किएर भाग्न खोज्ने रत्‍नकुमार त्यही ढले । भाग्न प्रयास गरीरहेका सुशिलालाई पनि त्यही गोली हानियो । सुशिलाको झोलाबाट सल निकालेर पानी–पानी भनेर कराइरहेका रत्‍नलाई बाँधियो । केही मुनीको लामो ढुङ्गामा शरीरभर रगताम्य सुताइएका रत्‍नले आफ्नो जीवनको अन्तिम श्‍वास त्यही फेरे ।

सुशिलाको भने पुरै होस हराएको थिएन । एक कुशल सहयोद्धा र नेताको प्राण आफ्नै अगाडि गएको देखीरहेकी उनलाई पनि बाँच्ने आशा थिएन । रत्‍नको सव इलाम सदरमुकाम ल्याउनका लागि त्यहीका केही मानिसलाई बोकाएर प्रहरीहरु हिँडे । सुशिलाको पनि शरीरभर रगत लतपतिएको थियो । उनको पनि हात बाँधियो र त्यहाँबाट हिँडाइयो । केही तल पुगेपछि रत्‍नको शव बाटोमा राखेर प्रहरीहरु एक वडाध्यक्षको घरमा खानाखाने सुरमा ओर्लिए । सबैले पोशाक खोले, बन्दुक भुंईमा राखे । सुशिलाको पनि हात खोलियो । सकेसम्म दुश्मनको पञ्जाबाट भाग्ने प्रयास गरीरहेकी सुशीलाले प्रहरीहरुलाई झुक्याएर त्यही मौकामा बाटो तताईन् । शुशिला भागेको केही क्षणपछि पत्तो पाएका प्रहरीले उनको खोजी गरे । सारा जङ्गल खोज्दा पनि कतै भेटिएनन् ।

जथाभावी फायरीङ गर्दै खोजतलास गर्दा पनि उनको कतै पत्तो नलागेपछि जङ्गलमा आगो लगाईयो । चैतको खडेरीमा एकै क्षणमा जङ्गल खरानी भयो । ज्यान जोगिने आशानै नभएर सुरक्षित ठाउँको खोजी गरिहेको सुशिला भने खोला, खोल्सा र भीरपाखामा लुक्दै आगो र मृत्युसँग संघर्ष गरिरहेकी थिईन् । एकातिर आफ्नो ज्यानको खतरा, अर्कातिर आफ्नो नेता गुमाउँदाको दृष्य, त्यसमाथि पनि आगोसँग संघर्ष गर्नुपर्ने । भोक र प्यासले छटपटाएकी सुशिलाले खोल्सीको पानी पिउँदा पनि घाँटीबाट तल जान सकेन ।

खेदिएको मृगझैं कता जाँदै छु भन्ने उनलाई केही अत्तोपत्तो थिएन । धेरैबेर भागेपछि जङ्गलको केही खाली भाग भेटेर ज्यान बचाउन सकेकी उनको त्यो दिन जङ्गलमै बित्यो । जङ्गल सबै जलेपछि सुशिला पनि त्यही जलेर मरिसकेकी भन्ने लागेर प्रहरीले उनको शव खोजे । उनलाई जीउँदो र मृत फेला पार्न सकेनन् ।

सुशिला त्यहीबाट हिँडेर एउटा झुप्रोमा पुगिन् । त्यहाँ पनि अघि भाग्ने केटी तैं होईनस् ? भागी हाल्छेस् की प्रहरीलाई खबर गरुँ ? भन्ने जवाफ आएपछि त्यहाबाट हिड्नको विकल्प रहेन । पानीकै भरमा तिनरात हिडेपछि उनी इभाङ्गकै एउटा घरमा पुगिन् । जुन घरमा उनीहरु यसअघि पनि बैठक गर्थे । त्यहाँ पुगेर फेरी आफ्नो सहयोद्धसँग भेट गरिन् ।

यता रत्‍नको शवलाई इलाम बजार ल्याएर पञ्चायतको विरोध गर्नेको यही हविगत हुन्छ भन्दै बजारभर घुमाईयो र एक ठाउँमा लगेर गाडियो । त्यतिबेला पनि उनको परिवार भने रत्‍नको हत्याप्रति अनभिज्ञ नै थियो । पञ्चायती व्यवस्था नै भएको कारण पार्टीको पूर्वी कमाण्ड र केन्द्रले पनि उनको हत्याको खोजबिन गर्न सकेन ।

अहिले पनि उनको योगदानप्रति समग्र एमाले पार्टी र राष्ट्रले उति  चासो नदिएको हो कि जस्तो अनुभूति हुन्छ । राज्यले शहिद घोषणा गरेर मात्र उनको सम्मान हुँदैन । उनको सपना साकार पार्न सबै एक ढिक्का हुन जरुरी छ ।  हामी आशा गरौ‌ आगामी दिनमा शहिद रत्‍नले जस्तो परिवर्तनका लागि ज्यानको आहुती दिनुपर्ने परिस्थिती नेपालमा नआओस् । शहिद रत्‍नले देखाएको बाटो र रत्‍नको सपना साकार पार्न आम नेपाली एक हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार