पाहुना टिम दार्जिलिङ विरुद्ध कठिन जित दर्ता गर्दै पुलिस सेमीफाइनलमा (भिडियो सहित)

प्रतिष्पर्धा गर्दै नेपाल पुलिस क्लब (नीलो) र युनाईटेड क्लब दार्जिलिङ भारतका खेलाडी ।

इलाम : नेपाल पुलिस क्लब काठमाडौं इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा पाहुना टोलि युनाईटेड क्लब दार्जिलिङ भारतलाई २–१ को कठिन जित निकाल्दै पुलिस सेमीफाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको छैठौं मिनेटमा नै सौजन्य याक्खा राईको गोलले पुलिसले अग्रता बनाएको थियो । दार्जिलिङका कोलरक्षक विनोद क्षत्रीले पुलिसका खेलाडीलाई फाउल बनाएपछि पाएको अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा पुलिसले नै गोल गरी अग्रता दोब्बर बनायो । भरत शाहले गोल गरी अग्रता दोब्बर बनाउका हुन् । उता दार्जिलिङले भने ८६ औं मिनेटमा सान्तवना गोल फर्काउन सफल भएको थियो । दार्जिलिङका करन राईले सान्तवना गोल फर्काएका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता नेपाल पुलिस क्लबका सौजन्य याक्खा राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुर र हिमालयन शेर्पा क्लब काठमाडौंबीच खेल हुनेछ ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

भिडियोमा हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार