इलाम : उनी कविता जीवनको रङले लेख्छिन्
उनी अक्षर जान्दिनन्
तर सुन्दर कविताहरू लेख्छिन् ।
सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन
घामले मझेरी र आँगन पोतिसक्छिन
अँगेनामा न्यानो पोखिसक्छिन
बिहानै घरभरि बिहान छिरिसक्छ
पूजाकोठामा बलेको धूप
आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ
म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।
कवि मनु मञ्जुलले शनिबार आफ्नो यो कृति बाचन गरेसंगै जिल्ला समन्वय समिति इलामको सभाहलमा गडगडाहट तालि बज्यो । ‘उनी कविता जीवनको रङले लेख्छिन्’ र ‘रिसाएकी सानी छोरीको कविता’ शिर्षकको दुईवटा कविता मात्र सुनाएका कवि मनु मञ्जिलको कविता सुन्न जिल्ला समन्वय समितिको सभाहल भरीएको थियो । कुनै पनि साहित्यिक कार्यक्रममा इलाममा न्यून मानिसको उपस्थिती हुन्थ्यो ।
हित्यप्रति इलामेको आकर्षण पनि त्यत्ति देखिदैनथ्यो । तर शनिबार जिल्ला समन्वय समितिको सभाहलभरी मानिसहरु थिए । कारण थियो मनु मञ्जिलका कविता सुन्न । इलामे कवि बिमल बैद्यको कविता संग्रह ‘अक्षर सिम्फोनि’ कृतिको लोकार्पणमा सहभागि हुन मनु मञ्जिल इलाम आएका थिए । त्यहि कृति लोकार्पणमा मनु मञ्जिलले कविता सुनाउने आशमा साहित्यमा रुची राख्ने साहित्य प्रेमिको जमात जिसस सभाहलमा उपस्थित भएको थियो ।
मञ्जिलको कविता सुन्न राजनीतिकर्मि देखि, निर्माण ब्यबसायि, प्राध्यापक, बिद्यार्थी, ब्यबसायि, इलामे साहित्यकर्मिको उपस्थिती थियो । जिल्लामा समय मिलाएर कविता सुन्ने चलन खासै छैन । सबै आ–आफ्नै काममा व्यस्त छन, रुचि हुनेले साहित्य किनेर पढ्छन् तर कवि मञ्जिलका लागि यो अपवाद भयो । साहित्यमा रुचि हुने नहुने सबैले कवितालाई गीत झैं रस लिएर सुने । सभाहलभरी रहेका श्रोतासामु मञ्जिलले कबि बिमल बैद्यको कृतिको समिक्षा गरेपछि दुईवटा कविता सुनाए । कविता वाचन गर्दा दर्शक, श्रोता मन्त्रमुग्ध भएका थिए । सबैले मनोरञ्जन लिए । उनले आमा, श्रीमतीले घरमा गरेका संघर्षलाई कविता मार्फत ब्यक्त गरे ।
ड्याडी, मलाई त आजकल
ठूलो मान्छे भन्यो कि
डर लागिहाल्छ
हाम्रो गाउँको त्यो ठूलो
सिमलको रुख छ नि,
त्यसको छायाँमा म आजसम्म
बसेको छैन ।
ठूलो चिज भन्यो कि
मलाई डर लागिहाल्छ ।
विराटनगरबाट आएका कवि मञ्जिलको कविता बाचन गर्ने शैलीबाट धेरै श्रोताहरू प्रभावित भए । कविता सुन्नकै लागि घरको कामलाई थाँति राखेर आएका इलामे गीतकार सन्तोष भक्तराजले मञ्जिलका कविताको रस लिन पाउनु एउटा सुनौलो अवसर भएको बताए । कविता वाचन गदैगर्दा उनले बीचबीचमा साहित्य र समालोचनाका विषयमा पनि केही टिप्पणी समेत गरे । ‘साहित्यले हरेक मानिसहरूको मनको भावनालाई बोलिदिन सक्नुपर्छ । सबैले देखिरहेको, महसुस गरिरहेको कुरालाई नयाँ तरिकाले प्रस्तुत गरिनुपर्छ,’ उनले भने ‘यहाँ वर्षेनि हजारौं कविता र उपन्यास छापिन्छन् तर सबै पढ्न लायक हुँदैनन् । साहित्यमा नवीन कोणको खोजी हुनुपर्छ ।’
यता इलामे कवि बिमल बैद्यको तेस्रो कविता संग्रह ‘अक्षर सिम्फोन’ को लोकार्पण पनि गरीयो । लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका बैद्यको ‘अक्षर सिम्फोन’ तेस्रो कविता संग्रह हो । इलामनगरपालिका ७ स्थायी घर भएका कवि बैद्यको यसअघि ‘आकाश छुन खोज्ने मनहरु’ २०६० साल र ‘समय र सपनाहरु’ नामक कृति २०७२ सालमा प्रकाशित भइसकेको छ । कृति लोकार्पणमा युद्धप्रसाद बैद्य, कवि प्रकाश थाम्सुहाङ, दिपक लुङ्गेली, धर्म गौतम लगायतले शुभकामना मन्तब्य राख्दै बैद्यको कृतिको समिक्षा गर्नुभएको थियो ।