
पाँचथरः नयाँ वर्ष २०८३ को अवसर पारेर फाल्गुनन्द गाउँपालिका-५ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेब्चोक डाँडामा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव-२०८२’ भव्य रूपमा सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै पाँचथरबाट नवनिर्वाचित संघीय सांसद नेरेन्द्र कुमार केरुङले नेब्चोक डाँडाको विकास सिङ्गो पाँचथरकै गौरवको विषय भएको बताएका छन्। उनले नेब्चोक (नाम्तोक) डाँडालाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै आवश्यक पूर्वाधार निर्माण, प्रचार-प्रसार र निजी लगानी आवश्यक रहेको बताए।इलामको श्रीअन्तुजस्तै सूर्योदय अवलोकनका लागि यो क्षेत्रलाई पनि प्रख्यात बनाउन सकिने धारणा राख्दै नाम्तोक र नेब्चोकलाई एउटै पहिचानका रूपमा अघि बढाउनुपर्ने बताए। “नाम्तोक नामबाटै प्रचार भएको भए झुल्के घाम देखिने स्थानका रूपमा अझै चर्चित बन्न सक्थ्यो,” उनले भने। तथापी नेब्चोक एतेहाँसिक नाम रहेको र पछिल्लो समय नाम्तोक भनेर चिनिएको ठाउँलाई पर्यायवाचीको रुपमा बुझ्न समेत उनले आग्रह गरे ।
सांसद केरुङले फागुन २१ गते निर्वाचित भएपछि पहिलो पटक पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने अवसर पाएको बताउँदै पाँचथरे जनताप्रति आभार व्यक्त गरे। उनले केही दिनअघि मात्रै संघीय संसदमा बोल्ने अवसर पाएको स्मरण गर्दै उक्त समयमा महागुरु फाल्गुनन्द र पाँचथरे जनतालाई संझिएको बताए । आफूलाई निर्वाचित गराएर संसदीय यात्रामा पठाउने सम्पूर्ण पाँचथरे जनतालाई धन्यवाद व्यक्त गरे।संयोगवश महागुरु फाल्गुनन्दको नामबाट नामाकरण गरिएको फाल्गुनन्द गाउँपालिकाको कार्यक्रममा पहिलो सम्बोधन गर्ने अवसर मिलेको उल्लेख गर्दै उनले यसलाई विशेष संयोगका रूपमा लिएको बताए। साथै, लब्रेकुटी र शिलौटी क्षेत्रलाई किराँत धर्मावलम्बीहरूको विश्वकै प्रमुख धार्मिक स्थलका रूपमा विकास गर्ने लक्ष्यसमेत रहेको जानकारी दिए। उनले पाँचथरका जनता विकास र समृद्धिका लागि एकजुट रहेको उल्लेख गर्दै राजनीतिक रूपमा जो जुन ठाउँमा भएता पनि जनताको सुख-दुःखमा भने सबै एकताबद्ध भएर काम गर्ने पहिचान जिल्लाले बनाएको बताए।
कार्यक्रम नेब्चोक पर्यटन विकास संस्थाका अध्यक्ष बीर बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गाउँपालिकाले नेब्चोक डाँडाको प्रवर्द्धनमा विशेष जोड दिएको बताए। पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्मा (सन्तोष), मिक्लाजुङ १ का वडाध्यक्ष घनेन्द्र कुमार आङ्देम्बे, फाल्गुनन्द-६ का वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बे तथा वडा नम्बर ५ का अध्यक्ष बिष्णु कुमार चेम्जोङलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका संस्थापक संरक्षक मणीचन्द्र चेम्जोङले महोत्सवको औचित्यमाथि प्रकाश पार्दै नेब्चोक डाँडालाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा चिनाउने उद्देश्य रहेको बताए। सचिव चन्द्र प्रकाश चेम्जोङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कैलाश शेर्माले गरेका थिए।
उद्घाटन समारोहमा स्वागत नृत्य, ढोल-झाँकीसहित प्रमुख अतिथिको भव्य स्वागत गरिएको थियो। साथै, तीन वटा भलिवल खेलको प्रतियोगिताहरू सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।महोत्सव चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा भलिबल प्रतियोगिता, धाननाच, चण्डीनाच, झाँकीनाच, केलाङ नृत्यलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्। यसले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। इलाम-पाँचथर सिमानामा अवस्थित नेब्चोक डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलका रूपमा परिचित हुँदै गएको छ। यहाँबाट मनमोहक सूर्योदय दृश्य अवलोकन गर्न सकिन्छ भने कुम्भकर्ण, कञ्चनजंघा लगायत पूर्वी नेपालका हिमाली दृश्यहरू समेत अवलोकन गर्न सकिन्छ। हाल यस क्षेत्रमा सिँढीलगायत आधारभूत पूर्वाधार निर्माण हुँदैछ भने निर्माणाधीन राँके-रवि-भेडेटार सडक कालोपत्र सम्पन्न भएपछि पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ। घुर्बिसे पञ्चमी बजार र दशमी बजार नजिकै रहेको यस स्थानले सहज आवत-जावतको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।
यस स्थानमा पाठ पुजा गर्ने धार्मिक स्थल समेत रहेको छ । यहाँ प्रदर्शनी, परम्परागत खेलकुद तथा प्रकृतिप्रेमी गतिविधिहरूको समेत व्यवस्था गरिएको छ। आयोजकले भविष्यमा नेब्चोक डाँडालाई प्रमुख पर्यटकीय, धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ। यस ठाउँमा खानेपानी, विद्युत सेवा र सडकको प्रमुख समस्या रहेको आयोजकले जनाएको छ ।नेब्चोक नामको अर्थ ‘नाकजस्तो थुम्को’ भन्ने बुझिन्छ। स्थानीय रूपमा ‘नाम्तोक’ नामले पनि चिनिने यस डाँडाबाट इलामको श्रीअन्तुजस्तै आकर्षक सूर्योदय दृश्य अवलोकन गर्न सकिन्छ।



















































