
इलाम : इलाम नगरपालिका–९ राजदुवाली, माईखोलास्थित श्री पञ्चकन्या पाथिभरा माता मन्दिर परिसरमा बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं संगीतमय धार्मिक महोत्सव–२०८३ आयोजना हुने भएको छ। मन्दिरको पूर्ण संरचना निर्माण तथा अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
माता प्रमिला कार्कीको विशेष उपस्थितिमा आयोजना हुन लागेको उक्त महायज्ञमा सुप्रसिद्ध कथा व्यास भागवत भास्कर पण्डित कपिलदेव भट्टबाट कथा वाचन गरिनेछ। वैशाख १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक रूपमा भागवत कथा, भजन–कीर्तन, देवलीला, नाटक तथा पितृमोक्ष संकल्पसहित विविध धार्मिक कार्यक्रमहरू समावेश गरिने मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र चौहानले बताए ।

कार्यक्रम अन्तर्गत वैशाख १५ गते बिहान ९:३० बजे कलशयात्रा र ११:०० बजे उद्घाटन गरिनेछ। त्यसपछि प्रत्येक दिन बिहान ११:०० बजेदेखि साँझ ५:३० बजेसम्म कथा प्रवचन सञ्चालन हुनेछ। यसैगरी बिहान ७:३० बजेदेखि मण्डप पूजा, हवन, पाठपारायण, रुद्री, चण्डी तथा नवग्रह पूजाआजा गरिनेछ भने साँझ ७ बजेदेखि संगीतमय धार्मिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। महायज्ञको समापन वैशाख २३ गते बिहान ७ बजे गरिने कार्यक्रम रहेको महायज्ञमा प्रचारप्रसार समितिका सदस्य प्रकाश चापागाईंले जानकारी दिए ।
पञ्चकन्या पाथिभरा माता मन्दिर व्यवस्थापन समितिको मुख्य आयोजनामा हुन लागेको उक्त महायज्ञमा इलाम नगरपालिका वडा नं. ९ सह–आयोजकको रूपमा रहेको छ।

आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई तन, मन, धन र वचनले सहयोग गर्दै उपस्थित भई बेलपत्र, चरू, बत्ती लगायतका सामग्री अर्पण गरी महायज्ञलाई भव्य र सभ्य बनाउन अनुरोध गरेको छ। साथै “धेरै सके धेरै गरौँ, थोरै सके थोरै गरौँ” भन्ने सन्देशसहित सबैलाई सहभागिताका लागि आह्वान गरिएको छ।
उक्त महोत्सवले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै मन्दिर विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गआयोजकले लिएको छ।



















































