माङसेबुङ गाउँपालिकाद्वारा मातृभाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा विशेष जोड

  नयाँ बुलन्द
42 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा, धर्म, संस्कार, संस्कृति तथा कलाको संरक्षण र विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले लिम्बू तथा बान्तवा भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा गरी भाषिक कर्मचारी नियुक्ति तथा आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ । किरात लिम्बू भाषाका लागि किरात सिरिजंगा लिपि प्रयोग गरी मातृभाषा विकासलाई निरन्तरता दिइने छ भने गाउँपालिकामा ३७ प्रतिशत राई जातिको बसोबास रहेको कुरालाई ध्यानमा राख्दै बान्तवा भाषाको प्रयोगलाई समेत प्रोत्साहित गरिने भएको छ ।

त्यस्तै, माङसेबुङ गाउँपालिकाले सबै जातजातिको भाषा, धर्म, लिपि र संस्कृतिको समान संरक्षण तथा सम्बर्द्धन गर्ने नीति अवलम्बन गरेको छ । मठ, मन्दिर, माङहिम, माङखिम, गुम्बा, चर्च, सेमीचोङ, सामूहिक चुलाखिम, गाउँपालिकास्तरीय माङखिम तथा साकेला थानको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ ।

यसैगरी, १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा फाल्गुनन्द पार्क निर्माण कार्यलाई तीव्रता दिइने, प्रत्येक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्तीलाई अहिंसा दिवसका रूपमा मनाइने नीति ल्याइएको छ ।

गाउँपालिकाले लोपोन्मुख मौलिक बाजा, भाषा तथा संस्कृतिको संरक्षणका लागि पहल गर्ने र भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्न माङसेबुङ प्रज्ञा प्रतिष्ठान गठन गरी बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ ।

त्यसैगरी, माङमालुङ धार्मिक पर्यटन क्षेत्रको प्रचारप्रसार र विकासका लागि माङमालुङ धार्मिक पर्यटन विकास समिति गठन तथा ऐन निर्माण गरिनेछ । घाट तथा समाधिस्थलहरूलाई पनि व्यवस्थित र मर्यादित बनाउने नीति ल्याइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार