तामाङ समुदायले सोनाम ल्होछार धुमधामसँग मनाए

राम योङहाङ

इलाम : २८५४ औं सोनाम ल्होछार इलाम सहित देशभरका तामाङ समुदायले विभिन्न कार्यक्रम गरी हर्षोल्लासका मनाएका छन् । उनीहरुले चरा वर्षको विदाई गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । ‘ल्हो’ को अर्थ साल वा वर्ष र ‘छार’ को अर्थ नयाँ हो । यसर्थ, नयाँ सालको प्रारम्भ भएको दिनलाई नै तामाङ समुदायले ल्होछारका रुपमा मनाउने गरेका छन् ।

ल्होछारको अवसरमा इलाममा शुभकामना आदानप्रदान र जनप्रतिनिधिलाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङले गत १४ असारको स्थानीय तहबाट विभिन्न पदमा निर्वाचित १९ जना तामाङ जनप्रतिधिलाई सम्मान गरेको छ ।

को–को भए सम्मानित ?

यसरी सम्मानित हुनेहरुमा ज्याजिमा मोक्तान (सदस्य, जिसस), श्रीबहादुर तामाङ (सदस्य, इलाम नगरपालिका ८), रणबहादुर तामाङ (सदस्य, इलाम नगरपालिका १०), दावा तामाङ (अध्यक्ष, देउमाई नगरपालिका ३), तिलकबहादुर हेन्जन तामाङ (सदस्य, देउमाई नगरपालिका ५), कुमार तामाङ (सदस्य, देउमाई नगरपालिका ७), रामप्रसाद तामाङ (सदस्य, देउमाई नगरपालिका ८), गम्भीरबहादुर तामाङ (अध्यक्ष, माई नगरपालिका ५), अमृतबहादुर मोक्तान (सदस्य, माई नगरपालिका ८), भक्तबहादुर तामाङ (सदस्य, माई नगरपालिका ९), पद्मालक्ष्मी तामाङ (सदस्य, माई नगरपालिका ९) छन् ।

त्यस्तै मणीकुमार स्याङ्बो तामाङ (अध्यक्ष, रोङ गाउँपालिका ६), सुमित्रा योञ्जन तामाङ (सदस्य, रोङ गाउँपालिका ६), टेकबहादुर तामाङ (अध्यक्ष, रोङ गाउँपालिका २), सरण तामाङ (सदस्य, रोङ गाउँपालिका २), विमला तामाङ (सदस्य, रोङ गाउँपालिका २), सुरेन्द्र गोले (सदस्य, सुर्योदय नगरपालिका ३), प्रेमबहादुर तामाङ (सदस्य, सुर्योदय नगरपालिका ५), लालबहादुर तामाङ (सदस्य, सुर्योदय नगरपालिका ८) रहेका छन् ।

जातजातिको भावनात्मक एकतामा जोड

कार्यक्रमका वक्ताहरुले सोनाम ल्होसारको शुभकामना दिदैं विभिन्न जातजातिको भावनात्मक एकतामा जोड दिए । सबै जातजातिको चाडपर्व, धर्मसंस्कार, संस्कृति, भाषा, लिपी, रीतिरिवाज र परम्परा राष्ट्रको सिङ्गो सम्पत्ति रहेको उल्लेख गर्दे त्यसको संरक्षण गर्न सकेका मात्र देश समृद्ध हुने धारणा राखेका थिए । एउटा समुदायको संस्कृतिप्रति अर्को समुदायले सम्मान गर्दै सामूहिक भावनको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य छिकिन तामाङ, राष्ट्रिय सभाका सदस्य अगमप्रसाद वान्तवा, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष किरण सुनुवार, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेवा देय दवुका यद्धप्रसाद वैद्य, नेकपा एमालेका नवराज शंकर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष राम योङहाङ, पत्रकार राजेश पराजुली, किरात राई यायोख्खाकी पुष्पा राई, किरात याख्खा छुम्माकी बालकुमारी देवान, नेपाल तामाङ घेदुङका सल्लाहकार बमबहादुर तामाङ, खेम तामाङ, इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल तामाङ घेदुङ इलामका अध्यक्ष सन्तलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इश्वरी तामाङले गरेका थिए ।

सोनाम ल्हाछारको विश्वास

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन ल्हो अर्थात साल फेरिन्छ भन्ने विश्वास छ । पछिल्लो समय यस पर्वलाई पहिचानको आन्दोलनसँग समेत जोडेर मनाउने गरिएको छ ।

आजका दिन घरघरमा दज्र्यु तथा लुंदर फहराइ लामा गुरुबाट वर्षभरि नै राम्रो र शुभ होस् भनी पूजापाठ गर्ने प्रचलन छ । बिहानै घरघरमा मान्यजनबाट टीका लगाई आशिर्वाद लिनुका साथै खाप्से, गुथुक, आलुम, तरुल लगायतका परिकार बनाई खाने प्रचलनसमेत रहेको छ ।

मन्जुश्री पात्रोअनुसार हरेक १२ वर्षमा युग परिर्वतन हुने र परिर्वतन हुने वर्षलार्ई १२ वटा जीवजन्तुको प्रतीकको रूपमा लिने गरिन्छ । यसरी फेरिने सालको नाम मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा जनवार तथा पंक्षीको नामबाट नामकरण गरिएको बताइन्छ ।

सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि ४ माघमा पनि सरकारले सोनाम ल्होछारको सार्वजनिक विदा दिएको थियो । तर अधिकाशं तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार