लिम्बु विद्यार्थीहरूले एक विवादित पुस्तक जलाए

धरान : समुदायलाई अपमान गर्ने गरी लेखिएको भन्दै लिम्बु विद्यार्थीहरूले एक विवादित पुस्तक जलाएका छन् । कक्षा १२ को ग्रामीण अर्थशास्त्रको पुस्तकमा लेखक शिवहरि अर्यालले लिम्बु समुदायबारे गलत व्याख्या गरिएको जनाउँदै लिम्बु विद्यार्थी मञ्चले विरोधस्वरूप जलाएका हुन् ।

मङ्गलबार धरानमा एक विरोध कार्यक्रम आयोजना गर्दै मञ्चको अगुवाइमा पुस्तकको प्रतिलिपि जलाइएको अध्यक्ष फिपराज बेघाले जनाए । ‘पूर्वी नेपालका आदिवासी लिम्बु जातिलाई आप्रवासी बनाउने नियतले लेखिएको हुनाले,’ अध्यक्ष बेघाले भने, ‘हामीले विरोध प्रकट गर्न जलाएका र्हौ ।’ उनका अनुसार लेखक अर्यालले पुस्तकको किपट भूमी शीर्षक खण्डमा आदिवासी लिम्बु जातिलाई सिक्किमबाट प्रवेश गरेको समुदायका रूपमा चित्रित गरिएको बताए । लेखक अर्यालले किपट भूमी शीर्षकमा राजा प्रताप शाहका पालामा सिक्किमा सरकारबाट सताइएपछि नेपालको पहाडी भागमा प्रवेश गरेको उल्लेख गरेका छन् । यस्तै, शाहकालमा आएका राई लिम्बुहरूलाई सुरक्षा दिई भोगचलन र तिरोभरो नगर्ने शर्तमा किपट जग्गा दिन थालिएको आशयमा अर्यालले लेखेका छन् ।

सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि लिम्बु समुदाय अर्यालको लेखनप्रति चिढिएका थिए । व्यापक विरोध र आक्रोश पोखिन सुरू भएपछि सम्बन्धित निकायमा ध्यानाकर्षण हुने हिसाबले पुस्तक जलाइएको मञ्चका अध्यक्ष बेघाले प्रष्टयाए । पूर्वी भेग लिम्बुवान क्षेत्रमा आदिम सभ्यता बसाउँदै मानव विकास क्रममा याक्थुङ हुँर्द लिम्बु जातिका रूपमा चिनिएको तथ्यलाई किताबले पूर्वराजा पृथ्वीनारायण शाहभन्दा पछाडि आगमन भएको जातिका रूपमा चित्रण गरेर ऐतिहासिक रूपमा अन्याय गरेको उनले आरोप लगाए ।

विरोधसभालाई बरिष्ठ उपाध्यक्ष नितेश सिङ्गकले सहजीकरण गरेका थिए । सभामा उपाध्यक्ष धनेन्द्र जवेगू, साँस्कृतिक अभियन्ता आइत खजुम, किरात याक्थुङ चुम्लुङ धरानका सचिव सन्तोष कुरूम्वाङ, नगर सदस्य जयकुमार सम्बाहाम्फे, मञ्चका पूर्व केन्द्रीय सचिव अमित थेवे, स्ववियु सभापति सरगम सागर चेम्जोङ लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार